PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

चीनको पेट्रोल पनि भन्सारमै रोकियो, राजस्व दाखिला र जाँचपासमा ढिलाई



चीनको पेट्रोल पनि भन्सारमै रोकियो, राजस्व दाखिला र जाँचपासमा ढिलाई

  • सविन मिश्र/मनोज सत्याल-
टिमुरे : सरकार र आयल निगमको कमजोर तयारीका कारण चीनबाट पेट्रोल लिएर आएका ट्याङ्करहरु रसुवागढी भन्सार कार्यालयमा नै रोकिएका छन्।

चीनको केरुङमा पेट्रोल भरेर शनिबार साँझ नै नेपाली भूमिमा प्रवेश गरेका तीन वटा ट्याङ्कर भन्सार जाँचपास र राजस्व दाखिला नहुँदा रसुवाको टिमुरे गाविसमा रहेको भन्सार कार्यालय अगाडि रोकिएका छन्।

भन्सार कार्यालय र आयल निगमका अधिकारीहरुले आइतबार बिहान छलफल गरेपनि राजस्व दाखिला नभएका कारण ट्याङ्कर काठमाडौंतर्फ छुट्न पाएका छैनन्। चिनियाँ नाकाबाट पहिलो पटक पेट्रोलियम पदार्थ ल्याउन लागिएकाले भन्सार जाँचपासमा अलमल देखिएको हो। भन्सार समस्या समाधान गर्न आयल निगमका निमित्त निर्देशक दीपक बराल रसुवामा नै छन्।

जाँचपास र राजस्व तिर्न भएको ढिलाइका कारण आइतबार साँझसम्म नेपाली ट्याङ्करहरु टिमुरेमा नै रोकिने निश्चित भएको छ। भन्सारको प्रक्रिया मिलेपछि पनि ट्याङ्करहरुले तेलको लोड घटाएर मात्र काठमाडौं प्रस्थान गर्नुपर्नेछ।

सडक कच्ची र अप्ठेरो भएकाले ट्याङ्करहरुले आफ्नो क्षमता १२ हजार लिटर पेट्रोल लिएर काठमाडौंसम्म पुग्न सक्दैनन्। त्यसैले उनीहरुले चीनबाट भरेर ल्याएको पेट्रोल अर्को कम तेल भरेको ट्याङ्करमा खन्याएर मात्र काठमाडौंतिर जानुपर्नेछ।

शनिबार केरुङमा तेल भर्न गएका नेपाली तीनवटा ट्याङ्करमध्ये एउटाले १२ हजार लिटर भन्दा बढी अर्कोले ११ हजार लिटर र तेश्रोले ५ हजार लिटर पेट्रोल लिएर रसुवा आइपुगेका छन्। ट्याङ्कर चालक ज्ञानबहादुर तामाङ्का अनुसार दुईवटा ट्याङ्करबाट केही हजार लिटर पेट्रोल ५ हजार लिटर मात्र बोकेको तेश्रो ट्याङ्करमा खन्याएपछि मात्र काठमाडौं गइनेछ।

९ वटा ट्याङ्कर केरुङतर्फ

चीनले अनुदानमा दिएको पेट्रोल लिन नेपालका १२ वटा ट्याङ्कर शुक्रबार रसुवा गएका थिए। जसमध्ये तीन वटाले शनिबार चीनको केरुङ पुगेर तेल भरेर आएका छन् भने बाँकी ९ वटा आइतबार केरुङ प्रस्थान गरेका छन्। आइतबार बिहानै त्यसतर्फ गएका ट्याङ्करहरु अहिले तेल भर्ने ठाउँसम्म पुगेको हुनसक्ने आयल निगमका अधिकारीहरुको अनुमान छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell