PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

उपराष्ट्रपति चुनावका दश रोचक दृश्य



उपराष्ट्रपति चुनावका दश रोचक दृश्य

  • रमेश वाग्ले/पहिलोपोस्ट -
काठमाडौँ : संसदले गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई आज निर्वाचित गरेको छ। शनिबार भएको मतदानमा प्रतिस्पर्धी अमियकुमार यादवलाई पराजित गर्दै उनी उपराष्ट्रपति निर्वाचित भएका हुन्। कस्तो रह्यो त चुनावका १० दृश्य, पढ्नुस् -

१. सभामुखले आज पनि गरिन् गल्ती

सभामुख ओनसरी घर्तिले आज पनि गल्ती गरिन्। यसअघि राष्ट्रपतिको मत परिणाम घोषणाका क्रममा एक सय मत कम भनेकी उनले आज पनि बोल्दा गल्ती गरेकी हुन्। सभामुख घर्तीले मत परिणाम घोषणा गरेपछि ‘नेपालको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित भएकोमा सदन र मेरो व्यक्तिगत तर्फबाट बधाई ज्ञापन गर्दछु’ भन्दै बधाई दिएकी थिइन्।

उनले गल्ती भएको थाहा पाइनन् वा सच्याउने प्रयत्न समेत गरिनन्। राष्ट्रपति चुनावपछि मत परिणाम घोषणा गर्दा विद्या भण्डारीले प्राप्त गरेको ३२७ मतलाई उनले २२७ मत भनेका थिइन् तर लगत्तै सच्याइन्। आजको सभामुखको गल्तीपछि नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले नियमापत्ति गर्नका लागि हात उठाएका थिए। तर उनले समय पाएनन्। सभामुख घर्तीले त्यसलाई बेवास्ता गरेर नैं अर्को बैठक आगामी २२ गते बिहान ११ बजे राख्ने गरी स्थगित गरिन्। बैठक स्थगित भएपछि मात्र खतिवडाले हात तल झारेका थिए। 

२. उपराष्ट्रपति चुनावका विजयीले आफैलाई भोट हाल्न पाएनन्

उपराष्ट्रपतिको चुनावमा उम्मेद्वारी चयनकै क्रममा नन्दबहादुर पुनको जित लगभग सुनिश्चित नै थियो। सत्ता गठबन्धनका तर्फबाट निर्णय गरेर नै उम्मेद्वार बनेका पुनको जित सुनिश्चित भए पनि गोप्य मतदान हुने भएकाले  कति मत प्राप्त गर्छन भन्ने विषय मात्र मतदान बाट टुंगो लाग्थ्यो।

असोज ३ मा जारी भएको नेपालको संविधानले राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेद्वारी दिनका लागि सांसद् हुन नपर्ने खाली उसले प्रस्तावक र समर्थक मात्र सांसद राख्दा हुने व्यवस्था गर्‍यो। त्यही व्यवस्थाको उपयोग गर्दै सत्तारुढ गठबन्धनले काठमाडौं क्षेत्र नम्बर–४ बाट संविधानसभाको चुनाव २०७० मा तेस्रो स्थान हासिल गरेको पुनलाई उम्मेद्वार बनायो। सांसदले मात्र मतदान गर्न पाउने भएकाले उनले आफैलाई मतदान गर्न भने पाएनन्। तर उनका प्रत्याशी तथा पराजित उम्मेद्वार अमियकुमार यादव भने सांसद रहेकाले उनले आफूलाई मतदान गरेका थिए।


३. विजयपछि पनि सदनको दर्शकदिर्घामा

५९६ जना सदस्य कायम रहेको संसद्को ३२५ मत प्राप्त गरेर उपराष्ट्रपति पदमा विजयी भएका नन्दबहादुर पुन विजयपछि पनि संसद्को हलमा बस्न पाएनन्। सभामुख ओनसरी घर्तीले मत परिणाम सुनाएर बधाई दिइरहँदा पुन दर्शकदिर्घामामा एक्लै बसिरहेका थिए। विजयी घोषणापछि तत्काल बधाई दिने पनि कोही भएनन्। दर्शकदिर्घामै बसेका पत्रकार ऋषि धमला मर्यादा मिचेर नै बधाई दिन पुगेका थिए। तर उनलाई मर्यादापालकले दुईपट्टी समातेर झ्याल्टुङ बनाउँदै केही पर पुर्‍याएर छोडिदिएका थिए।

४. सुरक्षाकर्मीको घेरामा परेपछि प्रतिक्रिया समेत दिएनन् उपराष्ट्रपतिले

उपराष्ट्रपति निर्वाचित भएपछि संसद्को मूल गेटमा स्वागतम भनेर आकर्षक ढंगले लेखिएको थियो। र, घडा समेत सजाइएको थियो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीले ठूलो आकारका राष्ट्रिय झण्डा दुईतर्फ फहराएका थिए। त्यही क्रममा एमाओवादी अध्यक्ष प्रचण्डका साथमा निस्किएका उपराष्ट्रपति पुनले केही बेर उभिएर अभिवादन गरे। सुरक्षा घेराबाट सञ्चारकर्मीलाई बाहिर नै राखिएको हुनाले नजिक पुगेर प्रश्न सोध्न पाएनन्।

केही बेरको अभिवादन लगत्तै उनको कारकेड लिएर पुगेका सुरक्षाकर्मीले घेरा हालेर उनलाई अघि बढाए। संचारकर्मीले प्रतिक्रिया लिन गरेको प्रयत्न सफल भएन। उनलाई सिधै गाडीमा बसाएर अघि बढाइयो।

५. पूर्वलडाकुमा उत्साह, केही छिनमै निरासा

उपराष्ट्रपति पदमा निर्वाचत भएलगत्तै माओवादी कार्यकर्ता र विशेष गरेर पूर्व लडाकुहरुको उपस्थिति बढ्न थाल्यो। ठूलो संख्यामा सांसद्हरुले प्राप्त गर्ने पास ल्याएर संसद् प्रवेश गर्ने तीन नम्बर गेटमा पास वितरण गरियो। खादा र माला लिएर आएका पूर्व लडाकुहरु मत परिणाम घोषणा पछि बधाई दिने तथा खादा माला लगाउने आशाका साथ संसद्को मूल गेट बाहिर प्रतिक्षामा बसे।

तर जब उपराष्ट्रपति निर्वाचित भएका पुन विजयी घोषणापछि बाहिरिए, एकजनाले पनि खादा माला लगाइदिन पाएनन्। ‘लामो प्रतिक्षामा बसेका पूर्व लडाकुहरु खादा माथि उठाएर उपराष्ट्रपति ज्यू यहाँ खादा छ हामी बधाई दिन आएको’ भन्दै थिए। तर उनीहरुले न त बधाई दिन पाए न त खादा ओढाउन र माला लगाउन नै पाए।

सुरक्षा कर्मीहरुले घेरा हालेर गाडी चढाएपछि पनि सांसद दलजित विके सिर्पाइली ‘यहाँ धेरै साथीहरु बसिरहनु भएको छ, उहाँहरु बधाइ दिन चाहनुहुन्छ’ भन्दै थिए। तर उपराष्ट्रपतिले सुनेनन् वा सुनेर पनि बधाई ग्रहण गर्न सकेनन्। त्यसपछि एकजनाले सांसद सिर्पाइलीलाई ‘पदले कार्यकर्ता चिन्दैन किन जिद्दी गर्नुभएको’ भन्दै सम्झाउँदै थिए । जवाफमा सिर्पाइली भन्दै थिए, ‘उहाँ पदमा गएर पनि पासाङ नै हो, यहाँ नभए निवासमा बधाई लिनुहुन्छ।’ उपराष्ट्रपति निर्वाचित भएपछि पनि पहिलो रात पुनले आफ्नो जस्ताले बेरेको टहरामा नै बिताउने भएका छन्।

६. प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मले लाइन बसेर केही समय कुरेरै मतदान गरे

प्रधानमन्त्रीदेखि उपप्रधानमन्त्री र पूर्वप्रधानमन्त्री सबैले लाइनमा बसेर केही बेरपछि मात्र मतदान गरे। सबैलाई परिचयपत्र अनिवार्य गरिएकाले हातमा परिचयपत्र बोकेर नै उनीहरु लाइनमा बसेका थिए। केही बेरको लाइन बसाइपछि मात्र उनीहरुले मतदान गर्न पाएका थिए।

७. आफ्नै पार्टीका नेताले प्रशंसाका नाममा खुइल्याए

उपराष्ट्रपति चुनावको मतदान सुरू हुनु अघि सत्तारुढ गठबन्धनको बैठक बसेको थियो। उद्घोषणा गरेका थिए, उनकै पार्टीका सचेतक हितराज पाण्डेले। उनले उपराष्ट्रपतिको योग्यताको प्रशंसा मानौं युद्ध मैदानमा रहेका बेला गरेको सभामा जस्तै गरी गरे।

‘उहाँले अध्ययन बाँकेको महेन्द्र बहुमुखी क्याम्पसबाट आइएसम्म गर्नुभएको छ’ पाण्डेले उनको योग्यताको चर्चा गर्दै भने, ’उहाँ युद्ध कलामा चतुर र सक्षम हुनुहुन्छ।  उहाँलाई बन्दुक बनाउन, बम बनाउन, ग्रिनेट बनाउन र त्यसलाई कुशलतापूर्वक चलाउन पनि आउँछ।' त्यसै गरी उनले युद्धकालमा पुनले मंगलसेनसहितका सदरमुकामकेन्द्रित आक्रमणको नेतृत्व गरेको र त्यसमा सफलता पनि हात पर्ने गरेको बताए।

‘यसबाहेक उहाँमा संगीतमा पनि विशेष अभिरुचि छ’ पाण्डेले थपे, ‘उहाँ भलिबल खेलमा पनि राम्रो खेलाडी हुनुहुन्छ।‘ उनले पुनले लेखेको पुस्तकहरु पनि रहेको भन्दै ती प्रकाशनका क्रममा रहेको बताए।

८. सत्तारुढ दलको बैठकमै गएनन् माधव नेपाल

सत्तारुढ दलको बैठकमा सहभागी हुन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बैठक हलमा पुग्दै थिए। त्यही समयमा एमाओवादी सचेतक पाण्डेले पुनको योग्यताको चर्चा गरिरहेका थिए। हलमा प्रवेश गर्दैगर्दा बम, ग्रिनेट र बन्दुक बनाउन दक्ष भएको भन्ने सुनेपछि उनी त्यहीँबाट फर्किए र बैठकमा पुनः सहभागी भएनन्।

९. कट्टर आलोचक बने सबैभन्दा ठूलो प्रशंसक

प्रधनमन्त्री केपी ओली सरकारमा जानुअघि माओवादी युद्ध र माओवादीका पूर्व लडाकुका कट्टर आलोचक थिए। उनले माओवादीका लडाकाहरुलाई गुरिल्ला भनेर सम्बोधन गर्थे। माओवादीलाई शान्ति प्रक्रियामा सहयोग गरेन भने फेरि युद्धमा फर्कन सक्छ भन्दा ‘अब पजेरो जंगल जाँदैन’ भन्ने जवाफ फर्काउँथे।

०६४ सालमा माओवादी पहिलो पार्टी बनाएर संविधान जारी नभएपछि उनले व्यङ्ग्यात्मक टिप्पणी गर्दै जनतालाई नै प्रश्न गरेका थिए, ‘बाँदरलाई गोठालो राखेर मकै जोगिन्छ?‘ तर ओली शनिबार पुनका सबैभन्दा ठूला समर्थक बने। प्रधानमन्त्री ओलीले सिंगो शान्ति प्रक्रिया टुंगिनुको श्रेय नै पुनलाई भिराए। ‘शान्ति प्रक्रियामा आएपछि पनि माओवादी लडाकुको कमाण्डर उहाँ नै हुनुहुन्थ्यो, उहाँले हतियारको चाबी हस्तान्तरण नगरेको भए कसरी शान्ति प्रक्रिया टुंगिन्थ्यो ? ओलीले भने, ‘त्यसकारण उहाँले नैं शान्ति प्रक्रिया टुंग्याउनुभएको हो।’

१०. कानुन मन्त्रीले सरापे जस्तै भने हाम्रा मत रद्द नहुन्, अरुका रद्द मत बढून्

कानुन तथा संसदीय मामिला मन्त्री अग्नि खरेलले सत्ता गठबन्धनकै बैठकमा आफ्ना पक्षका मत रद्द नगर्न आग्रह गरे। ‘राष्ट्रपति चुनावमा आठ मत रद्द भए, ती हाम्रा पक्षमा थिए भने अब रद्द नहुन्’ उनले भने, ‘यदि ती मत अर्को पक्षका रहेछन् भने रद्द हुने संख्या बढेर जाओस्।’
कानुन मन्त्रीले रद्द मत कम गर्न आह्वान गरेपनि रद्द हुने मत घटेन, बरु बढेर १० पुग्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell