PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​तत्कालै सीमांकन गर्नुपर्ने मोर्चाको अडान, नाकाबन्दी नखोल्ने



​तत्कालै सीमांकन गर्नुपर्ने मोर्चाको अडान, नाकाबन्दी नखोल्ने

  • मनोज सत्याल/पहिलोपोस्ट-
काठमाडौं : प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच आज बसेको बैठकमा पनि सहमति जुट्न सकेन। मधेशी मोर्चाले तत्काल राजनीतिक सहमतिबाट संघीय प्रदेशहरुको सीमांकन टुंग्याउनुपर्ने अडान राखेपछि सहमति हुन नसकेको हो।

प्रमुख तीन दलका वार्ता टोलीका सदस्यहरुले भने संघीय आयोगले सीमांकन टुंग्‍याउने प्रावधान संविधानमा नै रहेकाले आयोग नबनाइ राजनीतिक सहमतिबाट टुंग्याउन नसकिने बताएका थिए।

वार्तामा प्रमुख तीन दलको एकमुष्ट धारणा पनि नआएको र मधेशमा निषेधाज्ञा जारी रहेको, मृत्यु भएकाहरुलाई सहिद घोषणा नगरेकाले वार्तामा सहमति नभएको बताए। 'तीन दलको एकमुष्ट धारणा पनि आएन, कर्फ्यु र निषेधाज्ञाहरु पनि जारी छन्, मृतकलाई सहिद घोषणा पनि गरिएको छैन, त्यसैले सहमति हुन सकेन'  सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने।

प्रमुख तीन दलको तर्फबाट वार्ताटोली सदस्य वनमन्त्री महेश आचार्यले संघीय आयोग बनाउने ब्यवस्था संविधानमा नै रहेकाले त्यसविरुद्ध सहमति गर्न नसकिने बताए। उनले संघीय आयोग बनाउँदा राजनीतिक सहमति भने गर्न सकिने बताए। 'सीमांकनको विषय संघीय आयोग बनाएर टुंग्याउने प्रवधान छ, हामी तत्काल संघीय आयोग बनाउन तयार छौं र त्यसका लागि राजनीतिक सहमति गर्न पनि तयार छौं'आचार्यले भने 'संविधानमा भएको ब्यवस्थामा हामीले निर्णय लिन सक्दद्दौं।'

प्रमुख तीन दलका वार्ता टोली सदस्यले मधेशी मोर्चालाई नाकाबन्दीको कार्यक्रम परिवर्तन गर्न आग्रह गरेपनि उनीहरुले अस्वीकार गरे। वार्ता अर्को मिति नतोकी स्थगित भएको छ। अर्को मिति केही दिनमा टेलिफोनबाट तय गर्ने सहमति भएको मधेशी मोर्चाका वार्ता टोली सदस्य तथा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell