PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​मानवअधिकारवादी संस्थाको प्रतिवेदनका ८ घटना : लुकेको ठाउँबाट निकालेर टाउकोमा गोली हानी मारियो



​मानवअधिकारवादी संस्थाको प्रतिवेदनका ८ घटना : लुकेको ठाउँबाट निकालेर टाउकोमा गोली हानी मारियो

काठमाडौँ : ह्युमन राइट्स वाचले नेपालको तराई क्षेत्रमा भएका प्रदर्शनहरुमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा उल्लेख भएका ८ दर्दनाक घटना यस्ता छन्-

१) घरभित्र गएर गोली हानियो

प्रतिवेदनमा सेप्टेम्बर ११, २०१५ का दिन जनकपुरको मिल्स एरियामा प्रहरीले प्रदर्शनकारीहरुलाई बस्तीतिर लखेट्दै गर्दा एक जना मानिसको घरभित्र समेत गएर गोली हानेको उल्लेख छ। प्रहरीले मुख छाड्दै गोली हानेको त्यसमा उल्लेख छ।

२) लुकेर बसेकालाई निकालेर टाउकोमा गोली

१४ वर्षका प्रदर्शनकारी नितु यादव प्रहरीबाट लुक्न झाडीतिर गए पनि त्यहाँबाट तानेर जमिनमा पछारी प्वाइन्ट ब्ल्याङ्क रेन्जमा टाउकोमा गोली हानियो। प्रतिवेदनमा यो बयानलाई चार प्रत्यक्षदर्शी र डाक्टरले पुष्टि गरेको भनिएको छ। नजिकै लुकेका अर्का प्रदर्शनकारी सन्जय चौधरी भाग्ने क्रममा पछाडि गोली हानिएको थियो। पछि उनको मृत्यु अस्पतालमा भएको थियो।

३) घाइतेलाई पानी दिँदा गोली

प्रतिवेदनमा उल्लेख गरिएको अर्को घटना १२ वर्षीय विकास यादवको छ। जनकपुरमा उनले एक घाइतेलाई पानी दिन खोज्दा गोली लागि घाइते भएको उल्लेख छ।

४) साइकल चढेर गइरहेकाहरुलाई गोली

बारामा मारिएका २५ वर्षीय दीनानाथ साह कर्ण र जयप्रकाश साह कर्ण प्रत्यक्षदर्शीका अनुसार ढुङ्गा हान्नेहरु थिएनन्। उनीहरु साइबलमा थिए। पछाडिबाट आएको गोली उनीहरुलाई लाग्यो। सबै घरभित्र थिए। एम्बुलेन्स ३०/४० मिनेटपछि मात्र आयो, त्यतिन्जेल उनीहरु त्यहीँ लडेको अवस्थामा रहे। सिडिओले भने उनीहरुलाई कर्फ्यु क्षेत्रमा पस्दै गर्दा गोली लागेको बताए।

५) घाइतेलाई छातीमा गोली

बारा सदरमुकाम कलैयामा गोली लागी ढलेका हिफाजत मियालाई एक सिनियर अफिसरले जुनियरसँगको हतियार लिए छातीमा गोली हानेका थिए। यो आरोपलाई नजिकैको घरको झ्यालबाट खिचिएको भिडियोले पुष्टि गरेको प्रतिवेदनमा उल्लेख छ।  

६) ट्युसन पढेर फर्किरहेका किशोरलाई गोली

जलेश्वरमा प्रहरीले न्यायाधीशको निवासमा आक्रमण हुँदा गोली चलाएको भन्ने समाचार मिडियामा बएको थियो। घटनामा मारिनेमा माध्यमिक विद्यालयका विद्यार्थी १७ वर्षीय रोहण चौधरी छन् जो प्राइभेट ट्युसन क्लासबाट फर्कँदै थिए। उनले स्कूलको किताबसहितको ब्याग बोकेका थिए।

७) रोहणका हजुरबालाई पनि गोली

उनै रोहणको किरियाका लागि सामान किनेर फर्किरहेका ७१ वर्षीय हजुरबा गणेश चौधरीलाई सशस्त्र प्रहरीले चलाएको गोली लाग्यो। साइकल चलाइरहेका चौधरीलाई गोली उनको बायाँ आँखाबाट पसेर टाउको पछाडिबाट निस्केको थियो।

८) राप्रपा नेपालकी नेतृको मृत्यु

राजावादी राप्रपा नेपालकी ४१ वर्षीया नेतृ  वर्षाबाट जोगिन जुली ब्युटी पार्लरमा ओत लागेकी थिइन्। त्यहीँ बसेर उनी प्रहरी र प्रदर्शनकारीको भिडन्त हेर्दै थिइन्। जलेश्वर मन्दिरबाट २९ मिटर टाढा उनी बसेको ठाउँमा गोली चल्यो। अस्पतालका डाक्टरका अनुसार उनको मृत्यु दुई आँखाको बीचमा लागेको एउटा गोलीबाट भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell