PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

​चीनसँग सम्झौताको भोलिपल्ट आइओसीले भन्यो 'नेपालमा तेल आपूर्ति बढाउछौं'



​चीनसँग सम्झौताको भोलिपल्ट आइओसीले भन्यो 'नेपालमा तेल आपूर्ति बढाउछौं'

नयाँदिल्ली : नेपालले चीनसँग पेट्रोलियम सम्झौता गरेको भोलिपल्ट भारतीय आयल कर्पोरेसन (आइओसी)ले नेपाललाई दिँदै आएको पेट्रोलियम पदार्थको परिमाण बढाउने घोषणा गरेको छ।

भारतले नाकाबन्दी गरेपछि नेपालले चीनबाट पेट्रोलियम पदार्थ भित्र्याउने समझदारी गरेको भोलिपल्ट अर्थात विहीबार आइओसीको यस्तो धारणा सार्वजनिक भएको हो।

'नेपालसँग हाम्रो चार दश लामो सम्झौता छ, नेपाल प्रवेश गर्ने नाका बन्द हुँदा पछिल्ला केही महिनायता आपूर्तिमा कमी भइरहेको छ। हामी नेपालमा आपूर्ति नियमित नै राख्नेछौं र नेपालमा आन्दोलन कम हुने हो भने आपूर्ति अझै बढाउछौं,' आइओसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक बी अशोकले भनेका छन्।

अशोकले नेपालमा पेट्रोलियम पदार्थको ढुवानी बढाउने घोषणा गरेपनि अघिल्लो हप्ता उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापासँगै भारत गएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कासँग उनले भेट अस्विकार गरेका थिए। खड्काले निकै प्रयास गरेपनि उनले भेट्न मानेका थिएनन्।

उनले नेपालले चीनबाट कति परिमाणमा पेट्रोलियम पदार्थ आयात गर्छ त्यो भने पर्ख र हेर कै अवस्थामा रहेको बताए। भारतीय आयल कर्पोरेसनले नेपालमा वार्षिक १५ लाख टन पेट्रोलियम पदार्थ निर्यात गर्दै आएको छ। नेपालसँग उसको पेट्रोलियम व्यापार मात्रै ९० अर्ब भारतीय रुपैयाँ भन्दा धेरैको छ।

नेपालले भारतबाट पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यास आयात गर्दै आएको छ। भारतमा रहेका आइओसीका रिफाइनरीबाट ट्यांकर मार्फत नेपालसम्म पेट्रोलियम पदार्थ ढुवानी हुँदै आइरहेको छ। नेपाल र चीनबीच बुधबार बेइजिङमा भएको सम्झौता अनुसार चीनले नेपालको आवस्यकताको एक तिहाई पेट्रोलियम पदार्थ नेपाललाई दिनेछ।

नेपालले चीनसँग पेट्रोल किन्ने सम्झौता गरेसँगै आइओसीको नेपालस्थित  एकाधिकार बजार तोडिएको छ। नेपालले ४० वर्षदेखि भारतबाट मात्रै पेट्रोलियम पदार्थ खरीद गर्दै आएको  थियो।

नेपालको मधेश केन्द्रित राजनीति गर्दै आएका दलहरुले हालै जारी भएको संविधानको विरोधकाबीच भारतले नाकाबन्दी गरेपछि नेपालले पेट्रोलियम ढुवानीको नयाँ विकल्प खोजेको हो।

नेपालका लागि चिनियाँ राजदूत डा महेशमान मास्के नेतृत्वको ८ सदस्सीय नेपाली टोलीले चीनको विदेश मन्त्रालय र आपूर्ति मन्त्रालयका उच्च अधिकारीसँगको दुई दिन लामो छलफलपछि पेट्रोलियम आयात सम्झौतामा हस्ताक्षर गरेका थिए। नेपालसँग सम्झौतापछि चिनियाँ विदेश मन्त्रालयले पनि छिमेकीलाई सहयोगका लागि असहज अवस्थामा पेट्रोलियम ढुवानी सम्झौता गरेको पुष्टी गरिसकेको छ।

नेपालसँग पेट्रोलियम सम्झौतामा हस्ताक्षर भएपछि चीनले नेपाललाई १ हजार मेट्रिक टन पेट्रोल सहयोगस्वरुप पठाउँदै छ। चीनले दिने यो परिमाणको पेट्रोल ल्याउन नेपाल आयल निगमले पनि आवस्यक व्यवस्था गरिसकेको छ। छिट्टै नै चिनियाँ पेट्रोल काठमाडौं आइपुग्ने निमगका अधिकारीहरुले बताएका छन्।

चीनले दिएको पेट्रोल ल्याउन निगमले शुक्रबार पहिलो चरणमा ४० वटा ट्यांकर नेपाल चीन सिमाना नजिकै पर्ने चीनको केरुङ पठाउँदै छ। यो नाकाबाट नेपालको रसुवागढी हुँदै काठमाडौंमा पेट्रोल ल्याइने निमगले जनाएको छ।

बिजनेश स्टाण्डर्डको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell