PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​रसुवागढी नाका खुल्यो, चीनबाट सामान ल्याउन सहज



​रसुवागढी नाका खुल्यो, चीनबाट सामान ल्याउन सहज

धुन्चे (रसुवा) : भूकम्पपछि बन्द भएको नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ। 

केरुङतर्फ सडक मर्मत सम्पन्न गरी औपचारिक रुपमा चिनियाँ सरकारका तर्फबाट डेपुटी डाइरेक्टर जनरल माक्विन्सेङ्गले आज बिहान साढे ९ बजे नाका खोलेको घोषणा गरेका जानकारी वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाले बताए। 

भूकम्पका कारण नेपाल र चीन दुवैतर्फ सडक र भन्सार कार्यालयहरु क्षतिग्रस्त भएकाले गएको वैशाखदेखि नै चीनबाट सामान आयात रोकिएको थियो। त्यसपछि सुरु भएको वर्षायामले सडकमा थप क्षति पुगेको थियो। भारतले अघोषित नाकाबन्दी गरेर इन्धन लगायतका उपभोग्य सामान आयातमा नियन्त्रण गरेपछि सरकारलाई चीनसँगको नाका खोल्न दबाब परेको थियो। त्यसै अनुसार असोज महिनाबाट नै नेपाल र चीनले आफ्नो तर्फपको सडक निर्माण गरेपछि औपचारिक कार्यक्रम गरी नाका खुलेको घोषणा गरिएको हो।

यो नाकाबाट सरकारले पेट्रोलियम पदार्थ नल्यापनि लत्ताकपडा र फलफूलहरु आयात हुनेछ। नाका खुलेपछि रसुवाका ब्यापारीहरुले आफ्नो प्रयोजनका लागि चीनबाट पेट्रोलियम पदार्थ पनि ल्याउने तयारी गरेका छन्।

रसुवागढी नाका खोलेको घोषणा गर्नुपूर्व चीन सरकारले दशैका लागि नेपाललाई पठाएको छवटा ट्रकमा राखिएको ५० टन खाद्यान्न सीमा क्षेत्रमा आइसकेको परराष्ट्र मन्त्रालयका उपसचिव मणि भट्टराईले बताए। नेपाललाई सहयोग गरिने बडादसैँका लागि खाद्यान्न एक करोड ६० लाख रुपैयाँ बराबरको रहेको छ। 

यस्तै, नाका खुलेलगत्तै सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मले सीमा क्षेत्रमा आफ्नो पोस्ट खडा गरिसकेकाले सुरक्षा तथा राजस्व सङ्कलनमा कुनै कमी नआउने सशस्त्र प्रहरी नायब उपरीक्षक दर्शन गिरीले जानकारी दिए। 

औपचारिक नाका घोषणा कार्यक्रममा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति, परराष्ट्र, गृह र अर्थ मन्त्रालयका प्रतिनिधि, भन्सार विभागका प्रतिनिधि, रसुवाका प्रमूख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाली सेनाका प्रमूख सेनानी विक्रम गुरुङ, नेपाल प्रहरीका नायव प्रहरी उपरीक्षक अवधेश विष्ट तथा अध्यागमनका अधिकारी एवम् चिनियाँतर्फबाट राजदूतावासका प्रतिनिधि, अध्यागमनलगायत सुरक्षा निकायका प्रमुखहरु सहभागी भएका रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केदारप्रसाद पनेरुले बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell