PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बाबुरामपक्षीय सभासद्ले पनि ओलीलाई नै भोट हाल्ने, जारी गरे यस्तो विज्ञप्ति



काठमाडौँ : व्यवस्थापिका संसदमा बाबुराम पक्षीय सभासद् प्रभु साहले एमालेलाई समर्थन गर्ने पार्टीको निर्णयको विरोध गरे पनि ओलीलाई भोट हाल्ने निर्णय मान्ने स्पष्ट गर्दै विज्ञप्ति जारी गरेका छन्। उनको विज्ञप्ति यस्तो छ-
 

प्रेस वक्तव्य

आजको संसदीय दलको बैठकमा मैले बोलेको कुरा गलत ढंगबाट सञ्चार माध्यमहरुमा सम्प्रेषित भइरहेकोप्रति मेरो ध्यानाकर्षण भएको छ । संसदीय दलको बैठकमा अध्यक्ष क. प्रचण्डले सरकार निर्माणको सन्दर्भमा एमाले अध्यक्ष केपी ओलीलाई पार्टीले समर्थन गरेको उल्लेख गर्नुभयो र एमालेसँग भएको सम्झौताको व्याख्या गर्नुभयो । त्यसपछि म एक जना मात्रैले एमालेसँग पार्टीले गरेको सम्झौताको विरोध गरेको थिएँ । 

मैले भनेको थिएँ कि देश बन्द/हड्तालले आक्रान्त छ, तराई–मधेशमा दुई महिनादेखि आन्दोलन भइरहेको छ र एमालेले नै प्रदेशको सीमांकन, मधेशी/थारुको माग सम्बोधन गर्न अस्वीकार गरेकै कारणले यस्तो स्थिति बनेको सन्दर्भमा एमालेलाई समर्थन गर्दा देशको द्वन्द्व झन् चर्कने र देशको भविष्य अनिश्चितताको भूमरीमा फस्ने अवस्था रहेकोले एमालेसँगको यो सम्झौता देश, जनता र पार्टीको पनि हितमा छैन त्यसैले यो सही निर्णय होइन, यसमा म सहमत हुन सक्दिनँ । 

एमाओवादी र एमालेको बीचमा भएको सम्झौतामा मेरो पूर्ण असहमति छ । अब यो सम्झौताले त झन् देश आक्रान्त हुने भयो, स्थिति झन् भयंकर हुने भयो भन्ने मलाई चिन्ता छ । अहिलेको सन्दर्भमा एमालेसँग सम्झौता गर्ने पार्टीको निर्णय सही होइन । यसै सन्दर्भमा २९ जना केन्द्रीय सदस्यको संयुक्त वक्तव्यसमेत जारी भइसकेको छ ।

मैले संसदीय दलको बैठकमा पनि यही असहमति र चिन्ता व्यक्त गरेको थिएँ । मैले आफ्नो असहमति र चिन्ता प्रष्टसँग राख्दै पार्टीको निर्णय मान्ने कुरा पनि राखेको थिएँ । त्यसैले यसबाहेक आएका अन्य कुराको भ्रममा नरहन म आग्रह गर्दछु ।


२०७२ असोज २३


प्रभु साह
व्यवस्थापिका–संसद् सदस्य
एकीकृत नेकपा (माओवादी)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell