PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​चीनबाट पेट्रोल ल्याउने ट्यांकर चालक भन्छन्, 'नेपालकै बाटो अप्ठेरो, चीनमा त सरर'



​चीनबाट पेट्रोल ल्याउने ट्यांकर चालक भन्छन्, 'नेपालकै बाटो अप्ठेरो, चीनमा त सरर'

  • सविन मिश्र/मनोज सत्याल-
रसुवागढी: चीनले अनुदानमा दिएको पेट्रोल बोकेर पहिलो चरणमा तीनवटा ट्यांकर शनिबार मध्यराति रसुवाको टिमुरे आइपुगे।

नेपाल आयल निगम र चिनियाँ पक्षको व्यवस्थापनमा भएको कमजोरीका कारण केही कठिनाइ भोग्नुपरेपनि चीनबाट पेट्रोल लिएर फर्केका ट्यांकर चालकको मुहारमा उत्साह देखिन्छ। सजिलो बाटो रक्सौलसम्म पुग्ने बानी परेका उनीहरुलाई हिमाली क्षेत्रमा तेल भरिएको ट्याङ्कर हाँक्नु नौलो हुने नै भयो।

अधिकांश चालकहरु कहिलेकाँही कुनै जलविद्युत आयोजनाका लागि तेल बोकेर उकालो लाग्ने गरेको भएपनि हिउँसँग पौंठोजोरी खेल्दै चीनसम्म भने पुगेका थिएनन्। 'चीनले त उसको तर्फ निकै राम्रो बाटो बनाएको रहेछ,' तेल लिएर फर्केका चालक ज्ञानबहादुर तामाङले भने, 'असजिलो त हाम्रै पट्टी धेरै छ।'

चीनले नेपाललाई तेल हस्तान्तरण गर्दाको सामूहिक फोटो

चीनले आफ्नो क्षेत्रमा पक्की बाटो बनाएको उनले बताए। 'पहिरोले भत्काएका केही ठाउँ बाहेक चीनको व्यवस्थापन राम्रो छ,' उनले भने, 'चट्टानमा पनि तारजाली लगाएर बाटो बलियो बनाइएको छ।' रसुवाको टिमुरेदेखि मुलखर्कको पहिरो देखेर आत्तिएका चालकहरु चिनियाँ बाटोबाट भने उत्साही देखिन्छन्।

'चीनले जस्तो बाटो हाम्रो तिर बनाउने हो भने त हामीलाई पेट्रोल काठमाडौं पुर्‍याउन कुनै समस्या हुनेछैन,' चीन पुगेर फर्केका अर्का चालक माधव सापकोटाले भने। चीनतर्फको सडक जाँदा उकालो र फर्कँदा ओरालो भएपनि कालोपत्रे भएकाले समस्या नभएको उनले बताए। 'उकालो ओरालो भएपनि पिच बाटो भएकाले हामीलाई उता धेरै समस्या छैन,' सापकोटाले भने, 'एक दुई ठाउँमा पहिरोले खसेको भएपनि हामी सजिलै गरी नेपाल छिर्‍यौं।'

केरुङमा तेल लिएर आएका चीनका ट्याङ्करहरु

नेपाली ट्यांकरले चिनियाँ भूमिमा दुईतर्फ गरेर ६८ किलोमिटर यात्रा गरेका थिए। चीनको केरुङदेखि ७ किलोमिटर माथि पुर्‍याएर नेपाली ट्यांकरमा चिनियाँ ट्यांकरबाट तेल खन्याइएको थियो। चिनियाँ ट्यांकरबाट नेपाली ट्यांकरमा तेल खन्याउन डेढ घण्टा लागेको चालक विवेक लामाले बताए। उनका अनुसार डिजेलबाट चल्ने जेनेरेटरको सहायतामा चिनियाँ ट्यांकरबाट नेपाली ट्यांकरमा तेल खन्याइएको थियो।

चिनियाँ भूमिमा फोटो खिचाउँदै नेपाली ट्याङ्करचालकहरु।


चिनियाँ ट‍्याङ्करलाई पछाडि पारेर फोटो खिचाउँदै नेपाली ट्याङ्करचालक।


भिडियोमा हेर्नुस् चीनतर्फको सडक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell