PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​भारतले भन्यो : मागेजति तेल दिन्छौं



​भारतले भन्यो : मागेजति तेल दिन्छौं

  • विज्ञान अधिकारी -
काठमाडौं : भारतको अघोषित नाकाबन्दीपछि कुनै प्रतिक्रिया नजनाएको इन्डियन आयल कर्पोरेसन(आइओसी)ले सोमबारबाट नेपालले मागे अनुसार तेल दिने प्रतिवद्धता जनाएको छ।
 
आयल निगमले पटक/पटक पत्र पठाएर माग अनुसार पेट्रोलियम पदार्थ पठाउन गरेको आग्रहलाई वेवास्ता गर्दै आएको आइओसीले सोमबारबाट माग अनुसार लोडिङ दिने प्रतिवद्धता जनाएको हो। निगम उच्च स्रोतका अनुसार निगमका अधिकारी र आइओसीका अधिकारीबीच शनिबार भएको टेलिफोनमा भएको कुराकानीमा यस्तो प्रतिवद्धता आएको हो। आइओसीले गरेको प्रतिवद्धतामा भने निगमका अधिकारी अझै आश्वस्त भने हुन सकेका छैनन्।
 
‘आइओसीले सोमबारबाट मागे अनुसार पेट्रोलियम पदार्थ दिने प्रतिवद्धता जनाएको छ। तर हामी उनीहरुसँग अझै आश्वस्त हुन सकेका छैनौ,’ निगमका एक अधिकारीले भने, ‘भारतको अघोषित नाकाबन्दीपछि उनीहरुको भनाइ र गराइमा धेरै फरक पायौ। सोमबारदेखि हाम्रो माग अनुसार पेट्रोलियम पदार्थ दिएपछि मात्रै ढुक्क हुन सक्छौ।’
 
स्रोतका अनुसार रक्सौंल नाका संचालन नआएसम्म पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या भइरहन्छ। नेपालमा खपत हुने पेट्रोलियम पदार्थमध्ये ७० प्रतिशत रक्सौल नाका भएर भित्रिन्छ। यो नाकाबाट पेट्रोलियम पदार्थ आएसम्म आपूर्ति सहज बनाउन सकिँदैन। अझ अहिले रक्सौलमा खाना पकाउने ग्यास बोकेका दुई सय भन्दा बढी बुलेट रहेकोले यो नाका नखुलाई समस्या समाधान हुँदैन। रक्सौल नाकाबाट तेल दिने बारेमा भने अझै आइओसी मौन छ।
 
मधेसी मोर्चाले नेपाल-भारतको सीमा दशगजामा गएर धर्ना दिइरहेका छन्। त्यही धर्नालाई मध्यनजर गरेर आइओसी मौन बसेको हुनसक्ने निगम अधिकारीहरुको अनुमान छ। आइओसीले रक्सौल बाहेकका डिपोबाट तीन दिनदेखि नेपालको लोडिङ बढाएर दिन थालेका थिए। निगमका भैरहवा डिपो प्रमुख दिनेश यादवका अनुसार आइओसीले बिहीबार ६ वटा ट्यांकरमा तेल भरेर पठाएको थियो। त्यो भन्दा अघि एक/दुई वटा ट्यांकरमा मात्रै तेल दिइएको थियो।
 
‘हामीलाई आइओसी केही लचिलो भएको जानकारी पाएका छौं। उनीहरुले लोडिङ समेत बढाउन थालेका छन्,’ उनले टेलिफोनमा भने, ‘भारतीय भन्सारका अधिकारीको व्यवहारमा समेत परिवर्तन आएको पाइएको छ।’ आइओसीलाई कडा पत्र स्रोतका अनुसार निगमले शुक्रबार आइओसीलाई पेट्रोलियम पदार्थको आपूर्ति रोक्दा भएको समस्यासहितको कडा पत्र पठाएको छ।
 
निगमले शुक्रबार पठाएको पत्र अहिलेसम्मकै कडा भएको स्रोतले बतायो। लामो व्यवसायिक संस्थाले तेल आपूर्तिलाई राजनीतिक रुपमा जोडेर रोकेको भन्दै निगमले आपत्ति जनाएको स्रोतले बतायो। तेलको आपूर्ति रोकिदा जनजीवन समेत अस्तव्यस्त भएको भन्दै अझै आपूर्ति रोकिए वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आउने चेतावनी दिइएको स्रोतले बतायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell