PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

इन्धनमा अझै नाकाबन्दी, ४० मा ४ ट्याङ्करले मात्र पायो तेल



इन्धनमा अझै नाकाबन्दी, ४० मा ४ ट्याङ्करले मात्र पायो तेल

  • विज्ञान अधिकारी/पहिलोपोस्ट-
काठमाडौं: शनिबार नाकाबन्दी खुलाएको दावी गरेको भारतले आज फेरि पेट्रोलियम पदार्थ नेपाल पठाउन अस्वीकार गरेको छ। 

इन्डियन आयल कर्पोरेशन (आइओसी) ले शनिवार राती नेपालले मागेजति पेट्रोलियम पदार्थ दिने भनेको थियो। पूर्वप्रतिवद्धता अनुसार नेपालले सिलगुडी डिपोमा ४० वटा ट्यांकर तेल भर्न पठायो, तर जम्मा चार वटालाई मात्र तेल दिने जानकारी भारतीय पक्षले गरायो।

 सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात हुने रक्सौल डिपोमा पुगेका ६३ ट्यांकरमध्ये १० वटाले मात्र तेल पाउने आइओसीले जानकारी दिएको छ। भारतले नाकाबन्दी फिर्ताको दावी गरिरहँदा रक्सौलबाहेकका नाकाहरु मात्र खुल्ने जानकारी नेपाली पक्षलाई दिएको थियो। रक्सौलमा मधेसी समुदायको आन्दोलनका कारण ७० प्रतिशत आयात हुने नाकाबाट मालबस्तु पठाउन नसकिने तर्क भारतीय पक्षको थियो।

आयल निगमका प्रवक्ता दीपक बरालले आइओसीले प्रतिवद्धता विपरित तेल दिन अस्विकार गरेको जानकारी दिँदै भने 'आइतबार भारतमा बिदा भएपनि तेल दिने जानकारी शनिवार राति गराइएको थियो, हामीले त्यही अनुसार ट्यांकर पठायौ तर उनीहरु माथिको आदेश भन्दै एकदमै न्युन मात्रै तेल दिइरहेका छन्।' 

 निगमका अधिकारीसँगको शनिबारको छलफलमा माग अनुसार तेल दिने प्रतिवद्धता जनाएका थिए। तेल दिने प्रतिवद्धता अनुसार निगमले रातीनै सबै ट्यांकरलाई भारतीय डिपोमा पठाएको थियो। ‘आइओसीको ब्यवहारले हामी विश्वस्त हुन सकेनौ। तेल आपूर्ति सहज हुने अवस्था अझै देखिदैन,’ बरालले भने, ‘माग अनुसार तेल नदिएसम्म हामी आश्वस्त हुन सक्दैनौं।’ 

निगमले शनिबारनै रक्सौंल, बरौनी, वेतालपुर, सिलगुढी लगायतका डिपोमा तेल लिनको लागि ट्यांकर पठाएको थियो। भारतले शनिबार आफ्ना सबै निकायलाई नाकाबन्दी फिर्ता लिएर सहज रुपमा ढुवानी आवागमन सहज बनाउन निर्देशन दिएको दावी गरेको थियो।  भारतीय दावीपछि रक्सौल नाका नखुले पनि पेट्रोलियम पदार्थ लगायत अन्य बस्तुको आपुर्ति सहज हुने अपेक्षा गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell