PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सिस्नुपानीको देउसी दनक



सिस्नुपानीको देउसी दनक

काठमाडौं : आफूलाई सम्बोधन गर्दा कार्यक्रम उद्घोषकले 'संविधानसभाका स्थायी अध्यक्ष' भनेर पटकपटक व्यंग्य  गरेपछि मन्तव्यका क्रममा सुवासचन्द्र नेम्वाङले भन्दै थिए, 'सिस्नुपानी हानेर प्रतिक्रिया दिनुस् भन्ने यो तरिका मलाई मन पर्‍यो।'

हाँस्यव्यंग्य समूह सिस्नुपानी नेपालले तिहारको अवसर पारेर बुधवार संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, विभिन्न दलका नेतादेखि मुख्य सचिवसम्मलाई प्रज्ञाप्रतिष्ठानमा निम्त्याएको थियो- देउसीमार्फत सिस्नुपानीको झटारो हान्न।

नेता, सभासद, मन्त्री, कर्मचारी सबैलाई देउसीको सिस्नुपानी लगाएपछि उसले प्रतिक्रिया दिन सभाध्यक्ष नेम्वाङसहित एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपाध्यक्ष रामचन्द्र पौडेललाई निम्त्याएको थियो।  

हेर्नुस् भिडियो- 


घैंटामा सबको– घाम लागोस्
देश फड्को मार्न– काम लागोस्
भनभन भाइ हो– के भन्ने
संविधान छिटो– ले भन्ने।

समयमा संविधान निर्माणको माग गर्दै सुरु भएको देउसीमा फेरि पनि संविधान निर्माणको काम असफल हुने चिन्ता थियो। संविधान देऊ भन्दै सिस्नुपानीले व्यङ्ग्य गर्न थालेको पनि चार वर्ष नाघिसकेको छ।
 
नयाँ संविधानको मिति अझै पर सर्ने भो
त्यही भएर हाम्ले देउसी खेल्नै पर्ने भो।
दलको मेम्बर भइएन प्राज्ञ स्राज्ञ पाइएन
देउसी खेल्न यहीँ आइयो अन्त गइएन
बाढीले नि छेकेन पैरोले नि देखेन
बाटो खुल्लै पाइयो जिउँदै आइयो।


संविधान बनाउन त कहाँ हो कहाँ दोश्रोपटक समय पाउँदा पनि संविधानका विवाद टुंग्याउन पनि असफल बनेका नेताहरुलाई अनेक विम्ब प्रयोग गरेर कलाकारहरुले सिस्नुपानी लगाएका थिए।

बुद्धि विवेक मरेका, मट्टितेल डिजेल भरेका
नेता हाम्रा कस्ता छन् ग्यालेन जस्ता छन्
छिमेकीका मोदी हिँड्दा संसार नै हल्लिन्छन्
हाम्रा कोदे हिँड्दा खेरी आफैं हल्लिन्छन्।

संविधान बनाउनलाई दिए मन्त्र ऋषि मन
हाम्रा लाल बुझक्कडले बुझे शिशि मन

फोहोर सिध्याउन मोदीले हातमा झाडु बोकेका
देश रित्याउन हाम्राले डाडु बोकेका।

अरु देशका प्रधानमन्त्री आफ्नो देश बनाउने
हाम्रा देशका प्रधानमन्त्री लुतो कनाउने

गरिब प्रधानमन्त्रीलाई कसले यस्तो गरायो
भान्साबाटै जाबो बाह्र लाख हरायो


देउसीमा प्रधानमन्त्रीलाई मात्र झटारो हानिएको थिएन, सबै दलका शीर्ष नेताहरु वृद्ध रहेको र युवाशक्ति आउन नपाएकोमाथि पनि व्यंग्य गरिएको थियो।

सिंहदरबार कपालमा कस्तो जुम्रो परेछ
प्रधानमन्त्री छानेको त झुम्रो परेछ

देखिहाल्यो युवा शक्ति राजनीतिमा उक्लेका
शीर्षासनमा बस्ने सबै दाँत फुक्लेका।

न्यायाधीश सिफारिस गर्दा संसदीय सुनुवाइको नाटक गरिएको, अनेक आरोपहरु लगाइएको तर अन्त्यमा उनीहरुलाई नै सिफारिस गरिएकोप्रति यस्तो व्यंग्य गरिएको थियो।  

घिउबेचुवा र तरवार बेचुवा एकै ठाउँ पसेछन्
संसदीय सुनुवाइको नाटक रचेछन्

गाली गरे साली गरे भन्ने बेला भने इस्
न्यायाधीशमा तिनैलाई गरे सिफारिस

एकातिर न्याय छ अर्कातिर मूर्ति छ
बिचौलिया ज्यूहरूको बेग्लै फूर्ति छ।

ऊ बेला र यति बेलाको संसदको तुलना पनि अत्यन्त रोचक थियो।

कुनै बेला हाम्रो – देशैमा
किनिने बेचिने – केसैमा
बेला बेला सांसद – हराउँथे
हङकङमा पुगेर – कराउँथे
डिस्कोमा नाचेर – रमाउँथे
बारुले कम्मर – समाउँथे
तस्करले तिनलाई – चराउँथे
नोटले उठबस – गराउँथे
लुटेका गाडी – गुडाउँथे
अर्काकी श्रीमती – उडाउँथे
अहिले त सांसद – धनी छन्
खल्तीमा टन्न – मनी छन्
बिहानै पार्टीमा – छिरेर
दिउँसो बिल्ला – भिरेर
२/४ करोड – तिरेर
सभासद भई – फिरेर
संविधान बनाउँछु – भन्दैछन्
लगानीको साउँ ब्याज – गन्दैछन्
यस्ताले सम्विधान –ल्याउलान् त?
दुनियाँमा साँढे – ब्याउलान् त?

कलाकारले साँढे ब्याउलान् त भन्ने प्रश्न गरेपछि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले कार्यक्रममा उपस्थित दर्शकलाई आश्वास्त गरे, 'तपाईँहरुकै भाषामा यसपटक साँढे ब्याउँछ।'

बाबुराम भट्टराईको तेश्रो शक्तिबारेः

न त बाधा राजा छ न त बाधा हतियार
सहमति किन हुन्न को हो मतियार?
नगदरामका अगाडि जनवाद जिल्लाराम
बाबुरामको नयाँ शक्ति भयो ठण्डाराम

मोहन बैद्य र मधेसकेन्द्रित दलबारेः

बिच्किएका बैद्यले गोलमेच सभा मागेछन्
गरौँ न त भन्दा खेरि आफैँ भागेछन्
मधेसवादी दल हो के हो तिम्रो गन्तव्य
सुन्यौ होला राम्रैसँग मोदी मन्तव्य

कमल थापा, राजामोह र गणेश थापाबारेः

राजावादी भक्त हो भजन छोड राजाको
देख्यौ होला तिम्रो राजा पोको गाँजाको
छोटे राजा फुटवलको भ्रष्टाचारमा फसेको
कार्वाहीबाट जोगिनलाई संसद पसेको

नेकपा एमालेबारेः

एमालेलाई धेरै वर्ष हाँके नली हुक्काले
अध्यक्ष पद पड्कायो उखान टुक्काले
कोइले धन कमाए कोहीले डन बडाए
पक्कै मन्त्री भइन्छ है केपी समाए।

केपी ओली निकट भनिएका युवा नेता महेश बस्नेत मन्त्री भएकोबारे व्यंग्य गर्दा नेता ओली हाँसीहाँसी सुनिरहेका थिए। मन्तव्यका क्रममा ओलीले भने, 'प्रहार हुनुपर्ने ठाउँमा भएको छ।' उद्घोषकले उनलाई पटकपटक 'नेपाली उखानटुक्काका नायक' भन्दा ओली मुस्कुराइरहेका थिए।

गृहमन्त्री बामदेव गौतमले ट्राफिक नियम मिचेर बाटो कटेको बारे कलाकारले यस्तो व्यंग्य गरेका थिए।

बामदेवले डिभाइडरमा ट्रिपलजम्म हानेछन्
चुँडिएछ इँजार हत्तपत्त बानेछन्।

खानेपानी संस्थानः
फुस्स फुस्स हावा हान्छ खाने पानी धाराले
बन्छ बन्छ नयाँ नेपाल यस्तै पाराले।
 शिक्षाः
ठूलो बजेट शिक्षाको बगिराछ खोलामा
मास्टर जति पार्टीमा स्कूल झोलामा।

अख्तियारः 
यो देशको बजेट घुस्याहाको गोजीमा
घुस्याहाकी बुढी लागिन् बुढो खोजीमा
पिलन्धरे पियनहरू अख्तियारमा धाउँदैछन्
ठूला भ्रष्ट झण्डा हल्लाइ हल्लाइ आउँदैछन्।
बढाऊ बढाऊ तस्कर हो महँगी बढाई के हुन्छ
जति सक्छौ जनतालाई दुःख दे हुन्छ

व्यापारी र बजारअनुगमनबारेः

हजार पर्सेन्ट बढाएर पन्ध्र पर्सेन्ट छुट दिन्छन्
अनुगमन गर्नेलाई थुनी कुट् दिन्छन्
विशाल बजार पसलमा अनुगमन पसेछ
व्यापारीले घोक्रयाएछन् थला बसेछ।

कृषिबारेः
विषादिले कृषि बजार हसहसी गनाउने
घिरौँलालाई सुइ हाली लौको बनाउने
सुपथ मूल्य पसलमा सस्तो किन्न पाइन्छ
काँ छ पसल भनी खोज्न गुगल चाहिन्छ।
कुनै पार्टी आइँ गर्ने कुनै पार्टी दाइँ गर्ने
महँगीको तातो तेलमा जन्ता झ्वाइँ गर्ने
रमेश खरेललाई सरुवा गर्ने गृहमन्त्री बामदेव गौतमलाई यस्तो व्यंग्य थियोः
दुई चारजना रमेश खरेल भेटिन्छन् नि भेट्नलाई
पछि पछि गृहमन्त्री पाइला मेट्नलाई।

मुख्य सचिवलाई व्यंग्यः
मुख्य सचिव लीलामणि वागमतीमा पसेका
कमाई गर्न छाडी फोहर फाल्न कस्सेका।
डिभी पार्दै कर्मचारी विदेशमा थुप्रिने
लालबाबु बबुरा एक्लै उफ्रिने
 
नेताहरुलाई प्रश्न संविधान खोइ?
सुशील कोइराला – संविधान खोई ?
शेरबहादुर देउवा – संविधान खोई ?
रामचन्द्र पौडेल – संविधान खोई ?
केपी ओली  – संविधान खोई ?
माधव नेपाल– संविधान खोई ?
झलनाथ खनाल– संविधान खोई ?
पुष्पकमल दाहाल– संविधान खोई ?
मोहन वैद्य     – संविधान खोई ?
बाबुराम भट्टराई– संविधान खोई ?
बिजय गच्छेदार– संविधान खोई ?
चित्र बहादुर केसी– संविधान खोई ?
महन्थ ठाकुर– संविधान खोई ?
उपेन्द्र यादव– संविधान खोई ?
नारायण विजुक्छे – संविधान खोई ?
सुवास नेम्वाङ – संविधान खोई ?
रामवरण यादव– संविधान खोई ?

अन्त्यमा कलाकारले यस्तो आशिष दिएः

पानीमा पहेलो– तर् नहोस्
खोलाका तिरमा –घर नहोस्
कवाडी पिलेन –नउडून्
भीरमा गाडी – नगुडून्
खेतमा जहाज –नझरोस्
यतातिर इबोला –नसरोस्
धारो खोल्दा – पानी होस्
आयकर तिर्ने – बानी होस्
कालो सूचिमा – नाम नहोस्
खल्तीमा घुस खाको – दाम नहोस्
भकारी जत्रो –  पेट नहोस्
डनगुण्डा सँग –  भेट नहोस्
बालबच्चा अपहरण –   नहोउन्
लुटेराले ज्यानमा –   नछोउन्
फुर्सद नहोस् –  हतारो होस्
भान्सामा दहीको –  कतारो होस्
कालोमा छुँदा –  कलर होस्
रुपियाँ छुँदा –  डलर होस्
आमाभन्दा छोरी –  जान्ने होस्
भ्रष्टलाई थाममा –  बान्ने होस्
फेसबुकमा छोरी – नटाँस्योस्
कुलतमा छोरो – नगाँस्योस
ज्वाइँले दाइजो –  नमागुन्
बुहारीले तेक्वान्दो –   नहानुन्
चोरलाई खेद्ने –  लाठी होस्
घरकी जहान –  बाठी होस्
डोजरले ढोकामा – नहानोस्
अख्तियारले फाइल – नतानोस्
बेपत्ता सबै – भेटियुन्
दुखका घाउ – मेटियुन्
कछुवाको जस्तो – चाल नहोस्
सुनकोशी जस्तो –‍ ताल नहोस्
सम्विधान छिटो – लेखियोस्
उज्यालो नेपाल – देखियोस्
रसिलो पोसिलो –  खान्की होस्
स्याउको जस्तो –  बान्की होस्
महंगीमा पाहुना –  नआओस्
आए पनि कुकुरले –  भगाओस्
यहाँ आउन काललाई –  भय होस्
घरबेटीज्यूको –   जय होस्।

सयौं थुँगा फूलका हामी एउटै माला नेपाली
माला चुडाउनेका गाला चड्काऊ नेपाली।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell