PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

ओलीको अनुपस्थिति प्रचण्डलाई खल्लो



ओलीको अनुपस्थिति प्रचण्डलाई खल्लो

काठमाडौं : एकीकृत नेकपा माओवादी सहितको २२ दलीय गठबन्धनले आयोजना गरेको चियापान कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई 'मिस' गरे।

अध्यक्ष ओली काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा आएनन्। आइतबार बिहान संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको संयोजनमा बोलाइएको प्रमुख तीन दलको बैठकमा समेत ओली सहित एमालेका शीर्ष नेता सहभागी भएका थिएनन्।

तर एमाले नेता माधवकुमार नेपाल र प्रमुख सचेतक अग्नि खरेल चियापानमा पुगेका थिए।

प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेको चियापानमा सबै नेताहरु सहभागी भएको स्मरण गरे। 'कांग्रेस र एमालेको चियापानमा पुगेर हामीले भावनात्मक एकता साट्यौँ', अध्यक्ष प्रचण्डले भने, 'एमाले अध्यक्ष केपी ओलीजी आइदिनु भएको भए राम्रो हुन्थ्यो।'


प्रचण्ड पहिचान सहितको संघीयता लागू हुनेगरी संविधान निर्माण गर्न दबाब दिने उद्देश्यले गठित २२ दलीय मोर्चाका अध्यक्ष हुन् भने शान्ति प्रकियाका बाँकी काम सम्पन्न गर्न सहयोग तीनदलले गठन गरेको राजनीतिक समितिका संयोजक पनि हुन्।  

'हामीले ओलीजीलाई आग्रह गर्‍यौ', प्रचण्डले भने, 'उहाँ आउनुपर्थ्यो तर आउन सक्नुभएन।'

के भने नेताहरुले चियापानमा?

चियापानमा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले संविधान निर्माणमा सबै पार्टी लागिरहेको बताए।

'दैनिक पत्रपत्रिका पढेर सबैलाई संविधान बन्छ कि बन्दैन भन्ने चिन्ता होला', प्रधानमन्त्रीले भने, 'सहमति मेलमिलाप र वार्ताबाट नै हो हामी सबै अगाडि जानुपर्छ।'

एमाले नेता माधवकुमार नेपालले संघीयतामा जाने निर्णय भइसकेको अवस्थामा अब पछाडि हट्न नसक्ने बताए।

'पहिचान र सामर्थ्यको आधारमा आवश्यक लचकता, तत्परता अपनाएर अगाडि बढ्नुपर्छ', नेता नेपालले भने।

 एमाओवादी अध्यक्ष प्रचण्डले भने विगतमा भएका सहमति र समझदारीका आधारमा संविधान बन्नुपर्ने बताए।

'हिजोको सहमति बिर्सिए दुर्भाग्य हुन्छ', प्रचण्डले भने, 'सहमतिमा संविधान निर्माण भएन भने यो चियापन जस्ता औपचारिकता, अभिसाप हुनेछ।'


अग्लो मञ्च

एमाओवादी सहितको गठबन्धनमा नेताहरु बस्न अग्लो मञ्च निर्माण गरिएको थियो। त्यसको तल कलाकारहरुलाई नाचगान तथा प्रहसनका लागि स्टेज थियो। सर्वसाधारणलाई चियापानको शुभकामना दिन जाने व्यवस्था मिलाइएको थिएन।

दुई वर्ष अघि भृकुटीमण्डपमै भएको चियापानमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमाओवादीकै कार्यकर्ताले थप्पड हानेका थिए। प्रचण्डलाई थप्पड हान्ने पदम कुवँर दोश्रो संविधानसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रचण्डकै विरुद्ध उम्मेदवारी दिएका थिए।

अग्लो मञ्चबारे टिप्पणी गर्दै एमाओवादीकै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने असन्तुष्टि जनाए।

पत्रकारहरुसँग हात मिलाउन तल झरेका श्रेष्ठले भने, 'जति माथि बस्यो त्यति ठूलो भइन्छ भन्ने सोचेका होलान्', मञ्चतर्फ हेर्दै भने,' माथि भन्दा भन्दै सकिन लाग्यो।'

श्रेष्ठले तल पत्रकारहरुसँग भेट्दै गर्दा एमाओवादी अध्यक्ष प्रचण्ड, नेता बाबुराम भट्टराई, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतका नेता मञ्चमा थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell