PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

​सरकार निर्माणको खेलसँगै दलहरुमा सुरु भयो भाँडभैलो



​सरकार निर्माणको खेलसँगै दलहरुमा सुरु भयो भाँडभैलो

  • रमेश वाग्ले/पहिलोपोस्ट-
संविधान जारी भएपछि गठन हुन लागेको नयाँ सरकारको नेतृत्वक लागि संसदको ठूलो दल कांग्रेसका सभापति सुशील कोइराला र दोश्रो ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज उम्मेदवारी दर्ता गराए।

संसदमा रहेका दलहरुको औपचारिक निर्णयलाई आधार मान्दा ओलीको पक्षमा स्पष्ट बहुमत देखिएको छ। २ सय ९९ मत आवश्यक रहेकोमा अहिले नै ओलीको पक्षमा ३२४ मत पुगिसकेको छ भने कोइराला अल्पमतमा देखिएका छन्। सत्ताको खेल सुरु भएसँगै पार्टीहरुभित्र भाँडभैलो देखिएको छ।

राप्रपा संसदीय दलका नेता दीपक बोहराले ओलीको उम्मेद्वारीको समर्थनमा हस्ताक्षर गरेका छन् तर राप्रपाका १२ मध्ये आठ सांसद् उनको निर्णयको विपक्षमा रहेको भन्दै सहप्रवक्ता किरण गिरीले पार्टीले आजै बेलुका मात्र बैठक बसेर पार्टीले निर्णय गर्ने बताएका छन्।
 
‘राप्रपा नेपालका तर्फबाट दीपक बोहराले ओलीको उम्मेद्वारीमा समर्थन गर्नुभएको छ, त्यो राप्रपाको नभएर बोहराको मात्र समर्थन हो’ गिरीले भने, ‘राप्रपा संसदीय दलको बैठक आजै साँझ बस्छ। त्यसपछि मात्र राप्रपाले कसलाई समर्थन गर्छ भनेर निर्णय हुन्छ।’

उनले हिजो बेलुका बसेको बैठकमा बोहराको ओलीलाई समर्थन गर्ने प्रस्तावमा असहमति जनाउँदै आठ सांसदहरु बाहिरिएपछि बोहराले एकलौटी निर्णय गरेर हस्ताक्षर गर्न गएको बताए।

उता एकीकृत नेकपा माओवादीमा पनि त्यस्तै भाँडभैलो देखिएको छ। पार्टीबाट र सांसद पदबाट एकसाथ राजीनामा दिएका वरिष्ठ नेता बाबुराम भट्टराई निकटका सांसदहरुले केपी ओलीलाई सहयोग गर्ने निर्णय पार्टीको कुन तहबाट भएको हो भन्दै प्रश्न उठाएका छन्।

‘स्थायी कमिटीमा भएको साथीहरुले नै विमति जनाउँदै नोट अफ डिसेन्ट लेख्नुभएको छ’ एमाओवादी केन्द्रीय सदस्य समेत रहेका सांसद भक्ति पाण्डेले भने, ‘यसबारे के गर्ने भन्ने विषयमा छलफल भइनसकेकाले हामी निर्णय पुगिसकेका छैनौं।’
 
उनले निर्णयमा विमति भएको कुरा नोट अफ डिसेन्टले प्रष्ट पारेको भन्दै त्यसलाई त्यतिमा सीमित गर्ने वा थप अघि बढाउने भन्ने विषयमा अहिले बताउन नसक्ने बताए।
 
यस्तै प्रभाव नेपाली कांग्रेसमा पनि परेको छ । सहमहामन्त्री पूर्णबहादुर खड्काले पार्टीको निर्णय ‘गलत र दुर्भाग्यपूर्ण’ रहेको भन्दै पदबाट राजीनामा दिएको घोषणा गर्दै फरक मत सार्वजनिक गरेका छन्। पार्टी सभापतिले उम्मेद्वारी दर्ता गरेकै स्थानमा पत्रकारहरुसँग कुरा गदै सहमहामन्त्री खड्काले ‘भद्र सहमति भएको’ र त्यसलाई उल्टाइएको दावी गरे।

‘मैले पार्टी सभापतिलाई पनि भेटेर स्पष्ट कुरा राखेको छुँ’ उनले भने, ‘केन्द्रीय समितिको बैठक नबोलाइकन निर्णय गरिएको छ, यसले पार्टीलाई मात्र होइन समग्र राष्ट्रिय राजनीतिलाई घाटा पुयाउने छ।’

उनले नेपालका राजनीतिक दल एक भएमात्र भारतको नाकाबन्दीविरुद्ध उसँगको डिल गर्न सहज हुने भन्दै पार्टीहरु नै विभाजित हुँदा राष्ट्रियता थप कमजोर हुने बताए ।

कांग्रेस महामन्त्री कृष्ण सिटौलाले भने कांग्रेसका तीन शीर्ष नेताको छलफलपछि पदाधिकारी बैठकले निर्णय गरेको भन्दै आफ्नो उम्मेद्वारले विजय प्राप्त गर्ने बताए। ओलीका पक्षमा बहुमत देखिन्छ नि भन्ने प्रश्नमा सिटौलाले भने, ‘यो कसैको पनि बहुमत नभएको संसद हो, यसमा कसलाई ककस्को समर्थन छ भन्ने कुरा भोलि परिणाम आएपछि मात्र थाहा हुन्छ।’

कांग्रेसकै सहमहामन्त्रीको फरक मत रहे पनि केन्द्रीय सदस्य महेन्द्र शर्माले भने, राष्ट्रिय सहमतिको दायरा फराकिलो पार्दै राष्ट्रिय एकतालाई कसिलो बनाउन सभापतिले उम्मेद्वारी दिएको बताए।

‘संविधान घोषणापश्चात् संविधानको कार्यान्वयन पूरा गर्न बृहत राष्ट्रिय सहमतिबाटै संभव पनि हुने छ,’ उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell