PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

जनकपुर पुगेर भट्टराईले भने - मधेशी र पहाडीको सम्बन्ध विग्रनुहुँदैन



जनकपुर पुगेर भट्टराईले भने - मधेशी र पहाडीको सम्बन्ध विग्रनुहुँदैन

जनकपुर : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तराई मधेशमा भएको आन्दोलनले मधेशी र पहाडीबीचको सम्बन्ध विग्रन नहुने बताएका छन्।

आज जनकपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने ‘पहाड र तराई–मधेशको बीचमा हजारौं वर्षदेखि असल सम्बन्ध रहिआएको छ तर शासक वर्गका केही मान्छेहरु यसलाई विगार्न लागेका छन्, यो सम्बन्ध विग्रन दिनुहुँदैन।’

एकीकृत नेकपा माओवादी छाडेको घोषणा गरेका र मधेश आन्दोलनको समर्थनमा अभिब्यक्ति दिँदै आएका भट्टराई आज सभासलाई संबोधन गर्न जनकपुर नै पुगेका हुन्। उनी यसअघि गएको शुक्रबार जनकपुर जाने तयारी गरेपनि आफु विरुद्ध प्रदर्शन हुने सूचना पाएपछि भ्रमण स्थगित गरेका थिए। आज पनि उनी जनकपुरमा हुँदा उनी विरुद्ध प्रदर्शन भएको थियो।

भट्‍टराईले  अखण्ड नेपालभित्र स्वायत्त मधेश हुनुपर्ने भन्दै आन्दोलन पहाडी समुदायको विरुद्ध हुन नहुने बताए। ‘पहाडमा बस्ने कतिपय शासकवर्ग जो आफूलाई मात्रै नेपाली सम्झन्छन् उनीहरु मधेशमा हजारौं सालदेखि बस्ने भूमिपुत्र मधेशी/थारुहरुलाई नेपाली मान्दैनन्'  भट्टराईले भने 'समस्याको जड यही हो। मधेशी/थारुले आफ्नो पहिचान र सम्मान पाउनुपर्छ।’

संविधानसभाको संवाद समितिको सभापति हुँदा तराई–मधेश र थरुहटको माग सम्बोधन गर्न निकै कोशिश गर्दा पनि असफल भएको भन्दै उनले अहिले पनि मधेशी र थारु समुदायको माग संबोधन गर्न सक्रिय हुने बताए। ‘अहिले पनि संविधान संशोधन गर्न सकिन्छ, संविधान संशोधन गरेर तराई–मधेश र थारु समुदायको माग सम्बोधन गर्नुपर्छ। यसका लागि म पूरै कोशिश गर्नेछु’ उनले भने।

अहिले जारी भएको संविधान पूर्ण नभएकोले जबसम्म तराई–मधेश र थरुहटको माग पूरा हुँदैन तबसम्म दिपावली मनाउनु उपयुक्त नहुने भट्टराईले बताए।

तराई–मधेश र थारुहरुको जायज मागलाई शासक वर्गले नसुनेकै कारण यसको नाजायज फाइदा उठाउँदै छिमेकी भारतले सीमामा अवरोध गरेको भन्दै उनले काठमाडौं र दिल्लीका शासक वर्गको बीचको लडाईंबाट सबै नेपालीहरुले पीडा खेप्नुपरेको प्रतिक्रिया दिए।

‘म काठमाडौं पुगेर शासकवर्गसँग मधेशको समस्या वार्ताद्वारा समाधान खोज्न र सीमामा देखिएको समस्यालाई दिल्लीसँग कुटनीतिक तरिकाबाट वार्ता गरी समाधान गर्न भन्नेछु’, उनले भने ‘हामीले भारत र चीन दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ। कुनै पनि छिमेकीसँग दुश्मनी साँधेर समस्याको समाधान हुँदैन।’
 
डा. भट्टराईले आज संबोधन गरेको मञ्चमा पछि तोडफोड समेत भएको छ। भट्टराईको निजी सचिवालयले कांग्रेस नेता तथा मन्त्री विमलेन्द्र निधी समर्थक युवाले मञ्च तोडफोड गरेको आरोप लगाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell