PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चीन सम्बन्धबारे पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले भने- भारत भ्रमणमा जाँदै छु



पहिलोपोस्ट

चीन सम्बन्धबारे पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले भने- भारत भ्रमणमा जाँदै छु

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी भइरहेको बताएका छन्। नेपाल–चीन सम्बन्धबारे पुस्तक ‘नेपाल–चाइना रिलेसनः न्यू एभिन्यू एण्ड पोसिविलिटिज’ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति सञ्चार माध्यमहरूमा सार्वजनिक भए पछि भारत भ्रमणबारे उनले पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका हुन्। यद्यपि प्रधानमन्त्री ओलीले भ्रमणको मिति भने खुलाएनन्। 

ओलीले दुवै छिमेकी देशहरूसँगको मित्रतालाई सुदृढ गर्ने सरकारको पहिलो प्राथमिकता भएको समेत बताए। ‘नेपालको पहिलो प्राथमिकता भनेको दुवै छिमेकीसँगको सम्बन्ध सुदृढ गर्नु हो,’ उनले अगाडि भने, ‘त्यसैका लागि म भारत जाँदै छु।’ 

प्रधानमन्त्री ओलीले नेपालले समृद्धि, स्थिरता, स्थायित्व र शान्तिका लागि परराष्ट्रनीति सञ्चालन गर्ने बताए। प्रधानमन्त्री ओलीले नेपालको समृद्धिका लागि परराष्ट्र नीति सञ्चालन गर्ने भन्दै अगाडि भने, ‘विश्वको समृद्धि र विकासका लागि पनि हाम्रो क्षमता र बुताले  भ्याएसम्म सहयोग गर्न हामी तयार छौँ।’ 

प्रधानमन्त्री ओलीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, भौगोलिक अखण्डताको सम्मान गर्ने र स्वाभिमानमा धक्का नपार्ने गरी चीनले खुल्ला र निरन्तरताका आधारमा नेपालसँग परराष्ट्रनीतिलाई कायम राखेको बताए। 

प्रधानमन्त्री ओलीले नेपाल ‘समृद्ध नेपाल सुखी नेपाल’को अभियानमा चीनको सहयोगको समेत आवश्यकता रहेको भन्दै सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गरे।

उनले नेपालले समानताका आधारमा परराष्ट्र नीति अघि बढाउन भन्दै अगाडि भने,  ‘हाम्रो परराष्ट्र नीति भनेको मित्रता हो। केही दिएर अपमान गर्‍यो भने मित्रता रहन्न। केही नदिएर पनि सम्मान गर्दा मित्रता कायम रहन्छ। समानता मित्रताका आधारमा नेपालको परराष्ट्र नीति खँदिलो र भरिलो बनाइनेछ।’

पछिल्लो समय युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण प्रतिवेदन प्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपालको सामाजिक सद्भावमा दखल पुर्‍याउने काम नगर्न समेत चेतावनी दिए। ‘विगतमा पनि सामाजिक सद्भाव खल्बल्याउने प्रयास भयो। नेपाली समाजले त्यसलाई अस्वीकार गरिदियो,’ प्रधानमन्त्री ओलीले भने, ‘अब हामीलाई गरी खान दिनुहोस्। सक्नुहुन्छ सहयोग गर्ने प्रयास गर्नुहोस्। सक्नु हुन्न भने खल्बल्याउने काम नगर्नुहोस्, जो जससँग सम्बन्धित छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell