PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​प्रधानमन्त्री ओलीको संसद सम्बोधनका ११ खास कुरा



​प्रधानमन्त्री ओलीको संसद सम्बोधनका ११ खास कुरा

  • पहिलोपोस्ट-
काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले बिहीबार संसदमा सम्बोधन गर्दै भारतले नेपालमा अघोषित नाकाबन्दी गरिरहेको बताएका छन्। प्रधानमन्त्रीको रुपमा संसदमा झण्डै आधा घण्टा सम्बोधन गरेका ओलीले आन्दोलनरत मधेशकेन्द्रित दलहरुलाई वार्ताका लागि समेत आह्वान गरे। पढ्नुस् प्रधानमन्त्रीको सम्बोधनका १० महत्त्वपूर्ण विषय
 

१) जनताले भोग्नुपरेको पीडाप्रति गम्भीर छु

प्रधानमन्त्री ओलीले तराई–मधेसमा जारी असहज अवस्था, बन्द–हडताल र सर्वसाधारण नागरिकहरूले भोग्नुपरेको पीडाप्रति आफू गंभीर र संवेदनशील रहेको बताए। उनले आन्दोलनमा ज्यान गुमाउने सुरक्षाकर्मी र नागरिकहरुलाई श्रद्धाञ्जली दिए। तर उनले अर्थतन्त्र नै धरासायी हुने किसिमका क्रियाकपाल गर्न नहुने बताए।

'संविधान निर्माणको क्रममा आफ्ना अधिकतम् मागहरू समेटियुन् भनेर प्रयत्न हुनु र त्यसलाई शान्तिपूर्ण किसिमले प्रकट गर्नु स्वाभाविकै भएपनि जननिर्वाचित संविधानसभाले लोकतान्त्रिक विधिका साथ निर्मित संविधानको अवमूल्यन गर्नु उचित हुँदैन। देशले विगतमा झेल्नुपरेको अस्थीर राजनीति, आर्थिक दुरावस्था र अनिश्चयलाई विर्से झैं गरी देशको अर्थतन्त्र नै धरासायी हुने किसिमका क्रियाकलाप हुनु उचित होइन।'

२) मधेशीलाइ वार्तामा आउन अपिल

प्रधानमन्त्री ओलीले सर्वसम्मतिको खोजीमा अनन्त समय खर्चिंदा संविधान निर्माणको जनचाहना नै अधुरो रहने यथार्थबोध गरेर अत्यधिक सभासद्हरूको सहभागिता र सहमतिमा संविधान जारी गरिएको उल्लेख गरे। साथै उचित, जायज र तर्कसङ्गत बिषयहरूलाई संविधान संशोधनका माध्यमबाट संवोधन गर्न सकिने बताए।

'आन्दोलन स्थगित गरी वार्तामा आउन, संवादको माध्यमबाट सार्थक परिणाममा पुग्न र जनजीवनलाई सहज बनाउन आन्दोलनरत पक्षलाई आह्वान गर्दछु। प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सहभागी भई संविधानको कार्यान्वयनमा योगदान पुर्‍यउनु भएकोमा आन्दोलनरत दलका नेता एवं माननीय सदस्यहरुलाई धन्यवाद दिनचाहन्छु', ओलीले भने।   
 

३) स्थानीय निर्वाचन गरिनेछ

ओलीले नयाँ संविधान अनुरुपको संस्था र संरचना निर्माण अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताए। 'रुपान्तरणको मार्गमा रहेका संस्थागत र संरचनागत व्यवधानहरुलाई हटाउँदै राज्यको पुनःसंरचनाको काम अघि बढाइने छ', ओलीले भने, 'लामो समयसम्म हुननसकेको स्थानीय तहको निर्वाचन गरिने छ। सरकारले संविधान अनुरुप राजनीतिक र प्रशासनिक संरचना निर्माण गर्दै जानेछ। प्रदेशहरुको व्यवस्थापन तथा संविधान बमोजिम गरिनुपर्ने जनप्रतिनिधि संस्थाको निर्वाचनका निम्ति कानूनी लगायतका आवश्यक प्रबन्ध गरिने छ।'

४) स्वाभिमान उँचो पार्ने, राजनीतिक समझदारी कायम गर्ने

नयाँ बानेश्वरस्थित संसद भवनमा ओलीले राजनीतिक समझदारीका आधारमा वृहतर राष्ट्रिय एकतामा जोड दिए। उनले उद्योग विकासदेखि असमानता न्यून बनाउने अनि राज्यको सेवा प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। 'सबै दलहरूबीच राजनीतिक समझदारीको आधारमा वृहत्तर राष्ट्रिय एकता कायम गरी नेपालको स्वाभिमान उँचो पार्ने र नेपाली जनताका अपेक्षाहरु पूरा गर्दै जाने दिशामा मेरा प्रयासहरू केन्द्रित हुनेछन्', ओलीले भने।

५) अघोषित नाकाबन्दी र इन्धन लगायतका आपूर्तिमा सचेत

प्रधानमन्त्री ओलीले संसदमा भारतको नाम त लिएनन्। तर उनले अघोषित नाकाबन्दी गरेको बताए। सुशील कोइराला सरकारले सीमामा देखिएको अवरोध बताउँदै आएको थियो तर ओलीले अघोषित नाकाबन्दी भनेका हुन्।

‘संविधानको घोषणा पश्चात् भारतसँगको सीमा क्षेत्रमा उत्पन्न असहज परिस्थिति, अघोषित नाकाबन्दी र इन्धन लगायत अत्यावश्यक बस्तुहरूको आपूर्तिमा देखिएको व्यवधानप्रति हामी गम्भीर छौं’ प्रधानमन्त्री ओलीले भने ‘निर्वाध पारवहन सुविधा भूपरिवेष्ठित राष्ट्रको नैसर्गिक हक र विभिन्न अन्तर्राष्ट्रिय अनुबन्धद्वारा प्रत्याभूत अधिकार पनि हो। यो सुविधा र द्विपक्षीय व्यापार सम्झौता अनुरुप वस्तुहरूको सहज निकासी पैठारीमा कुनै अवरोध सिर्जना हुनु हुँदैन।’ भारतले नेपालमा भारत विरोधी भावना बढेको बताइरहँदा ओलीले भने चाडपर्वहरु नजिकिएको बेला सीमा क्षेत्रमा उत्पन्न असहज स्थिति र त्यसले आपूर्ति व्यवस्थामा पारेको व्यवधानले सम्पूर्ण नेपालीलाई दुःखी बनाएको बताए। उनले देशले सामना गर्नुपरेको समस्या बुझेर नेपालीले देखाएको धैर्य र सुझबुझको प्रशंसा गर्दछु।

६) इन्धन आपूर्ति सहज बनाउन राजनीतिक र कुटनीतिक पहल

प्रधानमन्त्रीले परराष्ट्रमन्त्री कमल थापा शनिबार भारत जान लागेको संसदलाइ जानकारी दिए। उनले पारवहनलाई सहज बनाउन भारतलाई आग्रह नगरी 'सम्बन्धित सबैलाई' आग्रह गर्दछु भने।

'यस असहज स्थितिको अन्त्य गरी व्यापार, पारवहनलाई सहज बनाउन सम्बन्धित सबैसँग आग्रह गर्दछु। इन्धन लगायतका अत्यावश्यक वस्तुहरुको आपूर्ति व्यवस्थामा देखिएको समस्यालाई अविलम्ब समाधान गर्न सरकारले राजनीतिक र कूटनीतिक पहल आरम्भ गरिसकेको छ', ओलीले भने।

७) भूकम्पपीडितलाई सुरक्षित आश्रय प्राथमिकता

प्रधानमन्त्रीले बेघरबार भएर कष्टकर जीवन बिताइरहनु भएका पीडितहरूलाई सुरक्षित आश्रयमा फर्काउने कामलाई मुख्य प्राथमिकतामा राखिने बताए। ‘नेपाली योजना र अन्तर्राष्ट्रिय साथ, राज्यको नेतृत्वः हरेक नागरिकको हात’ पुनर्निर्माणको मूलमन्त्र हुने उनले सुनाए।

८) ग्यास र पेट्रोलिमय अन्वेषण व्यवस्थित रुपमा अघि बढाउने

प्रधानमन्त्रीले निर्माणाधीन विद्युत आयोजनाहरु शीघ्र सम्पन्न गर्नुका साथै सौर्य उर्जा, गोवर ग्यास र जैविक इन्धन जस्ता वैकल्पिक उर्जाको प्रवद्र्धन गरिने बताए। 'ग्यास र पेट्रोलियम पदार्थको अन्वेषणको कामलाई व्यवस्थित रुपमा अघि  बढाइने छ', ओलीले भने।

९) नयाँ सरकारसँग जनताको उच्च अपेक्षा रहेको तथ्यप्रति जानकार

प्रधानमन्त्रीले जनताको सरकारसँग उच्च अपेक्षाबारे जानकार रहेको बताए। 'प्रभावकारी रुपमा भ्रष्टाचार नियन्त्रण र सुशासनको अनुभूति हुने गरी काम गरिने छ। ढिलासुस्ति हटाउने र जनताले छोटो समयमै परिवर्तन महसूश गर्ने विश्वास दिलाउन चाहन्छु', ओलीले भने।

१०) सरकार बाहिर रहेका सरकारसँग सहकार्य

सहकार्यको संस्कृतिलाई सरकार सञ्चालनको आधार बनउने ओलीले बताए। सरकार बाहिर रहेका दलहरुसँग निरन्तर राजनीतिक समझदारी कायम गर्ने स्पष्ट गरे। 'सरकारभन्दा बाहिर रहेका दलहरूसँग संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, वृहत्तर राष्ट्रिय हित तथा आर्थिक समृद्धिका लागि समझदारी निर्माणमा मेरो निरन्तर जोड रहनेछ', ओलीले भने।

११) छिमेकीसँग अहस्तक्षेपको नीतिमा आधारित मित्रतापूर्ण सम्बन्ध

ओलीले नेपालले आफ्ना छिमेकी मुलुकहरुसँग अहस्तक्षेको नीति माथि आधारित भएर मित्रतापूर्ण सम्बन्ध अगाडि बढाउन चाहेको बताए।
'हामी आफ्ना छिमेकी लगायत सबै मित्र राष्ट्रहरूसँग संयुक्त राष्ट्र संघको बडापत्र र पञ्चशीलका सिद्धान्तको आधारमा पारस्परिक समानता, लाभ र अहस्तक्षेपको नीतिमाथि आधारित भएर मित्रतापूर्ण सम्बन्ध अगाडि बढाउन चाहन्छौं', ओलीको भनाई थियो।

ओलीले आफ्नो सम्बोधनको अन्त्यमा दसैँ, तिहार, छट, न्हुदँ, ल्होसार र इदको शुभकामना समेत दिए। 

सुन्नुस् सम्बोधन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell