काठमाडौँ : मधेसकेन्द्रित दलहरुको माग अनुसार सरकारले तराईका १२ जिल्लामा गरी २२ वटा स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको छ।सोमबार बेलुका बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको मन्त्री प्रकाशशरण महतले पहिलोपोस्टलाई बताए।
योसँगै देशमा अब ७६६ वटा स्थानीय तह हुने भएको छ। यसअघि ७१६ वटा स्थानीय तहका लागि स्थानीय तहको संख्या र सीमा निर्धारण गर्न बनेको आयोगले सिफारिश गरेको भए पनि सरकारले त्यसमा संख्या थप गरी ७ सय ४४ वटा स्थानीय तह बनाउने घोषणा गरेको थियो।
मन्त्रिपरिषद् बैठकले सुनसरीमा २, सप्तरीमा १, रौतहटमा २, पर्सामा १, धनुषामा १, सर्लाहीमा ३, बारामा १, नवलपरासीमा ३, रुपन्देहीमा ३, कपिलवस्तुमा ३, कैलालीमा १ र बाँकेमा १ गरी २२ वटा स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको हो।
बैठकले साविकका २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ जसअनुसार झापामा २, सिरहामा १, रौतहटमा ११, धनुषामा १, बारामा १, रुपन्देहीमा २, बाँकेमा २, कैलालीमा १ र महोत्तरीमा ३ गाउँपालिका नगरपालिका हुनेछन्।
बैठकले विराटनगर र वीरगंज उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ। उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा रहेको कार्यदलले संख्या थप र स्तरोन्नतिको प्रस्ताव तयार गरेको थियो।
आजको बैठकले म्यादी प्रहरीको समयअवधि दोस्रो चरणको निर्वाचन सम्मका लागि थप गर्ने निर्णय पनि गरेको छ।
