PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नाकाबन्दीले नयाँ पत्रिकाको मूल्य बढ्यो, अब १० रुपैँया



नाकाबन्दीले नयाँ पत्रिकाको मूल्य बढ्यो, अब १० रुपैँया

  • पहिलोपोस्ट-
काठमाडौँ : नयाँ पत्रिका राष्ट्रिय दैनिकले पत्रिकाको मुल्य बढाएको छ। पत्रिकाले बिहीबार मूल्य बढाउनुको मुख्य कारण भारतको अघोषित नाकाबन्दी भएको भन्दै प्रकाशकीय समेत छापेको छ।

'भूकम्पले थिलथिलो हुँदा र झण्डै दुई महिना लामो तराई बन्दले ठूलो व्यवसायिक घाटा खाँदा पनि हामी हच्केका थिएनौ तर भारतको अघोषित नाकाबन्दीपछि कागज, मसी र इन्धनको डरलाग्दो असन्तुलन र विज्ञापनमा परेको प्रभावपछि हामी मूल्य बढाउन बाध्य भयौँ', पत्रिकाले प्रकाशकीयमा उल्लेख गरेको छ।

नयाँ प्रकाशन प्रालिले प्रकाशन गर्दै आएको नयाँ पत्रिका दैनिकको मूल्य ५ रुपैयाँ रहेको थियो। अब प्रत्रिकाको मूल्य १० रुपैयाँ हुनेछ। प्रकाशकीयमा १६ पेजको पत्रिका छाप्न १८ रुपैयाँ खर्च हुने गरेको समेत पाठकलाइ जानकारी दिएको छ। १० रुपैयाँमा पत्रिका छाप्ने कागज समेत नआउने पत्रिकाले जनाएको छ।

१० रुपैयाँ मूल्य कायम राख्नुलाई जायज भएको भन्दै पत्रिकाले अहिले बजारमा कालो चिया समेत १० रुपैयाँमा नआउने अवस्थाको उदाहरण दिएको छ। साथै पत्रिकाले यो निर्णय अप्रिय र विवशपूर्ण भन्दै आगामी दिनमा हेरफेर गर्ने संकेत गरेको छ।

२०६८ साल मंसिर २७ गते देखि कान्तिपुर, नागरिक र अन्नपूर्ण पोस्टले मूल्य १० रुपैयाँ बनाएका थिए। महङ्गीका कारण पत्रिकाको मूल्य बढाउनुपरेको त्यतिबेला ती पत्रिकाहरुले प्रकाशकीय छाप्दै उल्लेख गरेका थिए। नयाँ पत्रिका, राजधानी र समाचारपत्रले भने मूल्य बढाएका थिएनन्।

तर नयाँ पत्रिका दैनिकले पनि यसबीचमा एकपटक ५ रुपैयाँबाट मूल्य वृद्धि गरेपनि पछि फिर्ता लिँदै पुरानो मुल्य कायम गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell