PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

ग्राउन्ड जिरो रक्सौल : आन्दोलनकारी भन्छन् - दिल्लीसँग वार्ता गरेर यता सुल्टिन्न



ग्राउन्ड जिरो रक्सौल : आन्दोलनकारी भन्छन् - दिल्लीसँग वार्ता गरेर यता सुल्टिन्न

  • ऋषिकेश दाहाल/पहिलोपोस्ट-
रक्सौल (भारत) : चार बोरा आलु उसिनिएको छ। दाल चामल भण्डार गरिएका छन्। ठूला भाडाहरुमा बिहानैदेखि आगोको ताप पर्न थालेको छ। नेपालका आन्दोलनकारीका लागि खानाको प्रवन्ध भइरहेको छ। नेपालसँग टाँसिएको भारतको रक्सौलमा देखिएको यो दृष्य हो आर्य समाज आश्रम नजिकैको।

यहाँबाट पारी नेपालमा आन्दोलनकारीहरु नाकाको पुलको एउटा छेउमा बसेका छन्। पाल टाँगेर रातभर गाउँ-गाउँको पालो लागिरहेको छ। बारा र पर्सा दुई जिल्लाका गाउँबाट नाकाबन्दी गर्न मानिसहरु यहाँ धर्नामा छन्। नाकाबन्दीका कारण नेपालमात्र होइन दसैंको समय नेपालीकै कारण चहलपहलले भरिभराउ हुने रक्सौल बजार नै मन्दीको सिकार बनेको छ। दैनिक औशत ३० करोड र दसैंमा ७५ करोडसम्म राजश्व संकलन गर्ने भन्सारको राजश्व संकलन हजारबाट लाख टेक्नसमेत असफल छ।


यहाँ चलेको केही छ भने – आन्दोलनमात्र। आन्दोलनकारीलाई सहयोग गर्नेहरुमा सीमाका बासिन्दासँगै व्यवसायीको ठूलो हिस्सा छ। रक्सौलको आर्य समाज आश्रममा २००७ सालदेखि २०६३ का सबै आन्दोलनमा आन्दोलनकारीको बास र गाँसको व्यवस्था थियो। अहिले फेरि यहाँ खानका मेस चलेका छन्। आन्दोलनकारीले चामल, दाल बोकेरै गएका छन्। आन्दोलन सकियो भने उनीहरुले स्टोर गरेका खाद्यान्न फिर्ता लिएर नेपालै आउने छन्।

सबै ठप्प वीरगञ्जको नाकामा सक्रिय आन्दोलन दसैंका कारण खुकुलो भएको छ तर खुलेको छैन। त्यसैले सबैको चासो हुने गर्छ नाका खुल्छ कहिले ?

औद्योगिक राजधानी वीरगञ्जका व्यवसायी तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अशोक टेमानीलाई प्रायजसो काठमाडौंबाट सोधिने प्रश्नको विषय हुने गर्छ तराई-मधेसको आन्दोलन। उनी त्यसको जवाफ पटकपटक दिइरहेका हुन्छन्। उनका अनुसार संवादको स्वरुप यस्तो हुन्छ :

'कति छन् मानिस आन्दोलनमा?'

'हजारौं उत्रिएका छन्,' तेमानीको उत्तर यस्तै हुन्छ।

फेरि काठमाडौंबाट बोल्नेले सोध्छन्, 'अहो इन्डियाबाट त्यत्रो मानिस आए है?'


दुई महिनादेखि स्कुल बन्द छ। स्कुल बन्द भएपछि व्यवसायी मनोजकुमार बाबरीले छोरीलाई कोचिङ पढाउन थाले। बन्दका कारण निजी स्कुलले गोप्यरुपमा कोचिङ चलाइरहेका छन्। एकदिन त्यही कोचिङबाट छोरीलाई घर लैजाँदै थिए बाबरी।

छोरीले सोधिन्, 'बाबा बाटोमा मधेसी त छैनन्?'

'छैनन्।'

पछि फेरि उनकी छोरीले प्रश्न गरिन्, 'बाबा म मधेसी हूँ कि नेपाली?'

मनोजको मनमा चसक्क बिझ्यो। भने, 'लगातारको बन्द र हड्तालले व्यवसायिक हिसाबमा ठूलो नोक्सानी त भयो। तर त्यो भन्दा ठूलो नोक्सानी इन्सानियतको भएको छ। र, यो मेटाउन युगौं लाग्नसक्छ।'

…………………………………………….

काठमाडौं इन्धन अभावको चरम रुप भोगेपछि नाका कहिले खुल्ला भनेर वीरगञ्जतिर हेरिरहँदा दशगजामा रहेर आन्दोलन गरेका मानिसहरु काठमाडौंतिरै हेरिरहेका छन्। काठमाडौंले वीरगञ्ज हेर्न थालेको दुई सातामात्र भयो भने वीरगञ्जले दुई महिना। काठमाडौं देख्छ – नाकामा भारतीय आएर आन्दोलन गरिरहेका छन्। 'भूकम्पका कारणभन्दा ठूलो आर्थिक नोक्सान भइसकेको छ मधेस आन्दोलनले,' नेपाली कांग्रेसबाट पूर्व सभासद रहिसकेका उद्योग वाणिज्य संघ वीरगञ्जका उपाध्यक्ष ओमप्रकाश शर्मा भन्छन्, 'कांग्रेसको फोरममा बोल्यौ, उद्योग वाणिज्यको फोरममा बोल्यौं तर मधेस मुद्दामा सुनुवाई भएन।'

विजय गच्छदारका पुत्ला जलाइए। यतिखेर वीरगञ्जका व्यवसायी 'दाउपेचको राजनीति'मा आफ्ना एजेन्डा मर्ला भन्ने त्रासमा छन्। 'तेल नरोकिएको भए काठमाडौंले सुन्ने थिएन,' व्यवसायी प्रकाश सर्राफले भने, 'समस्या नेपाली नागरिकले गर्दा भएको हो, दिल्लीसँग वार्ता गरेर यहाँ सुल्टिन्न।'

यस्तो छ वीरगञ्जको दृष्य

राजधानी काठमडौंमा 'पेट्रोल डे'को गाईजात्रा चलिरहँदा सिमरा – वीरगञ्ज सडकका दायाँ बायाँ खुलेका दुकानमा थप नयाँ बस्तु बिक्रीमा थिए - खुलमखुल्ला। मिनरल वाटरका बोतलमा हल्का सुन्तला रङको पेट्रोलको २०० रुपैयाँमा बिक्रीका लागि राखिए पनि किन्ने ग्राहक खासै देखिएनन्। मतलब, गाडी चले न पेट्रोल। नचलेका सवारीमा इन्धन नै किन चाहियो।

सिमरा बजारको चहलपहल जति वीरगञ्जतिर बढ्यो उति कम हुँदै गएको थियो। शक्तिकी स्वरुप काली भगवतीको उपासनाको पहिलो दिन घटस्थापना परेकाले माइकमा चर्का भजन गुञ्जिरहेको थियो। त्यसबाहेक बाटो पूरै सुनसान।

मधेसवादी दलका नेताले राजधानीमा पत्रकार सम्मेलन गरेर हड्ताल खुकुलो बनाउने बताएको दुई घन्टापछि वीरगञ्जको घन्टाघरमा लाठीसहित मधेस मुद्दामा जुलुस निस्किरहेको थियो। चौराहमा नयाँ सरकारका प्रधानमन्त्री र मन्त्रीहरुको पुत्ला भर्खरै दहन भएको रहेछ।

पुत्लाबाट आगो धुपधुप उठ्दै थियो। मुर्दा शान्तिमा रङमङ्गिएको मुलुकको आर्थिक राजधानी साँझबाट केही खुकुलो भयो। अघिल्लो दिन उपप्रधानमन्त्री विजय गच्छदारको पुत्ला दहन गर्न जुटेको भिडभन्दा कम भए पनि दशहराका लागि  किनमेल गर्न आउनेले वीरगञ्जलाई पुरानै रौनकमा फर्काउन खोजेको देखियो। दुर्गा भगवतीका तस्बिरहरु बिस्कुन लागे। आन्दोलन र चाँड एकअर्कामा विलय भए झै देखियो।

व्यवसायी नै भन्छन् : नाकाबन्दी हाम्रो

नेपाल र भारत सरकारले नाकाबन्दी स्वीकार नगरे पनि मिडियाले भारतले नाकाबन्दी गरेको स्थापित गरे। भारतले आपूर्ति असहज बनाएकै हो तर नाकाबन्दीलाई यहाँका व्यवसायीले आफ्नै रहेको र रहने दावी गरे। व्यवसायी विनय साह भन्छन्, 'आन्दोलन हामी गरिरहेका छौं तर गाली भने भारतलाई दिइरहेका छन्।'

ओमप्रकाश शर्माले त दिल्लीसँग सम्झौता गर्दैमा नाका नखुल्ने दावी गरे। भने, 'राज्यले मधेसको इस्युलाई इस्यु मान्नुपर्‍यो पहिले। सुशील कोइराला हुन् या केपी ओली मानिसको परिवर्तनले केही हुनेवाला छैन।'


उद्योग वाणिज्य संघ वीरगञ्जका पूर्व अध्यक्ष अशोक टेमानी मधेसले नाका बन्द गरेको दावी गर्छन्। 'यो समस्या सुल्ट्याउने नेपाली नागरिकले नै हो,' उनी भन्छन्।

भारतले नाकाबन्दी गरेको सोझै नकार्छन् यहाँका उद्योगी व्यवसायी। 'व्यवहारिक कुरा गरौं, इन्डियाले साच्चै नाकाबन्दी गरेको भए हामी बाँच्न सक्थ्यौं ?' शर्माको प्रश्न थियो।
 

नाका खुलाउन दुवै देशका प्रशासक

नेपाल-भारत नाका खुलाउन दुवै मुलुकका प्रशासक तयार छन्। त्यसका लागि पटकपटक छलफल भइरहेको पनि छ। 'नेपालमा ट्रक ट्याङ्कर ल्याउँदा असुरक्षित भयौं' भनेर भारतका यातायात मजदूरले पहिले जसरी उजुरी गरेका थिए अहिले त्यसरी नै गाडी रोकिएर अलपत्र परियो भन्दै प्रशासनसँग गुहार्न पुगेका छन्। 'भारतीय ट्रक र कन्टेनर चालकले जहिले पनि भारतीय भन्सार र प्रहरीको भाषा बोल्छन्,' एक व्यवसायीले भने, 'अवरोध खुलाउन दुवै पक्षबीच एकमत छ र त्यसका लागि सुरक्षाकर्मी पनि तयार पारिएका छन्।'

तर, नाका निर्वाध खुलाउने पक्षमा आन्दोलनकारी छैनन्। 'हामी सडकमा सुत्छौं, हामीमाथिबाटै नाका खुलाएर लैजाने भए लैजानुस्,' नाका खुलाउन आन्दोलनकारीसँग पहल गर्दा उनीहरुले यस्तै प्रतिक्रिया दिएपछि तत्काल नाका खुलाउने पहल रोकिएको छ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell