PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

ग्राउन्ड जिरो सिरहा : 'हामी पहाडी नेतालाई जिताउँछौं, के रुकुमबाट मधेसी नेता जित्छ?'



ग्राउन्ड जिरो सिरहा : 'हामी पहाडी नेतालाई जिताउँछौं, के रुकुमबाट मधेसी नेता जित्छ?'

  • ऋषिकेश दाहाल/पहिलोपोस्ट-
सिरहा : 'हामीले प्रचण्डलाई मधेसबाट जितायौं, के कुनै मधेसीलाई रुकुमबाट जिताउन सक्नुहुन्छ ?,' किशोरी यादवले प्रश्नको उत्तर पत्रकारले दिनसक्ने कुरा थिएन। मधेसबाट एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका माधवकुमार नेपालले चुनाव जित्दै आएका छन्। तर, कुनै मधेसी नेताले पहाडी भेगबाट चुनाव किन जित्न सक्दैन या जित्ने हिम्मतले उम्मेदवारी दिँदैन? राजनीतिशास्त्र र समाजशास्त्रका विद्वानले तर्कसहित यसको उत्तर दिन सक्लान। यति चाहि सत्य हो कि मधेसले चुनावमा पहाडे नेतालाई विश्वास गर्दै आएको छ।

'२०२८ सालमा आन्दोलनमा सरिक भएँ। २०३६ सालमा नेतृत्व नै गरेँ आन्दोलनको। कहिल्यै पहाडे र मधेसीको फिलिङ भएन,' संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष किशोरी यादवले दुखेसो पोख्दै भने, 'अहिले आएर हामीमाथि अनेकखाले लान्छना लगाइँदैछ।'

राजधानीमा सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच वार्ताका लागि 'वार्म अप' चलिरहँदा मध्य मधेसमा भने दसैं र आन्दोलन समानान्तर रुपमा चलिरहेको छ। मधेसका नेपालीलाई भारतीय नागरिकको दर्जा मिलिरहेको छ सामाजिक सञ्जालमा तर मधेसको समाजमा मधेसी र पहाडीयाबीच कुनै भेद छैन। यहाँको समाज असामाजिक बनिसकेको छैन। तर यहीक्रम रहने हो भने सामाजिक सञ्जालको शैली यहाँको समाजमा प्रदुषितरुपमा नफैलिएला भन्न सकिन्न।

आन्दोलनमा रहेकाहरु अरु राजनीतिक उद्देश्यभन्दा पनि सामाजिक विभेदमाथि प्रश्न उठाइरहेका छन्। 'अनुहार र पोशाक हेरेर व्यवहार भएपछि यस्तो स्थिति पैदा भएको हो,' विद्यार्थी दिनेश यादवले समस्याको गाँठो फुकाउँदै भने, 'नयाँ संविधान बन्नुको कारण विभेद अन्त्य नै हुनुपर्थ्यो। अन्तरिम संविधानले दिएजति अधिकारसमेत यसमा नसमेटिएकाले आन्दोलन जारी छ।'

त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यपकबाट अवकाश लिएपछि विन्देश्वर गोइत मधेस आन्दोलनसँग जोडिएका छन्। ५० वर्ष काठमाडौं बसेका उनी मधेस फर्केको दुई महिना पुग्दैछ। 'अस्कलमा बीएस्सी पढ्दा नेपाली पहिचान पाउन मैले पनि ढाकाको टोपी लगाउँथे,' गोइतले भने, 'तर जति गरे पनि पहिलो दर्जाको बन्न सकिएन।' गोइतको काठमाडौंमा घर पनि छ। जीवनको सबैभन्दा ठूलो हिस्सा उनले यही बिताए। तर पनि काठमाडौंले उनलाई सन्तोष दिएन। भन्छन्, 'धेरै आन्दोलनहरु देखेँ तर यति उत्साह कहिल्यै देखेको थिइन्। त्यसैले ६५ वर्षको उमेरमा युवा बनेर मधेस आएको छु।' यहाँ आन्दोलनमा रहेका कुनै पनि दलसँग गोइतको राजनीतिक नाता छैन।

यहीँ भेटिएका विशेश्वर यादव पनि कुनै राजनीतिक दलसँग जोडिएका छैनन् तर आन्दोलनसँग जोडिएका छन्। 'यो आन्दोलनको भावना जति मजदूर र किसानमा छ त्यति नेतासँग पनि नहोला,' उनले भने, 'त्यसैले पनि यहाँको आन्दोलनमा पहाडी-मधेसी जिन्दावादका नारा लाग्छन्।'
आन्दोलनमा युवाहरु छन् तर उनीहरुमा विखण्डनको भावना नभएको दावी गर्छन् दिनेश। भन्छन्, 'यहाँका युवाहरु कोही पनि सिके राउतको पक्षमा छैनन्। तर आन्दोलनका लागि जुटेका छन्।'

मधेस आन्दोलन कहाँ पुगेर टुङ्गिन्छ भन्ने यहाँका कसैलाई पनि अन्दाज छैन। आन्दोलन असफल हुने पनि उत्तिकै सम्भावना छ। मध्य मधेसका जिल्लाहरुमा आफ्नै दलका नेताको पुत्ला दहन गर्नेहरु पनि छन्। 'आन्दोलन अहिले नै वारपार हुनुपर्छ। भएन भने फेरिफेरि यो मुद्दा उठिरहन्छन,' गोइतले भने, 'राणाकालदेखि नै हामीलाई मधेसी र धोती भनिँदै आइयो। अहिले हामीले त्यही मधेसी पहिचान त खोजेका हौं जुन शासकहरुले नै हामीलाई दिएको पहिचान हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell