PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

किन तोड्यो विराटले तेल ल्याउने सम्झौता ?



किन तोड्यो विराटले तेल ल्याउने सम्झौता ?
फाइल फोटो/पहिलोपोस्ट

  • विज्ञान अधिकारी-
काठमाडौं : चौतर्फी आलोचनापछि महँगो मूल्यमा पेट्रोलियम ल्याउन अनुमति पाएको विराट पेट्रोलियमले सम्झौंता रद्द गरेको छ। कम्पनीले शुक्रबार नै आयल निगमलाई पत्र लेखेर तेल ल्याउने सम्झौता रद्द गरेको जानकारी गराएको उच्च स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार महँगो मूल्यमा पेट्रोलियम पदार्थ आयल निगमलाई बेच्ने निर्णय विवादित बनेपछि सम्झौता रद्द गरेर कम्पनी संचालक उम्किन खोजेका हुन्।

स्रोतका अनुसार निगमका उच्च व्यवस्थापन, कम्पनी संचालक समेत छानविनको घेरामा तानिने अवस्था आएपछि तेल आपूर्तिको अनुमति कम्पनी आफैले रद्द गर्ने निर्णय गरेको हो।

‘विवाद बढ्दै जाँदा निगमको व्यवस्थापनदेखि कम्पनी संचालकसम्म तानिने देखेर एकतर्फी रुपमा सम्झौता रद्द गरिएको हो,’ स्रोतले भन्यो, ‘यो निर्णय गर्ने व्यक्ति तानिने डर भएपछि कम्पनीलाई सम्झौंता रद्द गर्न लगाइएको हो।’ यो निर्णयपछि आयल निगमबाट निकासा भएको १८ करोड रुपैयाँ समेत फिर्ता हुनेछ। निगमले कम्पनीको बैंक ग्यारेन्टीमा १८ करोड रुपैयाँ रकम निकासा गरेको थियो।

भारतले नाकाबन्दी लगाएपछि आयल निगमले १५ दिनका लागि पेट्रोलियम पदार्थ आपूर्तिका लागि ग्लोबल टेन्डर आह्वान गरेको थियो। यो आह्वानमा झन्डै २२ कम्पनीले तेल आपूर्तिका लागि आवेदन हालेका थिए।

यो आवेदन हालेको मध्ये निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको मिलेमतोमा विराटलाई तेल आपूर्तिका लागि अनुमति दिने निर्णय भएको थियो। असोज ३० गते राति दुई बजेसम्म बसेर कार्यकारी निर्देशक खड्काले विराटलाई तेल ल्याउने अनुमति दिएका थिए।

यो कम्पनीले काकडभिट्टामा डिजेल प्रतिलिटर १ सय ८ र पेट्रोल १ सय ९९ रुपैयाँमा डेलिभरी दिने र त्यही मूल्यमा निगमले किन्ने निर्णय भएको थियो। यो निर्णयपछि खड्काले दसैंको सप्तमीको दिनमा १८ करोड रुपैयाँ रकम विराटका नाममा निकासा गर्न निगमका निमित निर्देशक दीपक बराललाई निर्देशन दिएका थिए।

विराटले ल्याएको बैंक ग्यारेन्टीको नाममा निगमको पैसा निकासा गर्न दिएको दबाबलाई बरालले अस्वीकार गरेका थिए। पैसा निकासा गर्न अस्वीकार गरेको भन्दै निमित निर्देशक बराललाई दसैंको अष्टमीको दिनमा सरुवा गरिएको थियो।

निगमका प्रवक्ता समेत रहेका बरालले नियम मिचेर विराटलाई तेल आपूर्ति गर्न दिने निर्णय भएको भन्दै रकम निकासा गर्न अस्वीकार गरेका थिए।

‘भूकम्पको दुखद् बेलामासमेत त्रिपाल काण्डजस्तो अनियमितता भएको छ। अहिले भारतको नाकाबन्दीले देश संकटमा पर्दा समेत अनियमित गरेर एउटा कम्पनीलाई पोस्ने काम गर्न सक्दिन,’ खड्काको निर्देशन अस्वीकार गर्दै बरालले भनेका थिए, ‘अनियमित काम गरेर म आफैँ र देशलाई लुटाउने काम गर्न सक्दिन।’

बरालले विराटलाई रकम दिन अस्वीकार गरेपछि यो निर्णय नभए आफ्नो पद समेत धरापमा पर्ने जानकारी गराएका थिए। बरालको अस्वीकारपछि पनि खड्काले निगमभित्रकै उच्च अधिकारीको हस्ताक्षर गरेर विराटलाई रकम निकासा गरेका थिए।

विराटले १८ करोड रुपैयाँ पाएपछि सिलगुडीको भारत पेट्रोलियमको रिफाइनरीबाट २५ गाडी तेल समेत लोड भएको थियो। यो तेल काकडभिटाको पानीट्यांकीमा रोकिएर बसेको छ।

विराटको निर्णय नगर्दा सचिवलाई समेत बदनामी

उच्च स्रोतका अनुसार विराटलाई तेल ल्याउन दिने निर्णय नगरेकै कारण वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायलाई समेत विवादको घेरामा ल्याउने काम भएको थियो। अभावको बेलामा तेल ल्याउने कम्पनीको छनौंटमा आलटाल गरेको भन्दै सचिव उपाध्यायमाथि चौतर्फी आक्रमणको प्रयास गरिएको थियो।

स्वच्छ छविका सचिव उपाध्यायलाई तेल आपूर्ति नगरेर खलनायक बनाउने प्रयास गर्नुको पछाडि विराटलाई तेल ल्याउन अनुमति नदिनु प्रमुख कारण रहेको स्रोतले बतायो।

स्रोतका अनुसार सचिवले अभावको बेलामा कुनै एउटा कम्पनीलाई महँगो मूल्यमा तेल ल्याउन दिन नहुने पक्षमा थिए। उनी प्रतिस्पर्धामा आएका अरु कम्पनीहरुको समेतको अध्ययन गरेर मात्रै निर्णय गर्नुपर्ने पक्षमा थिए। तर सचिव उपाध्यायलाई विराटलाई मात्रै तेल ल्याउन अनुमति दिनुपर्ने दबाब परेको थियो।

तर उनले निगमको बोर्ड बैठकबाट यो दबाबलाई अस्वीकार गरेर पुन निगमको व्यवस्थापनलाई नै सबै कम्पनीको आशयपत्र फिर्ता पठाइदिएका थिए। सचिव उपाध्यायले जुन दिन सबै कम्पनीको आशयपत्र फिर्ता पठाइदिएका थिए त्यही रात खड्काले विराटलाई तेल ल्याउने अनुमति दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell