PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

धार्मिक विवादले राप्रपा नेपाल र कांग्रेस-एमाले सभासद्बीच संसदमा बाझाबाझ



धार्मिक विवादले राप्रपा नेपाल र कांग्रेस-एमाले सभासद्बीच संसदमा बाझाबाझ

मनोज सत्याल-
(अपडेट) काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले धार्मिक विषय उचालेर सभामुखको रोस्ट्रम घेराउ गरेपछि दिनभर अवरुद्ध भएको बैठक
साँझ पाँच बजे सुरु हुँदा पनि कांग्रेस, एमाले र राप्रपा नेपालका सभासद्हरुबीच झण्डै झडपको स्थिति निम्तियो।
 
साँझको बैठकमा सुरुमै राप्रपा नेपालका सभासद्हरुले होहल्ला गर्दै गृहमन्त्रीले माफी माग्नुपर्ने भन्दै अवरोध गर्दै  गरेका थिए।

स्थगनपछि सुरु भएको बैठकमा बोल्नका लागि गृहमन्त्री गौतम रोष्ट्रम प्रयोग गर्न जान लागेपछि अवस्था तनावपूर्ण बनेको थियो। गौतमले बोल्नका लागि सभामुखसँग समय मागेका थिए। तर राप्रपा नेपालका सासंदहरुले हल्ला गर्दै अवरोध जारी राखेका थिए।

अवरोधको विरोधमा कांग्रेस र एमालेका सांसदहरु तातेपछि सभामुखको रोष्टम अगाडि नै झण्डै झडपको स्थिति निम्तियो।

एमाले सचेतक अग्नि खरेल र काँग्रेस सभासद् रामहरी खतिवडा लगायतले आफुहरुले समेत बोल्न पाउनुपर्ने भन्दै प्रतिक्रिया दिएका थिए। कांग्रेस र एमाले सभासद् कराउन थालेपछि दुवै पक्षका सांसद रोष्ट्रम अगाडि बाझ्न पुगेका थिए।

नेताहरु बीच बाझाबाझको स्थिति उत्पन्न भएपछि सभामुख सुवासचन्द्र नेम्वाङले बैठक आइतबार ३ बजेसम्मका लागि स्थगित गरेका छन्।
राप्रपा नेपालका सासंदहरुले धार्मिक आस्था प्रति गृहमन्त्रीले ठेस पुर्‍याएको भन्दै माफी माग्नुपर्ने अडान लिदैँ आएका छन्। 

बिहानको बैठकमा पनि अवरोध
संसदको शुक्रवारको बैठकमा राप्रपा नेपालले उठाएको प्रश्नमा गृहमन्त्रीको चित्तबुझ्दो जबाफ नआएको भन्दै राप्रपा नेपालका सभासदले सभामुखको रोस्ट्रम घेराउ गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो।

संसदको सुरुमै राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजधानीको शान्ति वाटिकामा मुलुकलाई हिन्दु राष्ट्र पुर्नस्थापना माग गर्दै बसेकाहरुलाई सरकारले हटाएको भन्दै सरकारको विरोध गरेका थिए। उनले सरकारले पुन: अनशन बस्नेहरुलाई नहटाउने प्रतिबद्धता मागेका थिए।

थापाले अनशनस्थलको धार्मिक संरचना र मण्डपमा धरपकड गरेको र गीता समेत जलाइएको उल्लेख गर्दै घटना नदोहोरिने प्रतिबद्धता माग गरेका थिए।

गृहमन्त्रीले जबाफ दिने क्रममा हिन्दु धर्मको अपमान भएको भन्दै राप्रपाका सभासद्ले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए। उनीहरुले संसदमै धार्मिक आस्थामा खिल्ली उडाइएको भन्दै 'मुर्दावाद' नारा समेत लगाएका थिए।

सभामुखले पटकपटक आसन ग्रहणको आग्रह गर्दा समेत राप्रपा नेपालका संसद बस्न नमानेपछि सभामुखले बैठक स्थगित गरेका हुन्।

के भयो संसदमा?

संसदमा राप्रपा नेपालले उठाएको प्रश्नमा जवाफ दिँदै गृह मन्त्री बामदेव गौतमले अनसन बसेको स्थानमा गोरखानाथको मन्दिर खडा गरिएको, बाछो बाँधिएको र तामाको गाग्रो समेत राखेर हवनकुण्ड बनाइएको बताएका थिए।

उनले शान्ति वाटिकामा गाईको मुर्तिको साटो गाईको बाछो नै राखिएको उल्लेख गर्दा अन्य पार्टीका सभासद हाँसेका थिए। उनले पटकपटक लिखित अनुरोध तथा माइकिङ गर्दा समेत अनशन स्थलबाट हट्नुको साटो स्वामी श्री निवास आचार्य सहितका मान्छेले अवरोध गरेको बताएका थिए।

'धर्ना स्थलमा भिड हुदाँ बाटो र सडक अवरुद्ध हुने अवस्था भएको थियो,' गृहमन्त्रीले भने, 'उहाँहरुले अग्लो स्तम्भ, दुई सय लिटर पानी अट्ने तामाको गाग्री स्थापना, गोरखानाथको मुर्ति, बाछो, हवनकुण्ड बनाएर स्थायी संरचना खडा गर्न खोज्नुभयो।' 

साथै सार्कका लागि शान्ति बाटिका खाली गर्न महानगरपालिकाका कर्मचारी जाँदा हतियार प्रर्दशन गरेको गृहमन्त्रीले जबाफ दिएका थिए।

गृहमन्त्री गौतमले कात्तिक ११ गते अनशनस्थल खाली गर्ने क्रममा खुकुरी र 'सानो सानो तिखो महादेवले बोक्ने जस्तो समान' देखाएको बताए। 'ऊ बेलामा महादेवले बोक्ने जस्तो देखाउनुभयो, हामीले महादेवको रुप त देखेनौं,' गृहमन्त्रीले भने, 'कोही त साक्षात गोरखानाथ बनेर आउने खतरा देखियो।'

लगत्तै आफ्नो स्थानबाट उठेर राप्रपा नेपालका सभासद्ले रोष्ट्रम घेराउ गरेका थिए। उनीहरुले गृहमन्त्रीले माफी माग्नुपर्ने  भन्दै हिन्दुको आस्थामा प्रहार गरिएको बताएका थिए।

राप्रपा नेपालकी सभासद् कुन्ती शाहीले हिन्दुको आस्थामाथि संसदले कुल्चिएको बताइन्। त्यस्तै सभासद् दिनेश श्रेष्ठले गृहमन्त्रीले हिन्दु धर्मको खिल्ली उडाएको भन्दै रोष प्रकट गरेका थिए।

के भने कमल थापाले?

संसद् बैठक सुरु भए लगत्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र पुर्नस्थापना माग गर्दै अनशनमा बसेको स्वामी श्री निवासलाई कात्तिक ११ गते हटाइएको भन्दै बिरोध गरेका थिए।

उनले प्रहरीले शान्ति वाटिकमा हिन्दुको मण्डप हटाएको र धार्मिक गन्थ्र गीता समेत जलाएको भन्दै आक्रोश पोखेका थिए।

'सरकारले ९४ प्रतिशत हिन्दुको सहनशीलतालाई चुनौती दिन खोजेको छ, चुनौती लिन तयार छौँ,' थापाले भने, 'जति ठूलो संघर्ष र त्याग गर्न पनि तयार छौँ।'

उनले गीता जलाएर धार्मिक आस्थामाथि खेलबाड, अपमान र अवहेलना गर्ने काम भएको बताएका थिए।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell