PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कसरी म्याच फिक्सिङको फन्दामा परे नेपाली खेलाडी?



कसरी म्याच फिक्सिङको फन्दामा परे नेपाली खेलाडी?
इराक र नेपालबीच भएको खेलमा कप्तान सागर थापा (रातो जर्सीमा)

  • मनोज सत्याल/पहिलोपोस्ट -
काठमाडौँ : भदौ २९, २०७१। दक्षिण कोरियाको इन्चोनमा एसियन गेम्स अन्तर्गत नेपाल र इराक भिडिरहेका थिए। यो खेलमा नेपालले ४ गोल खायो। तर दुई गोलको संयोग यस्तो थियो जुन इन्जुरी टाइममा भयो। थप एक गोल त आत्मघाती नै थियो।

सिंगापुरको पत्रिका द न्यु पेपरले दुई साताभित्रै एउटा सनसनीपूर्ण समाचार दियो- एसियन गेम्सका अनेकौँ खेलहरुमा म्याच फिक्सिङ देखिएको छ। स्पोर्टसराडार नामको स्पोर्टस् बेटिङ एनालाइसिस गर्ने कम्पनीले ठोकुवा नै गर्‍यो– केही खेलहरुको प्याटर्नमा म्याच फिक्सिङ स्पष्ट देखिएको छ।

यो फर्मले संकेत गरेको एउटा खेल नेपाल र इराकबीच भएको यही खेल पनि थियो। द न्यु पेपरले यो स्पोर्टसराडारका प्रबन्ध निर्देशकसँग गरेको कुराकानीमा उनले भनेका थिए, ‘हामी विश्वस्त छौँ म्याच फिक्सिङ भएको छ। किनभने सट्टेबाजहरु खेलको अन्तिम मिनेटमा गोल हुन्छ भनेर धेरै नै विश्वासका साथ दाउ लगाएका थिए। उनीहरुको त्यो दाउ सत्य साबित पनि भयो। सामान्य खेलहरुमा यस्तो हुन्छ भनेर विश्वास गर्न सकिँदैन।‘

खेल सुरु भएको चौथो मिनेटमा रसानले गोल गरेर इराकले १-० को अग्रता लिएको थियो। मध्यान्तरको  समय भएपछि इन्जुरी टाइम ४५+१ मिनेटमा महमदूले गोल गरेर दुई गोलको अग्रता लियो। त्यसपछि ८५ औँ मिनेट रोहित चन्दले आत्मघाती गोल गरे। खेल इन्जुरी टाइममा गएपछि ९०+२ मिनेटमा नेपालले फेरि अर्को गोल खायो, बहजातले गरेका थिए गोल।

कम्पनीले विश्व फुटबलको सर्वोच्च संस्था फिफा र एसियाली फुटबलको संस्था एएफसीलाई यसबारे तत्काल जानकारी गराएको थियो। फिफाले त्यतिबेलै म्याच फिक्सिङ भएको हो कि हैनबारे अनुसन्धान हुने बताएको थियो। नेपाली फुटबल टोली पनि म्याच फिक्सिङमा संलग्न हुनसक्ने बारे अन्तर्राष्ट्रिय रुपमा हेडलाइन बनेको यो पहिलो घटना थियो।

त्यतिबेलादेखि नै नेपाली खेलाडीमाथि नजर परेको थियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उनीहरु निगरानीमा परेका थिए।
                                              **********

२७ असोज, २०७२। माथिको घटनाको १३ महिनापछि फुटबल फ्यानहरु ‘सक’ हुने गरी एउटा समाचार सार्वजनिक भयो- नेपाली राष्ट्रिय टोलीका कप्तान सागर थापासहित पाँच खेलाडी ( ती मध्ये एक प्रशिक्षकको भूमिकामा समेत रहेका)लाई प्रहरीले पक्राउ गर्‍यो।

सागर थापाले नै माथिको अन्तर्राष्ट्रिय हेडलाइन बनेको इराकविरुद्धको म्याच फिक्सिङ भएको शंकास्पद खेलमा कप्तानी गरेका थिए।
यसबाहेक राष्ट्रिय टिमका खेलाडी विकाससिंह क्षेत्री, रितेश थापा र सन्दिप राई पनि आज पक्राउ परेका छन्। राई पनि सो खेलमा थिए।

अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले पहिलोपोस्टलाई भने, ‘अनुसन्धानबाट म्याच फिक्सिङ गरिएको देखिएकोले उहाँहरुलाई दिउँसो पक्राउ गरेका हौँ।‘

‘यो राज्यविरुद्धकै ठूलो अपराध हो’, उनले भने, ‘फ्यानहरु नेपालको पक्षमा दिलोज्यानले लागेका हुन्छन् तर कहिले ११ गोल कहिले ९ गोल खाएर नेपाल पराजित भइरहेको हुन्छ।‘

उनले कुन कुन कानुन यसमा आकर्षित हुन्छ भन्ने बारे हेरिरहेको बताएका छन्। ‘अहिलेसम्मको अनुसन्धानबाट बंगलादेश, मलेसिया र अफगानिस्तान आदिसँगको खेलमा म्याच फिक्सिङ भएको देखियो, हामी थप सोधपूछ गरिरहेका छौँ,‘  एसएसपी खनालले भने।

पक्राउ परेका मध्ये सागर थापा विगत ६ वर्षदेखि नेपाली टिमका कप्तान छन्। हाल जारी ए डिभिजन लिगमा च्याम्पियन हुनबाट एक अङ्कले टाढा रहेको थ्री स्टार क्लबका पनि उनी कप्तान हुन्। पक्राउ परेका अर्का खेलाडी सन्दीप राई पनि थ्रीस्टारकै हुन् भने  प्रशिक्षक अञ्जन केसी र विकास सिंह क्षेत्री पनि थ्री स्टारकै पूर्व खेलाडी हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell