PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​नेपाली फुटबलमा म्याच फिक्सिङभित्रको ‘फिक्सिङ’ : पदाधिकारी छानबिनको दायरामा आउलान्?



​नेपाली फुटबलमा म्याच फिक्सिङभित्रको ‘फिक्सिङ’ : पदाधिकारी छानबिनको दायरामा आउलान्?

  • विष्णुहरि घिमिरे -  
राष्ट्रिय लिगको उपाधि कसले जित्ला भन्ने जोडघटाउ अन्तिम चरणमा पुगेको बेला नेपाली फुटबल समर्थकलाई स्तब्ध पार्ने समाचार सार्वजनिक भयो। लिग उपाधिको मुखैमा पुगेको थ्रीस्टार क्लब तथा राष्ट्रिय टिमका कप्तान सागर थापासहित पाँच जना प्रतिष्ठित खेलाडीलाई म्याच फिक्सिङको आरोपमा नेपाल प्रहरीले  पक्राउ गर्‍यो। यो घटनालाई लिएर कयौँ फुटबल समर्थकले आक्रोश व्यक्त गरेका छन् भने केहीले पत्याउनै नसकिने भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन्। तर घरेलु फुटबलमा म्याच फिक्सिङ नयाँ  घटना भने होइन।

म्याच फिक्सिङ नभएको लिग भेट्न नै मुस्किल पर्छ। पदाधिकारीहरु हाकाहाकी भन्ने गर्छन्। दशरथ रंगशालामा लिग चल्दै गर्दा गत वर्ष हामीले उसलाई छोडिदिएका थियौँ, यस पटक हामीलाई धोका दियो  भन्न पदाधिकारीहरु संकोचै मान्दैनन्। लिगमा खेल नतिजा पैँचो लगाउने प्रचलन जस्तै बन्छ। नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघका अधिकांश पदाधिकारी कुनै न कुनै क्लबसँग आवद्ध छन्।

घरेलु फुटबलमा मुख्यतया लिगको उपाधि जित्ने र रेलिगेशन समिकरणका लागि खेल छोडिदिने चलन छ। अहिलेसम्मको चर्चित खेल मिलोमतोमा अन्नपूर्ण क्लब र रानीपोखरी क्लब (आरसीटी) बीचको खेललाई लिने गरिन्छ। सो खेलमा १०१ गोल भएको थियो। चार दशक अगाडिको सो खेलमा सहभागी खेलाडी तथा पदाधिकारी अहिले कहानी सुनाउँदा गौरव अनुभव गर्छन्।

२०४६ साल यताको फुटबललाई “आधुनिक” भन्ने गरिन्छ। आधुनिक भनिएको समयमा खेल मिलेमतो झनै मौलायो। घरेलु फुटबलमा खेल मिलोमतो चरमोत्कर्षमा पुगेको २०६६ सालको शहिद स्मारक ए डिभिजन लिग हो। यसअघि पदाधिकारीले  ‘अफ दि रेकर्ड’ भन्दै खेल मिलोमतोको कहानी सुनाउने गर्थे। तर २०६६ सालमा क्लबका प्रशिक्षक र खेलाडीले एक अर्कोलाई दोषारोपण गर्दै टेलिभिजन क्यामरामा खेल मिलोमतोबारे बोलेका थिए।

२०६६/०६७ सालको ए डिभिजन लिगको पहिलो चरणको अन्तिम दिनको खेल न्यूरोड टिम एनआरटी र फ्रेण्डस क्लब बीच भएको थियो। डबल राउन्ड रोविन लिग भए पनि समय अभावका कारण भन्दै एन्फाले विन्टर च्याम्पियन (पहिलो चरणको विजेता) लाई बंगलादेशमा हुने एएफसी प्रेसिडेन्ट कप खेल्न पठाउने निर्णय गरेको थियो। एनआरटीले फ्रेण्डससँग एक अंक मात्र लिन सकेमा विन्टर च्याम्पियन हुने थियो। एनआरटी हारेमा नेपाल पुलिस क्बलले त्यो अवसर पाउने थियो।

पहिलो चरणको लिगमा फ्रेण्डस क्लब निकै लयमा थियो। त्यसअघिका १० मध्ये ६ खेलमा फ्रेण्डस क्लब विजयी भएको थियो। त्यो नतिजा दिलाउनमा उसका गोलरक्षक रुपक श्रेष्ठले जब्बर भूमिका थियो।  एनआरटीविरुद्ध पनि खेल सकिन चार मिनेट अगाडिसम्म फ्रेण्डस क्लब २-० ले अगाडि थियो। तर गोलरक्षकको चरम गल्तीका कारण अन्तिम चार मिनेटमा फ्रेण्डसले दुई गोल खायो। गोलरक्षक रुपकले आन्तरिक रुपमा खेल मिलेमतो गरेको भन्दै फ्रेण्ड्स क्लबले उनलाइ कारवाही गर्‍यो। रुपकका दाइ रञ्जित श्रेष्ठ त्यतिबेला एनआरटीबाट खेल्थे  खेल सकिन २५ सकेण्ड बाँकी छँदा रञ्जितले एनआरटीका लागि दोस्रो गोल गरेका थिए। फ्रेण्डसका प्रशिक्षक मृगेन्द्र मिश्रले आधा मिनेटभन्दा कम समय बाँकी रहेकाले बल टाढा फाल भनेर भन्दाभन्दै गोलरक्षक रञ्जितले डिबक्स नजिकै विपक्षी खेलाडीलाई बल दिएर खेल बराबरीमा ल्याउन सहयोग गरेको आरोप लगाएका थिए।

मृगेन्द्रले दाइले एएफसी प्रेसिडेन्ट कप खेल्न पाउने भएकाले भाइले खेल छोडिदिएको समेत आरोप लगाए। तर गोलरक्षक रुपकले फ्रेण्डस र एनआरटी क्लबका पदाधिकारी र प्रशिक्षक बीचमा नै खेल मिलोमतोका लागि वार्ता भएको त्यसमा विफल भए पछि आफूलाई निसाना बनाएको गुनासो पोखे। रुपकका अनुसार फ्रेण्डसका प्रशिक्षक मृगेन्द्र यस पटक आफूले तीन अंक एनआरटीलाई दिने र दोस्रो लेगमा एनआरटीले तीन अंक फ्रेण्डसलाई  दिनु पर्ने प्रस्तावसहित एनआरटी पुगेका थिए।
 
यो समाचार सार्वजनिक भएपछि अखिल नेपाल फुटबल संघ एन्फाले महेन्द्र विष्टको संयोजकत्वमा छानबिन समिति गठन गर्‍यो। त्यो छानबिन समितिले के प्रतिवेदन बुझायो अहिलेसम्म सार्वजनिक गरिएको छैन। सोही लिगको दोस्रो चरणमा हाकाहाकी खेल मिलोमतो भयो। ब्वाइज युनियनले जाउलाखेललाई ७–१ गोलले हरायो जुन नतिजा अपेक्षाकृत थिएन। यो नतिजाले मनाङ मर्स्याङदीसँग आफ्नो अन्तिम खेल खेल्नुअघि नै संकटा क्लब रेलिगेशनमा पर्‍यो। त्यसको भोलिपल्ट नै २०६७ जेठ ३१ गते भएको खेलमा अर्को अप्रत्यासित नजिता आयो। सशस्त्र प्रहरी बलले मच्छिन्द्रलाई ८–० गोल अन्तरले हरायो। यही खेलको नतिजाले सशस्त्र ए डिभिजनमा रोकियो भने अघिल्लो दिन जाउलाखेल माथि नाटकीय जित हात पारेको ब्वाइज युनियन रेलिगेसनमा पर्ने दोस्रो टिम बन्यो।

खेलमा यस्तो अस्वभाविक नतिजा आउँदा पनि खेल मिलोमतो छानबिन समिति र एन्फाले आँखा चिम्लियो। उल्टो एक खेलमा आठ गोल खाने मच्छिन्द्र क्लबका रोहित चन्दलाइ एन्फाले सो लिगको उत्कृष्ट डिफेण्डर घोषित गर्दै मोटरसाइकल पुरस्कार दियो। यी त देखिने गरी भएका खेलका नतिजा हुन्। क्लब/ क्लब बीच मात्र होइन खेलाडी/ खेलाडी बीचमा पनि लिगमा मिलोमतो हुने गरेको आरोप पनि लाग्ने गरेको थियो।

खेल मिलेमतो पदाधिकारीको संलग्नता

खेल मिलेमतोको आरोपमा नेपाल प्रहरीले अहिले पाँच खेलाडीलाई पक्राउ गरे पनि  नेपाली राष्ट्रिय टिमका खेलाडीले अन्तर्राष्ट्रिय खेलका क्रममा बेइमानी गरेका छन भन्ने समाचार फिलिपिन्ससँगको मैत्रिपूर्ण खेल पछि सार्वजनिक भएको थियो।

एन्फा स्रोतका अनुसार तत्कालीन प्रशिक्षक ग्राह्म रोवर्टसले अध्यक्ष गणेश थापालाई सोही बेलामा जानकारी गराएका थिए। त्यसो त गणेश थापा आफै पनि सो खेल हेर्न फिलिपिन्स पुगेका थिए। तर त्यो समय एन्फा पदाधिकारी र खेलाडीले खेलमिलोमतोका बारेमा बाहिर कुनै कुरा गर्ने सहमति गरेका थिए। आफ्नो खेलाडीले खेलमिलोमतो जस्तो जघन्य अपराधमा संलग्न भएको आरोप लागेपछि त्यसमा छानबिन गरी दोषीलाई कारबाही गर्नु पर्नेमा उल्टो घटना गोप्य राख्ने समहमति गर्नु आफैमा शंकास्पद छ।

नेपाल प्रहरीको अनुसन्धानमा खेलमिलेमतोमा सबै सेटिङ्ग मिलाउने काम राष्ट्रिय टिमका पूर्व खेलाडी तथा थ्रीस्टारका पूर्व प्रशिक्षक अञ्जन केसीबाट भएको जनाइएको छ। एसियाली फुटबल महासंघ एएफसीका तत्कालीन अध्यक्ष मोहम्मद बिन हमामले दिएको एक लाख अमेरिकी डलर काण्डपछि एएफसीको सुविधा सम्पन्न जागिर छोडेर नेपाल फर्किएका एन्फा अध्यक्ष गणेश थापाका जेठा छोरा गौरव थापा र अञ्जनसहितको लगानीमा ललितपुरमा रेष्टुरेन्ट व्यवसाय शुरु गरेका थिए।

गौरवले यो बीचमा नेपाली राष्ट्रिय टिमका लागि विभिन्न मुलुकसँग मैत्रीपूर्ण खेल मिलाउने अघोषित एजेन्टको रुपमा काम गर्दै आएका थिए। मैत्रीपूर्ण खेल खेले वापत खेल्ने देश र त्यसको व्यवस्थापन गर्ने एजेन्टले निश्चित कमिसन पाउने प्रचलन छ। नेपाल प्रहरीले खेल मिलेमतो आशंका गरेका खेल मध्ये गौरवबाट तय भएका प्रायः मैत्रीपूर्ण खेल पर्दछन ।

प्रहरी गन्तव्यमा पुग्ला?

नेपाल प्रहरीले अहिले खेलाडी पक्राउ गरेको खेल मिलेमतोको आरोपमा मात्र हो। यो केस अब कसरी अगाडि बढ्छ भन्ने चासोको विषय हो। किनकि यो प्रकरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एन्फा अध्यक्ष गणेश थापा जोडिएका छन्। अन्तर्राष्ट्रिय मिडियाले नेपालको खेलमा शंका व्यक्त गर्दे यसअघि नै समाचार सार्वजनिक गरेका हुन्। खेल मिलेमतो जस्तो गम्भिर विषयमा मुलुककै नाम जोडिदा एन्फाले छानबिनका लागि पहल नगर्नु आफैमा रहस्यमय छ।
 
नेपाली फुटबलमा गणेश थापाको आदेश बिना पात पनि हल्लिँदैन भन्ने गरिन्छ। यस्तो अवस्थामा यो केस खोतल्दै जाँदा यसको ठूलो असर गणेश थापालाई पर्न सक्छ। तर त्यहाँसम्म नेपाल प्रहरी पुग्न सक्छ भन्ने प्रश्न छ।

किनकि गणेश थापा विवादमा तानिएको यो पहिलो पटक होइन। आर्थिक अनियमिता, विधि तथा विधानका  बारेमा उनी पटक पटक विवादमा पर्दै आएका छन र हरेक पटक परिस्थितिलाई उनले आफू अनुकूल बनाएका छन् । नेपाली फुटबलको नेतृत्वमा आए पछि उनले गरेका आर्थिक अनियमितताबारे छानबिनका लागि तीन तीन वटा आयोग बने, ती सबै आयोगले गणेश थापालाई दोषी देखाए पनि कारवाही भने भएन।

२०६३  सालमा भएको फुटबल आन्दोलनमा उनी निकै गलेको देखिन्थे । मुलुक भर्खर मात्र गणतन्त्रमा गएको थियो। गणेश थापाका दाजु कमल थापा आफैको राजनीतिक भविश्य के हुने भन्ने टुङ्गो थिएन। त्यस्तो स्थितिमा नेकपा माओवादीको सहयोगमा थापाले फुटबल विवाद आफु अनुकूल हुने गरी मिलाएका थिए।

त्यसपछि एन्फाकै तीन उपाध्यक्ष सहितका पदाधिकारीले थापाले आर्थिक अनियमितता गरेको भन्दै संसदको सार्वजनिक लेखा समिति, अख्तियार दुरुपायोग अनुसन्धान आयोग लगायतका निकायमा उजुरी गरेका थिए। सार्वजनिक लेखा समितिले ५८ करोड रुपैया अनियमितता गरेको भन्दै कारवाहीका लागि अख्तियारलाइ सिफारिस गरे पनि अख्तियारले मुद्दा नै नचलाई तामेलीमा राखेको छ। उल्टो अनियमितता भयो भन्दै प्रमाणसहित उजुरी गर्ने उपाध्यक्षहरु अहिले कारवाहीमा परेका छन्।

अहिले त गणेश थापा झनै शक्तिशाली बनेका छन्। गणेश थापा सभासद बनेको पार्टी राप्रपा नेपालसँग अहिले सत्ताको साँचो रहेको छ। उनका दाजु कमल थापाले हात झिकिदिने हो भने केपी ओली सरकार धरमराउने छ। यस्तो स्थितिमा नेपाल पुलिसको कारवाही स्वतन्त्र रुपमा अगाडि बढ्ला त?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell