PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

ग्राउन्ड जिरो माडर : सानो नाका, ठूलो राजनीतिक महत्व



ग्राउन्ड जिरो माडर : सानो नाका, ठूलो राजनीतिक महत्व

  • ऋषिकेश दाहाल/पहिलोपोस्ट -
माडर : आउँदो पाँच दिनका लागि खाना खुवाउने र पालो कुर्नेको तय भइसकेको थियो माडर नाकामा। भारतसँग जोडिएका सानो नाका भए पनि राजनीतिक हिसाबले महत्वपूर्ण मानिन्छ सिराहको माडर। 'दसैंमा मन्दिरमा जसरी पुजाका लागि मानिसहरु पालैपालो जिम्मेबारी लिन्छन्, यहाँ अहिले त्यस्तै स्थिति छ,' संघीय समाजवादी फोरमका केन्द्रीय उपाध्यक्ष विजय यादवले सुनाए, 'मानिसहरु पालो कुरेर बसेका छन्।'

सिराहको यो नाका निक्कै सानो हो। महिनाको १० देखि १५ लाखमात्रै राजश्व संकलन गर्ने भएकाले भारततिरबाट यो नाका छिर्ने बाटो साह्रो असजिलो छ। भत्किएको र मर्मत अलपत्रै छाडिएको बाटो पार हुँदै साँझ ७:३० बजे भारतको सीतामणिबाट शारदा व्यारेजबाट माडर पुग्दा आन्दोलनकारीको सीमामा बाक्लो उपस्थिति देखियो। खाना पकाउनेहरु 'भान्सा'मा तल्लिन थिए।

नाका बन्दको तगारो राखेर बसेका आन्दोलनकारीमा युवाहरुको संख्या बलियो छ। 'आन्दोलनको पीडा त यहाँका मानिसले पनि भोगेका छन्,' यादवले भने, 'तर तिनै जनताले आन्दोलन नछाड्ने चेतावनी दिइरहेका छन्। किनकि आन्दोलन जनजनमा गइसकेको छ।'

७० प्रतिशत आयातको द्वार वीरगञ्जस्तो आर्थिक प्रभाव माडरले पार्दैन। वीरगञ्जबाट डाइभर्ट गरेर यो नाकाबाट ठूला गाडी भित्र्याउन पनि सहज छैन। राजश्व संकलनका आधारमा पनि राज्यको नजरमा यो नाकालाई नजरअन्दाज नै गरिएको छ। तर पनि नाकाबन्दी कायमै छ। आर्थिक रुपमा प्रभाव नपारे पनि माडरको नाकाबन्दीले राजनीतिक महत्व बोकेको छ।

यहाँका आन्दोलनकारीले जिल्लाका बित्तीय संस्थाहरुलाई पत्राचार गरेर आन्दोलनको समयको ऋण मिनाह गर्न भनिसकेका छन्। व्यवसायीहरु यसैकारण नाकाबन्दीको पक्षमा उभिएका छन्। सिराहमा पहाडे मुलका मानिसको उपस्थिति उल्लेख्य छ। उनीहरु 'आन्दोलनका लागि हामी के गर्न सक्छौं' भनेर सोधिरहेका छन्।

काठमाडौंले मधेसीको आन्दोलन देखे पनि यहाँ आन्दोलनले कुनै जाति विशेषलाई प्रतिनिधित्व गरेको छैन।

संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य मोहम्मद खालिद सिद्धकी भन्छन्, 'आन्दोलनमा अनएक्सपेक्टेड सहभागिता छ। कसैसँग एक 
पैसा चन्दा लिएका छैनौं।' आन्दोलनमा मानिसहरु यसरी सक्रिय भएका छन् कि सिद्धकीकै भाषामा आन्दोलन अर्को एक वर्ष चल्ने हो भने पनि मेस चलिरहन्छ। यहाँको मेसमा दैनिक ३ सय मानिसको भोजन तयार हुने गर्छ। 'दाल चामलको स्टोर नै हेर्नुस् न,' सिद्धकीले देखाए, 'यी सबै पालो पर्नेले ल्याएर जम्मा भएका हुन्।'

मधेसमा जारी आन्दोलन नेपालको मौलिक आन्दोलन मान्छन् उनी। 'भारत हाम्रो हुन सक्दैन, चीनतिर त झन कुनै आधारै छैन,' मुस्लिम धर्मगुरु सिद्धिकीले सुनाए, 'हामी नेपाली मुस्लिम हौं। राज्यले जोगाएर राखेको मुस्लिम। यो आन्दोलन हाम्रो हो।'

मधेस आन्दोलनलाई साम्प्रदायिक र सीमापारबाट चलाइएको भन्दा उनको चित्त दुखेको छ। कुनै समय नेपाली कांग्रेसको राजनीतिमा रहेका सिद्धिकीले मदरसालाई आधुनिक शिक्षामा जोड्ने सबैभन्दा ठूलो भूमिका निर्वाह गरेका थिए। गत वैशाख १२ गतेको भूकम्पपछि राहत वितरणमा मुस्लिम समुदायबाट नेतृत्व गरेर भूकम्प प्रभावित क्षेत्रमा आफैँ जुटेका थिए। त्यसैले उनले नेतृत्व गरेको आन्दोलनमा यहाँका पहाडे समुदायका मानिसहरु सहभागी हुने गर्छन्।

'हामी नेपालीलाई दुत्कारेर राज्यले सिके राउत जन्माउन खोजिरहेको छ,' उनले सुनाए।

यतिखेर मधेस झुक्ने मुडमा छैन। राज्य पनि उस्तै मुढी स्वरुपमा बसेको छ। सीमामा नाचगान गर्दै अवरुद्ध गर्नेहरु यथावत छन्। दसैंलाई आन्दोलनकारीले आन्दोलनकै पर्वका रुपमा व्याख्या गरिसकेका छन्। माडरको दैनिकी यसैगरी चल्ने संकेत देखिएको छ। अर्थत् मधेस आन्दोलन यत्तिकै सकिने 'मुड'मा छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell