PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पेट्रोलियम पदार्थ ल्याउन चीनसँग सम्झौता, तोडियो भारतको एकाधिकार



पेट्रोलियम पदार्थ ल्याउन चीनसँग सम्झौता, तोडियो भारतको एकाधिकार

  • ​विज्ञान अधिकारी/पहिलोपोस्ट-
काठमाडौं : चीनसँग दीर्घकालिन रुपमा पेट्रोलियम पदार्थ ल्याउन नेपाल सरकारको स्वामित्वको नेपाल आयल निगम र चीनको सरकारी स्वामित्वको पेट्रो चाइना बीच बुधबार सम्झौता भएको छ।

यो सम्झौतापछि इन्डियन आयल कर्पोरेशन(आइओसी)सँगको तेलको एकाधिकार तोड्दै चीनबाट तेल ल्याउने बाटो खुलेको छ।

‘आयल निगम र पेट्रो चाइनाबीच तेल ल्याउने सम्झौता भइसकेको छ,’ बेइजिङमा रहेको टोली सदस्यले पहिलोपोस्टलाई भने, ‘यो सम्झौतापछि चीनबाट दीर्घकालीन रुपमा तेल ल्याउने बाटो खुलेको हो।

यो सम्झौतापत्रमा निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र पेट्रो चाइनाका कार्यकारी प्रमुखले हस्ताक्षर गरेका थिए। भारतले संविधान निर्माणमा असन्तुष्टि जनाउँदै तेल आपूर्तिमा कटौति गरेपछि नेपालले चीनबाट तेल ल्याउने तयारी गरेको थियो ।



यो सम्झौतापछि आयल निगम र आइओसीवीचको ४० वर्षदेखिको एकाधिकार अन्त्य भएको छ। अब नेपालले भारत र चीनबाट तेल ल्याउनेछ।
सम्झौतापत्रमा पेट्रो चाइनाले नेपाललाई आवश्यक पर्ने पेट्रोल, डिजेल र अन्य पेट्रोलियम पदार्थ दिने उल्लेख छ। 

‘पेट्रो चाइनाले नेपाललाई आवश्यक पर्ने पेट्रोल, डिजेल र अन्य पेट्रोलियम पदार्थ दिइनेछ,’ सम्झौतापत्रमा भनिएको छ।
 
भारतले तेल कटौती गरेपछि सरकारले चीनका लागि नेपाली राजदूत महेश मास्केको नेतृत्वमा वाणिज्य, अर्थ, परराष्ट्र, आयल निगम र गुणस्तर तथा नापतौल विभागको प्रतिनिधिलाई चीन पठाइएको थियो।  वाणिज्य सहसचिव शम्भुप्रसाद घिमिरे, अर्थका सहसचिव मधु मरासिनी, परराष्ट्रका सहसचिव झविन्द्र अर्याल, आयल निगमका कार्यकारी निर्देशक खड्का, निमित नायब कार्यकारी निर्देशक सुशील भट्टराई र नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी चीन गएका थिए।

नेपाल र चीनबीच पहिलो चरणमा सरकार-सरकारबीच सम्झौताको तयारी भएको थियो। तर दुबै देशले कम्पनी/कम्पनीबीच(बिटुबी) गर्न सहमति भएको थियो। स्रोतका अनुसार यो सहमतिपछि आयल निगम र पेट्रो चाइनावीच पेट्रोलियम पदार्थ कति परिमाणमा खरीद गर्ने बारेमा सहमति हुनेछ।
 
‘यो मास्टर सहमति हो । यसपछि दुई कम्पनीवीच आवश्यक पेट्रोलियम पदार्थको बारेमा छलफल गरेर अघि बढ्नेछ,’ स्रोतले भन्यो, ‘कति परिमाण कति मूल्यमा दिने बारेमा थप छलफल भएर तय हुनेछ।’

भारतले अघोषित नाकाबन्दी लगाउँदै पेट्रोलियम पदार्थको हाहाकार भएपछि नेपालले स्थायी रुपमै चीनबाट तेल ल्याउन पहल गरेको थियो। स्रोतका अनुसार यो सहमतिपछि चीनले दिने भनेको एक हजार टन(१० लाख लिटर पेट्रोल) पहिलो चरणमा नेपाल आउनेछ। भारतले पटक/पटक आफ्नो स्वार्थ पूरा गर्न पेट्रोलियम पदार्थ रोकेर नेपाललाई घुँडा टेकाउने गरेपछि नेपालले चीनबाट तेल ल्याउने स्थायी सम्झौता गरेको हो।

०४५ सालमा समेत नाकाबन्दी गरेर तेल आपूर्ति रोकेपछि नेपालले तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ ल्याएको थियो । त्यो समयमा १३ महिना लगाएको नाकाबन्दीमा चीनबाट केही परिमाणमा तेल आएपनि दीर्घकालिन रुपमा तेल ल्याउने सम्झौंता हुन सकेको थिएन। 

चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सहज नभएपछि स्थायी रुपमा केही परिमाण ल्याउनुपर्ने पक्षमा आयल निगमका अधिकारीहरु समेत थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell