PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​भारतको चुनौति : चीनसँग सामान लिने भए लिनुस्, स्वागत छ



​भारतको चुनौति : चीनसँग सामान लिने भए लिनुस्, स्वागत छ

  • पहिलोपोस्ट -
काठमाडौं : भारतले नेपाल स्वतन्त्र राष्ट्र भएकाले आफूलाई अत्यावश्यक वस्तु कुन देशबाट लिने कुनबाट नलिने भन्ने नेपालीकै रोजाइको विषय भएको बताएको छ। बिहीबार विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सोधिएका चीनसम्बन्धी प्रश्नहरु लगातार पन्छाएका प्रवक्ता विकास स्वरुपले अन्तिम प्रश्नको जवाफमा यस्तो अभिव्यक्ति दिएका हुन्।
 
‘अर्कै देशबाट सामान लिने तपाईँसँग नलिने भन्छन् भने उनीहरुलाई स्वागत छ। उनीहरु स्वतन्त्र राष्ट्र हुन् उनीहरुको आफ्नो च्वाइसेज छन्,’ उनले भने, तर जुन रोटी बेटीको नाता छ, सांस्कृतिक नाता छ, त्यो त भारतसँग मात्रै छ। त्यो कुनै अरु देशले कसरी प्रतिस्थापन गर्न सक्छ? यो नेपाललाई पनि राम्रोसँग थाहा छ।‘

पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ आपूर्ति नगरेपछि एयरलिफ्ट गर्न नेपाल आयल निगमले ग्लोबल टेन्डर खुला गरेकै दिन भारतको यस्तो प्रतिक्रिया आएको हो।

‘घोषित, अघोषित कुनै पनि नाकाबन्दी गरेका छैनौँ’

नेपाल-भारत सीमामा अवरोधका कारण नेपालीहरु भुखमरीको शिकार भइरहेको भन्ने खबर आएको छ नि भनी सोधिएको प्रश्नको जवाफमा प्रवक्ता स्वरुपले प्रष्ट शब्दमा भने,  ‘हामीले अफिसियल/अनअफिसियल कुनै पनि नाकाबन्दी गरेका छैनौँ।‘

अहिले नेपाल भारतका नौ वटा सीमा नाकामा भएका अवरोधहरु नेपालको भूमितर्फ भइरहेका र हरेक दिन ट्रकहरु नेपालभित्र पस्न कुरिरहेको भन्दै उनले आफूसँग भएको फाइल पल्टाउँदै तथ्याङ्क नै दिए, ‘आज १२ बजेसम्म छ वटा नाकामा ५ हजार ३३ वटा गाडी अड्किएका छन्। दैनिक ‍औसत २५० देखि ३ सयसम्म गाडी आइरहेका छन्।‘

‘यो सब नेपालकै सीमातर्फ भइरहेको अवरोधका कारण भएका हुन्,’ उनले भने, ‘हामी नेपाल सरकारलाई सीमा क्षेत्रमा सुरक्षा गर्न आग्रह गर्छौँ।'

‘राजनीतिक समाधान नभएसम्म अवरोध कायमै’

प्रवक्ता स्वरुपले जबसम्म राजनीतिक रुपमा समस्याको समाधान निकालिँदैन, तबसम्म भारतबाट सामान नेपाल जान नसक्ने भन्दै नाकाबन्दी लम्बिने संकेत गरे। उनले जे जति समस्या छन् नेपाल तर्फका छन् भन्दै भारतको अडान यसरी राखे, ‘हामी चाहन्छौँ समस्याको हल होस्। तर हल नेपालले नै गर्नुपर्छ, आफ्नै असन्तुष्ट समुदायसँग वार्ता गरेर।‘

चाइना कार्डबारे प्रश्नको जवाफ

नेपालमा एन्टी इन्डिया सेन्टिमेन्ट बढिरहेको र चाइनासँग सहयोग लिने धम्कीलाई कसरी लिनुभएको छ? अर्का एक पत्रकारले प्रश्न सोधे।
यसको जवाफमा प्रवक्ता स्वरुपले भने, 'हाम्रो अडान क्लियर छ। हाम्रा प्रधानमन्त्री दुई चोटी नेपाल भ्रमणमा गइसकेका थिए। त्यहाँ गएर उनले संविधान वृहत् सहमतिमा आधारित भएर पपो बनोस् भनेका थिए। विदेशमन्त्रीले पनि र विदेश सचिवले पनि त्यही भनेका थिए। हामीले लेट रियलाइज गरेका हैनौँ। उतिबेलै भनेका हौँ संविधान खुसीले मनाउनु पर्ने हो, हिंसाले होइन। संविधानमा संशोधन भयो भने गतिरोध हट्छ।‘
 
उनले मधेसीसँगको समस्या कायम रह्यो भने कसरी हल हुन्छ र भन्ने प्रश्न राख्दै नेपालका राजनीतिक दलले नै आफ्नाहरुसँग कुरा गरेर हल निकाल्नुपर्ने बताए।

प्रदर्शन नभएका सीमामा पनि रोकिएको नेपालको भनाईबारे

प्रदर्शन र अवरोध नभएका सीमा नाकामा पनि अवरोध भएको बारे सीएनएन संवाददाताले सोधेको प्रश्न नसकिँदै प्रवक्ताले जवाफ फर्काए, 'हाम्रा ट्रक गइरहेका छन् त दिनहुँ।'

उनले सुरक्षाको गम्भीर चासो भएको बताउँदै वीरगञ्जमा आक्रमण भएको, नेपाली सुरक्षाकर्मीले हानेको टियर ग्याँस भारतीय भूमिमा आएको दावी गरे। त्यस्तै भारतीय ट्रक ड्राइभरलाई नेपाली भूमितर्फ पिटेको घटना उनले सुनाए।

नेपाली भूमितर्फ भारतबाट सुरक्षाकर्मीलाई लक्षित गर्दै प्रहार भएको ढुङ्गामुढाका फोटो र भिडियो सार्वजनिक भए पनि उनले त्यसलाई भने लुकाए।

आफ्नोतर्फको चासो राख्दै उनले भने, ‘यदि यसलाई तपाईँ सुरक्षा भन्नुहुन्छ भने म सहमत छैन।‘

‘भारतविरोधी भावना नेपालीकै कारण’

सबै समस्या नेपालकै थाप्लोमा राख्ने क्रममा प्रवक्ता स्वरुपले भने, ‘नेपालमा बढिरहेको एन्टी इन्डिया सेन्टिमेन्टमा चासो छ हाम्रो। तर यसको लागि को जिम्मेवार छ ? कसले गरेको ? किन ? किन भने नेपाली भूमितर्फको सीमामा अवरोध छ। नेपालका केही समुदाय असन्तुष्ट छन्। तर आरोप चैँ भारतका कारण भएको जस्तो लगाइएको छ। भारत कुनै पनि हिसाबले जिम्मेवारी छैन। नेपालको समस्या नेपाल आफैले उत्पन्न गरेको हो।

‘हामीले यस्तो सं‌विधान बनाउनु पर्छ भनेका छैनौँ,’ उनले भने, ‘नेपाल सार्वभौम राष्ट्र हो। हामीले सल्लाह मात्रै दिएका हौँ सर्वस्वीकार्य हुनुपर्छ भनेर।‘
 
सुदूर पश्चिम लगायत प्रदर्शन नभइरहेका नाकाबाट सामान पठाउने बारे सोधिएको प्रश्नमा भने उनले गोलमटोल जवाफ दिए। उनले भने, 'प्रदर्शन यति लामो समयसम्म होला भनेर हामीले अपेक्षा गरेका थिएनौँ।'

हेर्नुस् भिडियो-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell