PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रश्नावली निर्माण र सहमति प्रयास सँगसँगै



प्रश्नावली निर्माण र सहमति प्रयास सँगसँगै
बैठकमा एमाओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले प्रमुख सचेतक अग्नि खरेल। तस्बिरः केपी शर्मा ओलीको फेसबुक।

मनोज सत्याल/पहिलोपोस्ट
काठमाडौं : मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी संविधानका विवादित विषयमा प्रश्नावली निर्माण र सहमतिको प्रयास सँगसँगै अगाडि बढाउन सहमत भएका छन्।

बुधवार सभामुख सुवासचन्द्र नेम्वाङ सहित तीन दलका नेताको बैठकमा प्रश्नावली सचिवालयले तयार गर्ने र सहमति निर्माणको प्रयास जारी राख्ने सहमति भएको हो।

बैठकपछि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सचिवालयले प्रश्नावली तयार गर्दै जाने र दलहरु सहमतिको प्रयासमा जुट्ने सहमति भएको बताए।

'सचिवालयले प्रश्नावली तयार गर्दै जाने, हामी यता सहमतिको प्रयास पनि गर्दै जाने कुरा भयो,' पौडेलले भने, 'जोड सहमति निर्माणमा हो, तर सहमतिको नाममा प्रश्न नै नबनाउने भन्ने होइन।'

बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले प्रश्नावली निर्माण सहज नभएको भन्दै त्यसमा पनि सहमति आवश्यक रहेको बताए। नेम्वाङले प्रक्रियाका विषयमा दलहरुलाई जानकारी गराएका थिए।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले दलहरु सहमतिको आवश्यकतामा एकमत रहेको बताए।

दलहरुबीच राज्यको शासकीय स्वरुप, राज्यको पुर्नसंरचना, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति जुटेको छैन।


म जत्ति लचिलो कोही छैन: ओली

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू संघीयता नै नमान्ने मान्छे तीन प्रदेशबाट पाँच हुँदै सात प्रदेशमा पुगेको उल्लेख गर्दै आफू जत्तिको लचिलो कोही नभएको बताए।

अध्यक्ष ओलीले संवाद समितिमा सहमतिको नाममा रुमल्लिनुको अर्थ नभएको बताए। 'संविधान जारी नगर्दासम्म सम्वाद र सहमतिको प्रयास जारी रहन्छ', ओलीले भने, 'समितिमा त्यही कुरा फर्काएर ल्याउनु र रुमल्लिरहनुको अर्थ छैन। त्यसलाई प्रक्रियामा लैजानुपर्छ।'
ओलीले सहमतिको सम्भावना कम रहेकाले सकेसम्म अत्यधिक विषयमा सहमतिमा जान सके राम्रो हुने बताए।

'हामी सहमति सम्वादको बाटोबाट भरसक कसैको विरोध नरही संविधान जारी गरौँ भन्नेमा छौँ। त्यसो गर्दा लोकतन्त्र अस्वीकार गर्ने, जनतामा घृणा दोष फैलने, जनताको मनमा विभाजित हुने खालका अथवा आधुनिकीकरण र समृद्धिको चाहनामा नोक्सान पर्ने खालका विषयमा हामी सहमत हुन सक्दैनौँ', ओलीले भने, 'देशलाई अराजतकता र हिंसातर्फ लैजाने विषयमा सहमत हुन सक्दैनौँ। यो हाम्रो बटमलाइन हो। यो कसैको विरुद्धमा होइन यो देशका पक्षको लोकतन्त्रको पक्षका बटमलाइन हो।'  

बिहीवार बेलुकासम्म सहमति नभए प्रक्रियामा सोचौँला: प्रचण्ड

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बिहीवार बेलुकासम्म सहमति नभए प्रक्रियामा कसरी जाने भन्ने तय हुने बताए।

'समस्या गम्भीर नै छ। मूल मुद्दामा छलफल केन्द्रित रुपमा आएको छ। भोलि सहमतिको अन्तिम दिन छ। पर्सी प्रतिवदेन बुझाउनु छ', प्रचण्डले भने,'भोलि बेलुकासम्म पनि भएन भने प्रक्रिया कसरी लैजाने भन्ने विषयमा सौचौँला भन्ने भयो।'

दलहरु छलफलमा सक्रिय

संविधानका विवादित विषयमा सहमतिको प्रयास स्वरुप एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधवार कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौला तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै छलफल गरेका थिए। अध्यक्ष प्रचण्डले राजनीतिक संयन्त्रको प्रमुख भएकाले पनि औपचारिक/अनौपचारिक छलफल गरेको बताए।

बुधवार नै कांग्रेसले मधेस केन्द्रित दलका नेताहरुसँग छलफल गरेको थियो। त्यस्तै एमाओवादी सहितका २२ दलीय गठबन्धनको समेत बैठक बसेको थियो।

यो पनि हेर्नुस्-
बिहीबारसम्म सहमति नभए के हुन्छ? के हो प्रक्रिया भनेको?
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell