PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मागेकै भरमा भिआइपीलाई पिएसओ: गृहसँगै छैन रेकर्ड



सविन ढकाल

मागेकै भरमा भिआइपीलाई पिएसओ: गृहसँगै छैन रेकर्ड

काठमाडौं : उच्च पदस्थ व्यक्ति (भिआइपी)को सुरक्षाका लागि खटिने प्रहरीको पूरा रेकर्ड गृह मन्त्रालयमै छैन। लिखित स्वीकृति नै नलिइ भिआइपीका सुरक्षामा पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) खटिने भएकाले गृह मन्त्रालयसँग को कहाँ कसका लागि खटिएको छ, पूरा जानकारी छैन।

वर्षौंदेखि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, पूर्व मन्त्री र सरकारी कर्मचारीका लागि आफू अनुकूलको पिएसओ माग गर्ने चलन छ। जसको लिखित रेकर्ड राख्ने गरिएको छैन।

मौखिक आधारमा नै पिएसओ राख्ने गरेको गृह मन्त्रालयका प्रवक्ता तथा सह-सचिव रामकृष्ण सुवेदीले स्वीकारे। सह-सचिव सुवेदीले पहिलोपोस्टसँग भने, 'धेरैजसो भिआइपीको सुरक्षामा खटिने पिएसओ तथा अर्दलीको कुनै लिखित अनुमति लिएको देखिँदैन। मौखिक आधारमा नै पिएसओ खटाइएको पाइएको छ।'

अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धि कार्यविधि अनुसार कुनै पनि भिआइपीको सुरक्षामा एउटै व्यक्तिलाई दुई वर्षभन्दा बढी समय खटाउन नपाउने उल्लेख छ। तर, भिआइपीले एकै व्यक्तिलाई पाँच वर्षसम्म खटाउँदै आएको भेटिएको छ। पिएसओमात्र होइन, भिआइपीका घरमा अर्दलीका रुपमा खटिने सुरक्षाकर्मीको पनि रेकर्ड गृह मन्त्रालयमा छैन। सह-सचिव सुवेदीले भने, 'भिआइपीको सुरक्षा र घरेलु सहयोगीको नाममा दुरुपयोग भएको पाइयो। अब हामी यस विषयमा थप अनुसन्धान गर्दैछौं।' 

'भिआइपीको सुरक्षामा खटिएका पिएसओ र अर्दली केही समयका लागि तोकिए पनि वर्षौसम्म फर्किँदैनन्,' सुवेदीले भने, 'उनीहरु सम्पर्क बिहीन झै देखिन्छ।'

भिआइपी व्यक्तिको सुरक्षा र सहयोगीको रुपमा ५ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ।

नेतादेखि कर्मचारीका गाडी चालकसमेत् सुरक्षाकर्मी!

पूर्व राष्ट्रपतिदेखि वर्तमान मन्त्रीसम्मका ड्राइभरमा प्रहरी कर्मचारी छन्। पूर्व सांसददेखि, केन्द्रमा दखल राख्ने स्थानीय नेताले समेत प्रहरीलाई ड्राइभर बनाएका छन्। उच्चपदस्थ सरकारी कर्मचारीका पनि ड्राइभर प्रहरी कर्मचारी छन्।  

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि ४ जना प्रहरी चालकका रुपमा खटिएका छन्। राष्ट्रपति भण्डारीका लागि प्रहरी सहायक निरीक्षक कमला श्रेष्ठ, केशकुमार महतो, प्रहरी हवल्दार चेतनकुमार पुलामी लगायत चालक छन्। 

प्रधान मन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का सवारी चालक पनि प्रहरी नै हुन्।

त्यस्तै, उप-राष्ट्रपति नन्दबहादुर पुनको सवारी चालकका रुपमा पाँच जना प्रहरी परिचालित छन्। प्रहरी सहायक निरीक्षक होमबहादुर दुरा, नुरबहादुर भुजेल, प्रदीप कार्की, यज्ञबहादुर थापा र प्रहरी हवल्दार भुलन यादव उप-राष्ट्रपतिका चालक हुन्। 

पिएसओ र अर्दली फिर्ता गर्दै

पूर्व मन्त्री, प्रहरी र कर्मचारीको घरमा खटिएका अर्दलीलाई फिर्ता बोलाउने तयारीमा छ गृह मन्त्रालय। सुरक्षाकर्मीलाई अर्दलीको रुपमा खटाएर दुरुपयोग गर्नेक्रम बढेकाले फिर्ता बोलाउने तयारी भइरहेको सह-सचिव सुवेदीले बताए। 'हामी कति र कोको व्यक्तिलाई अर्दली दिएको रहेछ भन्ने रेकर्ड खोज्दै छौं,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell