PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

पेट्रोल लिन केरुङ गएका ट्याङ्करको टिमुरेमा बास, हिमपातले अवरोध हुनसक्ने



पेट्रोल लिन केरुङ गएका ट्याङ्करको टिमुरेमा बास, हिमपातले अवरोध हुनसक्ने
फोटो साभार : सृष्टि काफ्लेको ट्विटर

  • सविन मिश्र/मनोज सत्याल -
​टिमुरे : चीनबाट पहिलो पटक पेट्रोल ल्याउन केरुङतर्फ लागेको नेपाल आयल निगमका १२ वटा ट्याङ्कर ११ घण्टाको यात्रापछि टिमुरे पुगेका छन्। ट्याङ्कर चालकहरुसहितको टोलीले आज यहीँ रात बिताउँदैछ। 

यहाँबाट तीन किलोमिटर टाढा गएपछि रसुवागढी पुगिन्छ। ट्याङ्कर रसुवा पुग्दा त्यहाँका बासिन्दाले भव्य स्वागत गरेका थिए। 

हिमपातले अवरोध

शुक्रबार राति चीनतर्फको बाटो ठूलो हिमपात भएको खबर सीमा प्रहरी चौकी टिमुरेलाई प्राप्त भएको छ। टिमुरेमा बास बसेकै ठाउँमा यो खबर आएपछि भोलि कति बजे ट्याङ्कर गुड्ने अनिश्चित भएको छ। पहिले प्रहरीको गाडी गएर बाटो क्लियर भएको जनाउ दिएपछि मात्रै ट्याङ्कर यहाँबाट गुड्ने भएको छ। 

भोलिको यस्तो थियो तयारी 

हिमपातले अवरोध नगरेको भए एकाबिहानै साढे ६ बजे यहाँबाट ट्याङ्कर उत्तरतर्फ लाग्नेथिए। रसुवागढी नाकालाई छिचोल्दै १२ वटै ट्याङ्कर केरुङमा रहेको चिनियाँ ट्याङ्क रहेको स्थानमा पुग्नेछन्। त्यहाँ एक सय टन अर्थात् १ लाख ४४ हजार लिटर पेट्रोल चीनले तम्तयार राखेको छ। 
चिनियाँ अधिकारीले नेपाल आयल निगमका अधिकारीहरुलाई अनुदान वापतको यो पेट्रोल हस्तान्तरण गर्ने कार्यक्रम त्यहाँ छ। 

त्यहाँबाट ट्याङ्करबाट ट्याङ्करमा पेट्रोल खन्याइनेछ। चिनियाँ ट्याङ्करबाट नेपाली ट्याङ्करमा पेट्रोल खन्याउन एउटा ट्याङ्करका लागि ४० मिनेट लाग्ने ट्याङ्कर चालक ज्ञानबहादुर तामाङले बताए।

यो सब काम सकाएर ट्याङ्कर पुनः यही ठाउँ (टिमुरे) आइपुग्दा दिउँसो ३ देखि ४ बज्ने अनुमान गरिएको थियो। 

कस्तो छ बाटोको स्थिति?

चीनतर्फको बाटो सबै राम्रो रहेको रिपोर्ट यहाँ आएको छ। बाटोमा जति पनि समस्या छ, नेपाल पट्टी नै छ। राम्चेको पहिरो नपुगेसम्म नेपालतर्फको बाटोमा पनि कुनै समस्या हामीले देखेनौँ। 

राम्चेदेखि धुन्चेसम्मको ५ किलोमिटर बाटोमा भने समस्या छ। बाटो बिग्रिएको हुनाले ट्याङ्करमा पूर्ण क्षमताको अर्थात् १२ हजार लिटर नै पेट्रोल ल्याउन गाह्रो हुने चालकहरुले पहिलोपोस्टलाई बताए। 

उनीहरुका अनुसार एउटा ट्याङ्करमा ९ हजार लिटरसम्म पेट्रोल राखेर ल्याउन सकिन्छ। 

पेट्रोल ढुवानी गर्न तयार छौँ : चालक र व्यवसायी

हामीसँगै रहेका ट्याङ्कर चालक ज्ञानबहादुर तामाङ उत्साही देखिन्छन्। उनी भन्छन्, हामी राष्ट्रलाई अप्ठेरो परेको यो विषम परिस्थितिमा सहयोग गर्न पाउँदा गौरवान्वित छौँ। हामीले तराईबाट पहाडमा इन्धन आपूर्ति गरिरहेका थियौँ, आज हिमालमा आइपुगेका छौँ। जस्तोसुकै परिस्थितिमा पनि ढुवानी गर्न हामी तयार छौँ। 

त्यस्तै पेट्रोलियम व्यवसायी गोकर्णराज खड्का भन्छन्, 'बाटो अप्ठेरो भए पनि सरकारले त्यस्तो समस्या समाधान गर्ने तत्परता देखाएर हिमाली क्षेत्रबाट पनि पेट्रोलियम पदार्थ ढुवानी गर्न सकिन्छ। हामी यसका लागि तयार छौँ।' 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell