PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चीनका लागि नेपाली राजदूत भन्छन् – अब कजाकिस्तानबाट ग्यास ल्याउनुपर्छ



चीनका लागि नेपाली राजदूत भन्छन् – अब कजाकिस्तानबाट ग्यास ल्याउनुपर्छ

  • सविन मिश्र/मनोज सत्याल-
स्याफ्रुबेसी (रसुवा) : सरकारले कजाकिस्तानबाट खाना पकाउने ग्यास भित्र्याउने तयारी थालेको छ । चीनको बाटो हुँदै कजाकिस्तानबाट नेपालमा ग्यास ल्याउने विषयमा अध्ययन थालिएको हो ।

चीनका लागि नेपाली राजदूत डा महेशमान मास्केले कजाकिस्तानमा ग्यास निकै सस्तो भएकाले त्यहाँबाट ग्यास ल्याउने विकल्प नेपालका लागि राम्रो हुन सक्ने बताए ।

'कजाकिस्तानमा ग्यास निकै सस्तो छ, हामीले चीनको बाटो हुँदै त्यसदेशबाट ग्यास भित्र्याउन सक्छौं,' मास्केले पहिलोपोस्टसँग भने, 'हामीले चीनसँग सम्झौता गर्दा चीनको बाटो हुँदै अर्को देशबाट पनि पेट्रोलियम ल्याउन सक्ने सम्झौता गर्नुपर्छ । जुन हाम्रा लागि सबैभन्दा राम्रो हुन्छ।'
चीनको बाटो हुँदै मध्य एसियाली देशबाट नेपालमा पेट्रोलियम ल्याउन सकिने भन्दै उनले यसका लागि चीनसँग सम्झौताको चरणमै विस्तृत कुराकानी गर्नुपर्ने पनि बताए ।

'अहिले चीन र कजाकिस्तानको सम्बन्ध राम्रो छ त्यसकारण हामीले यही बेलामा चीनसँग सम्झौता गर्दा नै ती देशबाट चिनियाँ बाटो प्रयोग गरी ग्यास ल्याउन पाउने सम्झौता गर्नुपर्छ,' मास्केले भने, 'हामीले चीनलगायत एसियाली देशबाट पेट्रोलियम ल्याउने भनिसकेको अवस्थामा यो विकल्पबारे पनि छलफल थाल्नुपर्छ।'

राजदूत मास्केले चीनबाट पेट्रोलियम पदार्थ नेपाल ल्याउने सम्झौता गराउन महत्वपूर्ण भूमिका खेलका थिए।

नेपाल कजाकिस्तान एउटै फोरममा

मध्ये र दक्षिण एसियाका केही देशसँग चीनको सम्बन्ध राम्रो छ। नेपाल र चीनबीच पनि अहिले निकै राम्रो सम्बन्ध भएकाले चीनबाट पेट्रोलियम ल्याउन नेपाललाई केही सहज भएको हो । भारतले नाकाबन्दी गरेपछि नेपालले उत्तरी छिमेकबाट पेट्रोलियम ल्याउन निर्णय गरेको थियो।

चीनको सांघाईमा रहेको 'सांघाई कोरपरेसन अर्गनाइजेशनको डाइलग पार्टनर'का रुपमा नेपाल र कजाकिस्तान एउटै मञ्चमा छन्। यसले नेपाललाई उनीहरुसँग पनि सिधै वार्ता गर्ने बाटो बन्न सक्ने मास्के बताउँछन् ।

'हामी अहिले एउटै फोरममा भएकाले कजाकिस्तानसँग पनि छलफल गर्न सक्ने अवस्थामा छौं,' उनले भने, 'सरकारले नै यसका लागि इनिसिएसन लिने हो भने हामीलाई छलफल गर्न सजिलो हुन्छ।'

कजाकिस्तान यो संस्थाको सदस्य राष्ट्र हो। कजाकिस्तानसँगै यो संस्थामा चीन, किर्गिस्तान, रुस, ताजिकिस्तान र उज्वेकिस्तान रहेका छन्। यसको पर्यवेक्षक भने भारत पनि रहेको छ।

मास्के अहिले चीनबाट नेपालमा पेट्रोलियम पदार्थ भित्र्याउने नाका रसुवागढी-केरुङ सडक खण्डको अवलोकनका क्रममा छन्। उनी शनिबार बेलुकी रसुवाको स्याफ्रुबेसी आइपुगेका थिए । मास्के स्थलमार्ग हुँदै काठमाडौं जानेछन् । उनले नेपालतर्फको बाटोका विषयमा प्रधानमन्त्रीलाई 'ब्रिफिङ' गराउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell