PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​भारतको नाका खुकुलो अल्पकालीन कि दीर्घकालीन?



​भारतको नाका खुकुलो अल्पकालीन कि दीर्घकालीन?

  • विज्ञान अधिकारी/पहिलोपोस्ट-
काठमाडौं: प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएपछि सबैको आँखा भारतले लगाएको नाकाबन्दीतर्फ छ। उनी प्रधानमन्त्री भएपछि भारतले २० दिनदेखि लगाएको नाकाबन्दी खुल्छ कि अझै बढी कडाई हुन्छ? आफ्नो परिवारसँग बसेर दशै मनाउने चाहना राख्ने धेरै नेपालीको मनमा यही प्रश्न छ।

ओली प्रधानमन्त्री निर्वाचित हुनु अघिल्लो दिनदेखिनै भारततर्फको नाका केही खुकुलो पारेको थियो। अंक गणितीय हिसाबले ओली प्रधानमन्त्री हुने निश्चित भएपछि नाका खुकुलो हुनुलाई धेरैले सुखद खबरका रुपमा लिएका छन्।  अझै प्रधानमन्त्री निर्वाचित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटर र टेलिफोनबाट ओलीलाई बधाई दिएर भारत भ्रमणको निम्तो पनि दिए।

यी सबै घटनाक्रमले ओलीसँगै अघोषित नाकाबन्दी खुकुलो हुने अनुमान गरिएको छ। भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले शनिबारदेखि नाका खुकुलो हुन थालेको बताए। ‘शनिबारदेखि नाका केही खुकुलो भएको थियो, आइतबार पनि भारतले तेल बढाएर दिएको छ। भारतीय अधिकारीहरुले कोअपरेट समेत गर्न थालेका छन्', उनले भने, ‘पछिल्लो व्यवहारले हामी आशावादी देखिएका छौं।’ नेपालमा मात्रै होइन भारतमा रहेका नेपाली अधिकारी समेत पछिल्लो घटनाक्रमप्रति सकारात्मक देखिएका छन्।

कोलकोताका महावाणिज्यदूत चन्द्रप्रसाद घिमिरे भारतले नेपालप्रति देखाउँदै आएको कडा रणनीति लचिलो देखिन थालेको बताए । ‘भारत केही लचिलो हुन थालेको अनुभव भइरहेको छ। त्यो व्यवहारमै देखिएपछि मात्रै स्पस्ट हुन सकिएला', उनले टेलिफोनमा भने, ‘सेप्टेम्बर २४ देखि लगाएको रेस्ट्रिक्सन अक्टोबर ४ मा केही खुकुलो हुन थालेको थियो।’


अझै नेपालको लाइफलाइनको रुपमा रहेको पेट्रोलियम पदार्थ भारतले विस्तारै बढाउँदै लगेको छ। नाकाबन्दीको समयमा माथिको आदेश भन्दै इन्डियन आयल कर्पोरेशन (आइओसी) का अधिकारीले नेपालतर्फ १० प्रतिशत मात्रै पेट्रोलियम पदार्थ दिएका थिए। आयल निगमलाई औपचारिक रुपमा ट्यांकर पठाउन आग्रह गरेपनि डिपोमा पुगेपछि तेल नदिएर झुक्याएका थिए। त्यही आइओसीले आइतबार विदाको दिनमा समेत डिपो खोलेर नेपाली ट्यांकरलाई तेल दिएका छन्।

नाकाबन्दीको दुई सातासम्म कुनैपनि प्रतिक्रिया नदिएको आइओसीले आइतबारनै औपचारिक पत्र पठाउँदै तेल कारोबारको एकाधिकारमा निरन्तर रहन चाहेको स्पस्ट संकेत गरेको छ। निगमका निमित उपकार्यकारी निर्देशक सुशील भट्टराईले शनिबार र आइतबार आइओसीले नाकामा अवरोध नभएका स्थानमा बढाएर तेल दिएको बताए। ‘आन्दोलन नभएको स्थानमा आइओसीले लोडिङ बढाएको छ, त्यसले हाम्रो मागलाई धान्न सक्दैन तर उनीहरु सकारात्मक भएको पाएका छौं' उनले भने, ‘वीरगञ्ज, भैरहवा र विराटनगर नाका खुलेमा सहज हुनेछ।’

आन्दोलनकारीको धर्नाका कारण विरगञ्ज, विराटनगर र भैरहवा अझै असहज भएको छ। आयल निगम भैरहवा डिपो प्रमुख दिनेश यादवका अनुसार सोमबारदेखि भैरहवा नाका पनि सहज हुनेछ। आइतबार नेपाली अधिकारी र भारतीय अधिकारीबीच भएको सहमतिमा सोमबारदेखि नाका सहज बनाउने सहमति भएको छ।

चार दिनअघि सामान किन्न गएका नेपालीलाई भारतीय भूमिमा मधेशी मोर्चाका आन्दोलनकारीले आक्रमण गरेपछि भैरहवा नाकामा तनाब भएको थियो। तनावपछि नेपालतर्फबाट कुनैपनि नागरिकलाई भारत जान रोक लगाएको थियो।

नेपालले आफ्ना नागरिकलाई विना रोकतोक भारत जान दिने र भारतीय पक्षले भने नेपाली सामान बोकेका सवारी साधनलाई निर्वाध रुपमा आउन दिन सहमति भएको स्रोतले बतायो।

सहज होला?

भारतले एक/दुई दिनदेखि पारेको खुकुलोप्रति सरकारी अधिकारी अन्यौलमा छन्। उनीहरु भारतको खुकुलो पार्ने रणनीति अल्पकालिन हो वा दीर्घकालिन बुझ्न नसकेको उनीहरु बताउँछन्। ‘नेपाल र भारतबीच राजनीतिक तहमा वार्ता नभई अहिलेको खुकुलो अल्पकालिन मात्रै हुन्छ', ती अधिकारीहरु भन्छन्, ‘अहिलेका प्रधानमन्त्री ओली र भारतीय उच्च तहवीच सहमति भएको हो भने नाकाबन्दी खुल्छ र सहज बन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell