PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​सिरहामा आजदेखि फेरि निषेधाज्ञा



लहान : जिल्ला प्रशासन कार्यालय सिरहाले आज राति ९ बजेदेखि लागू हुनेगरी जिल्लाको पूर्व–पश्चिम सडकको दायाँबायाँ ५०० मिटर क्षेत्रमा फेरि निषेधाज्ञा लगाएको छ । 

जिल्ला प्रशासन कार्यालयले आज साँझ सार्वजनिक सूचना जारी गर्दै चाडपर्वलाई मध्यनजर गर्दै कात्तिक २ गतेदेखि हटाएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि पुनः लगाइएको जनाएको छ । 

सूचनामा राति ९ बजेदेखि बिहान ७ बजे सम्म लगाइएको निषेधाज्ञाको अवधिमा निषेधित क्षेत्रमा सभा, जुलुस, धर्नालगायत कुनै किसिमको अवरोधको कार्यक्रम गर्न नपाइने जनाइएको छ । 

सङ्घीयताको सीमाङ्कन र संविधानको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा पछिल्लो दुई महिनाभन्दा बढी लामो आन्दोलन दसैँपर्व सुरु भएलगत्तै केही मत्थर भएपछि स्थानीय प्रशासनले भदौ २३ गतेदेखि लगाएको निषेधाज्ञा कात्तिक २ गते हटाएको थियो। 

मोर्चाले फेरि शुक्रबारदेखि सिरहाको लहान, गोलबजार, मिर्चैया, सिरहा सदरमुकामलगायतका ठाउँमा बजार पसल बन्द गराउनुका साथै शनिबारदेखि मोटरसाइकलसमेत चल्न रोक लगाएपछि आन्दोलनलाई हिंसात्मक बन्न नदिन स्थानीय प्रशासनले राति ९ बजेदेखि बिहान ७ बजेसम्मका लागि फेरि निषेधाज्ञा लगाएको सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकले बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell