PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​कोइराला, देउवा र पौडेललाई प्रश्न - पार्टी किन एक्लियो जवाफ देउ



​कोइराला, देउवा र पौडेललाई प्रश्न - पार्टी किन एक्लियो जवाफ देउ

  • रमेश वाग्ले/पहिलोपोस्ट-
काठमाडौं : संविधान जारी भएपछिको राजनीतिक घटनाक्रम र महाधिवेशनबारे छलफल गर्न आइतबार कांग्रेसको केन्द्रीय समितिको बैठक बस्यो। पार्टी कार्यालय सानेपामा बसेको बैठकमा सभापति सुशील कोइरालाले बैठक सुरु भएको घोषणा गर्दै महामन्त्री कृष्णप्रसाद सिटौलालाई बैठकका एजेण्डा प्रस्तुत गर्न अनुमति दिए।

उनले महाधिवेसन तयारीका लागि नौंवटा समितिहरु निर्माण गर्ने र संविधान जारी भएपछिको राजनीतिक परिस्थितिका विषयमा समीक्षा गर्ने प्रस्ताव राखे। सिटौलाले प्रस्तावमाथि केन्द्रीय सदस्यहरुलाई धारणा राख्न पनि आग्रह गरे। महामन्त्रीको आग्रह पछि केन्द्रीय सदस्यहरु अन्धाधुन्ध बोल्न सुरु गरे।

बैठकमा बोल्ने अधिकांस केन्द्रीय सदस्यको भनाई संविधान जारी भएपछिको परिस्थितिमा केन्द्रित थियो। उनीहरुले कांग्रेस अरु दलहरु एक्लिनु र राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका पदमा पराजित हुनुको कारणबारे सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले जवाफ दिनुपर्ने बताएका थिए।

'केन्द्रीय नेताहरुले पछिल्लो परिस्थिति कसरी आयो, पार्टीलाई यसले घाटा वा नाफा के हुन्छ' केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले भने, 'त्यसका विषयमा पहिला नेताहरुले धारणा राख्नुहोस्, त्यसपछि मात्र हामी आफ्नो धारणा राख्ने छौं।’ उनले पछिल्लो समयमा कांग्रेसले राम्रो पोजिसन लिन नसकिरहेको र त्यसका लागि प्रमुख नेताहरुले नैं निर्णय गरेकाले नेताहरुबाट नैं पहिले धारणा आउनुपर्ने बताए। 

'पछिल्लो राजनीतिक परिस्थितिका विषयमा प्रमुख तीन नेताको आधिकारिक धारणा के हो भन्ने कुरा महत्वपूर्ण हुन्छ' केन्द्रीय सदस्य डा. रामशरण महतले भने, 'सके लिखित रुपमा डकुमेन्ट लिएर बैठकमा आउनुहोस् नभए मौखिक रुपमा भएपनि धारणा राख्नुहोस् त्यसपछि केन्द्रीय सदस्यहरुले बोल्नु उपयुक्त हुन्छ।' उनले प्रमुख नेताहरु बसेर गरेका निर्णयका कारण आएको अहिलेको परिस्थितिबारे केन्द्रीय सदस्यहरुले मात्र धारणा राखेर वास्तविकतामा पुग्न नसकिने बताए।

यस्तै प्रधानमन्त्रीमा उम्मेदवारी दिएर पार्टीले गल्ती गरेको भन्दै सहमहामन्त्रीबाट राजिनामा दिएका पूर्णबहादुर खड्काले प्रमुख तीन नेताको धारणा नआएसम्म केन्द्रीय सदस्यका लागि बोल्ने विषय समेत नभएको बताए।

'पछिल्लो राजनीतिक अवस्था कसरी आयो, पार्टी सभापतिले नै प्रधानमन्त्री पदमा पुनः उम्मेद्वारी दिनुपर्ने परिस्थिति कसरी निर्माण भयो' खड्काले भने, 'त्यसको ठोस र आधिकारिक धारणा प्रमुख तीन नेताले दिनुहोस्, त्यसपछि म पनि आफूले देखेको परिस्थिति पार्टीका तर्फबाट भएको त्रुटी र मैले सहमहामन्त्रीबाट राजिनामा दिनुपर्नाका कारण सबै समक्ष राख्नेछु।’ प्रधानमन्त्री पदमा सभापति कोइरालाले उम्मेद्वारी दिएकै दिन राजिनामा खड्काको राजिनामा भने स्वीकृत भएको छैन।

यस्तै केन्द्रीय सदस्य शंकर भण्डारीले प्रमुख तीन नेताको मानोमानीले पार्टी सञ्चालन  हुन नसक्ने भन्दै अहिलेको परिस्थितिसम्म आइपुग्नुकापछि नेताहरुका निर्णय कारक रहेको बताए। 'अहिलेसम्म जे जस्तो परिस्थिति आएको छ त्यो सबै प्रमुख तीन नेताको एकलौटी निर्णयको परिणाम हो' भण्डारीले भने, 'उहाँहरुको एकलौंटी निर्णयले पार्टी संचालन हुन सक्दैन, त्यसकारण पार्टीमा अब गम्भीर समीक्षा जरुरी छ।’ उनले नेताहरुले यहाँसम्म आइपुग्दाका सबै विवरण राखेपछि मात्र केन्द्रीय समितिले त्यसको समीक्षा गर्ने बताए।

केन्द्रीय समितिमा शीर्ष नेताले अधिकारिक धारण राखेपछि मात्र बैठक अघि बढ्ने बताएपछि बैठक भोलि विहान आठ बजेसम्मका लागि स्थगित भएको छ।

केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले भने उपराष्ट्रपतिको सपथ ग्रहण समारोहमा शीर्ष नेता जानुपर्ने भएकाले बैठक स्थगित भएको बताइन्। ‘पूर्व प्रधानमन्त्रीको हैसियतमा सभापति ज्यू र बरिष्ठ नेता शेरबहादुर देउवा उपसभापतिको सपथ ग्रहण समारोहमा जानुपर्ने भयो’ न्यौपानेले भनिन्, ‘उपसभापतिको अध्यक्षतामा बैठक जारी राख्न सभापतिले गरेको आग्रह साथीहरुले शीर्ष नेताकै उपस्थितिमा छलफल गर्ने भनेपछि बैठक स्थगित भएको हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell