PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जाबो भातै खान नदिएको कुरा पनि गाँइगुँइ गर्ने? हामीलाई त त्यसो पो भने – ओली



  • मनोज सत्याल/पहिलोपोस्ट-
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीको विरुद्धमा बोल्दा विभिन्न प्रश्न उठाइएको बताएका छन्।

उद्योगी व्यवसायीसँग राजधानीको होटल याक एण्ड यतिमा भएको अन्तरक्रिया कार्यक्रममा ओलीले 'नाकाबन्दी गर्नु त भएन नि भनेर टिप्पणी समेत गर्न नहुने' अवस्था सिर्जना भएको खुलाएका हुन्।

ओलीले व्यवसायीहरुसँगै खुलेरै नाकाबन्दीको विरोधमा बोल्ने अवस्था नरहेको बताएका हुन्। 

'कस्तो छ भने अरुले विभिन्न ढंगले निहुँ खोजेर नाकाबन्दी गर्न हुने, हामीले नाकाबन्दी गर्न त भएन नि! भन्न नहुने। ए बोल्ने – अँ हामीसँग बोल्ने? हाम्रो विरुद्ध बोल्ने? टिप्पणी गर्ने?', ओलीले भने – 'जाबो नाकाबन्दी लगाएको, ग्याँस बाल्न नदिएको, गाडी चल्न नदिएको, भातै खान नदिएको कुरा सम्म पनि गाँइगुँइ गर्ने? हामीलाई त त्यसो पो भने त।'

ओलीले उद्योगीहरुलाई आफ्नो व्यापरिक साझेदार र सम्बन्ध रहेका विभिन्न अर्गनाइजेनसँग नाकाबन्दीका विषयमा सोधखोज र छलफल गर्ने आग्रह गरे।


'हामीले उद्योग धन्दा खोलेपनि। यहाँ सामानहरु उत्पादन गरेपनि, नियार्तमुलक उद्योगहरु स्थापना गरेपनि। निर्यात फेरि त्यहि बाटो भएर जानुपर्छ। यदि त्यो बाटो यस्तै हुने हो भने के होला? तपाईंहरुको मनमा हुन सक्छ। तर यस्तो त हुँदै हुँदैन। तपाईंहरु आफ्ना संस्थामार्फत काउन्टर पार्टसहरुलाई पनि भन्नुहोस्। छलफल गर्नुस् कुराकानी गर्नुस् – २१ औँ शताब्दी प्रारम्भ भएपछिको लोकतन्त्र यस्तै पो हो कि? अन्तर्राष्ट्रिय सम्बन्धको मोडल यहि हो कि? डब्लुटिओको परिभाषा यहि हो कि? साफ्टा भनेको यहि पो हो कि? अरु इन्टरनेशनल सम्बन्धो अर्थ यिनै हुन् कि? तपाईंहरु पनि सोध्नुहोस्', ओलीले भने। 
 
ओलीले अहिले केही मानिसहरुले गलत ढंगले परिस्थिति सिर्जना गर्न खोजेको आरोप लगाए। 'केही मान्छेहरुले गलत ढंगले परिभाषित गर्न खोजे', ओलीले भने, 'यसले भारत सरकार नेताहरुलाई, पार्टीहरुलाई, कसैलाई पनि वाहीवाही दिन सक्दैन। यसले भारतको छविको नोक्सान पुग्छ।'

नेपालले संविधान बनाएर केही गलत काम नगरेको उनको दावी छ। 'के अब दुनियाँमा कमजोर, साना भूपरिबेष्ठित देशहरु बाँच्न सक्दैनन्। अथवा बाँच्ने हो भने के/के गर्नुपर्छ? के गरे मात्र बाँच्ने?', ओलीले प्रश्न गरे 'नेपालले केही गरेको छैन। हामीले केही गरेको त छैन। हामीले हाम्रा उपलब्धीहरु संस्थागत गर्‍यौ। अगाडि बढ्ने बाटो बनायौँ। संविधान जारी गर्‍यौँ।'

ओलीले अहिले जारी नाकाबन्दीको अवस्था क्षणिक भएको बताए। उनले भारत नेपालले संविधान जारी गर्दा नाखुस भएकोमा अचम्म लागेको उल्लेख गरे। 'अचम्म लाग्छ यस्तो पनि हुँदो रहेछ। यस्तो पनि देखिदोँरहेछ', ओलीले टिप्पणी गरे, 'तर यो कुरा टेम्पोररी हो। यस ढंगले अगाडि जान सक्दैन। यस ढंगले कायम रहन सक्दैन।'

उनले अहिले देखिएको अवस्था टेम्पोररी फेनोमेना भएको भन्दै उद्योगी व्यवसायीलाई आश्वस्त पार्न खोजे। ओलीले नेपाल र भारतबीचको सम्बन्ध अहिलेकै जस्तैगरी जान र व्यवहारहरु कायम रहन सम्भव नरहेको बताए। उनले अहिलेको अवस्था केही समयमै सकिने बताए।

एमालेले उद्योगीहरुलाई संविधानमा अहिले भएको व्यवस्था र तराई/मधेशमा आन्दोलनमा उठेको मागका विषयमा जानकारी गराएको थियो। नेपाल बार एशोसिएशनका उपाध्यक्ष टीकाराम भट्टराईले नागरिकता, समावेशिता लगायतका विषयमा उठेको प्रश्नका विषयमा उद्योगीहरुलाई जानकारी गराएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell