PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सांसद् रौनियारको निर्माण कम्पनीको बदमासी, कतै पुल भाँचिए, कतै नदीमा भासिए



दिनेश खड्का

सांसद् रौनियारको निर्माण कम्पनीको बदमासी, कतै पुल भाँचिए, कतै नदीमा भासिए

काठमाडौंः रौतहटको लालबकैया नदीमा निर्माण भएको पुल एक वर्ष नपुग्दै भासियो। पुलको पिल्लर भासिएपछि पप्पु कन्सट्रक्सन आफैंले मर्मत गरेर सञ्चालनमा ल्यायो।

त्यसको केही समयमा नै अर्कोतर्फको पिल्लर भासियो। पुल निर्माणका क्रममा गुणस्तरहीन सामग्री प्रयोग गरेको ठहर सडक विभागको अनुगमनले देखायो।

महेन्द्र राजमार्ग र बर्दियाको ग्रामीण क्षेत्र जोड्ने जब्दिघाट पुल निर्माण सम्पन्न हुन नपाउँदै भाँच्चियो। गत भदौमा बबई नदीमा आएको बाढीका कारण पुलको पिल्लर भासिएपछि पुल भाँचिएको थियो। पुल निर्माण गर्दा पानीमा बनाइने फाउन्डेसन कमजोर भएकाले पनि पुल निर्माण कमजोर भएको सडक विभागको प्रारम्भिक अध्ययनले देखायो।

यसको भुक्तानी रोकिएपछि पप्पु कन्सट्रक्सनले सडक विभाग विरुद्ध सर्वोच्च अदालतमा मुद्दा नै दायर गरेको छ। परामर्शदाताको सुझाव अनुसार पुल नबनाएको र कमजोर कंक्रिट तथा पिल्लर प्रयोग गरेका कारण नतिजा कमजोर देखिएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ।

भदौमा भाँच्चिएका पुल अलपत्र अवस्थामा छन्। यी दुई प्रतिनिधि उदाहरणमात्रै हुन्।

पर्सा क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित हरि नारायणप्रसाद रौनियारको पप्पु कन्सट्रक्सनले निर्माण गरेका धेरै आयोजना यस्तै समस्यामा फसेका छन्। पप्पु कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेका पुलहरुमा यस्तै समस्या देखिएका छन्। निर्माणाधीन पुलको काम पनि समयमा हुन सकेको छैन।

कम्पनीले अहिले एकल तथा अन्य कम्पनीसँग मिलेर ४० वटाभन्दा धेरै पुलको ठेक्का लिएको छ। पप्पु कन्सट्रक्सनले एक्लै निर्माण गर्न लागेको पुलको लम्बाइ ५ हजार ७ सय ८० मिटर छ। तर अधिकांश पुलको निर्माण सम्पन्न हुने मिति नजिकिँदै जाँदा पनि काम भने सुरु समेत भएको छैन। भएकाको पनि राम्रो काम नभएको सडक विभागले जनाएको छ।

'हाम्रो मूल्यांकनमा सबैभन्दा कमजोर काम गर्ने ठेकेदार कम्पनीमध्येको एउटा यो हो', विभागका ती अधिकारीले भने, 'पप्पु कन्स्ट्रक्सनले बनाएका कुनै आयोजना छैन जसमा समस्या नभएको होस्।'

पप्पु कन्स्ट्रक्सनले काठमाडौंको तीनकुनेमा बागमती नदीमाथि आर्क ब्रिज निर्माणको ठेक्का पनि पाएको छ। यो वर्ष पूरा हुने भनिएको आयोजनाको फाउन्डेसन निर्माणको काम भइरहेको छ। ठेकेदारले समयमै काम नगरेका कारण आयोजनामा ढिलाइ भइरहेको विभागले जनाएको छ। यस्तै टेकुमा बन्न लागेको मोटरेबल पुल तीन वर्ष अघि नै निर्माण सक्नुपर्ने भए पनि कम्पनीले बल्ल निर्माण थालेको छ। एसियाली विकास बैंकको सफ्ट लोनमा बन्न लागेको पुलको काम समयमा नभएपछि दाताले ऋण रोक्ने चेतावनी दिएपछि बल्ला काम अघि बढेको छ।

कम्पनीले देशका विभिन्न सडकखण्डमा रहेका पुल तथा कान्ति लोकपथ, मध्यपहाडी लोकमार्ग, धरान-चतरा-हेटौँडा सडकका केही पुलहरुको पनि ठेक्का लिएको छ। देशैभरिका पुलहरुको निर्माण कार्य सन्तोषजनक नरहेको विभागको भनार्इ छ। ठेक्का मात्रै लिने र गुणस्तरीय काम गर्न नसक्ने ठेकेदार कम्पनीलार्इ सडक विभागले कारबाही गर्न सकेको छैन।

सडक विभागको पुल महाशाखाका एक अधिकारीका अनुसार अनुगमन नभएका बेला र राति तथा बिदाको दिन यो कम्पनीले निर्माणको काम गर्छ। जसका कारण अनुगमनमा जाने कर्मचारीलाई पनि समस्या हुने गरेको ती अधिकारीले बताए।

सडक विभागले कमसल काम गरेको भन्दै कालोसूचीमा राख्न पप्पु कन्सट्रक्सनलाई स्पष्टीकरण पनि सोधेको थियो। तर विभागबाट पत्र प्राप्त भएपछि पप्पुले सर्वोच्च अदालतमा विभागविरुद्ध मुद्दा दायर गर्‍यो। सर्वोच्च अदालतले पप्पु कन्सट्रक्सनलाई तत्काल कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएपछि सडक विभागको प्रयास पनि बीचमै असफल हुन पुगेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell