PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नेपालमा बलि रोक्न बेलायतमा प्रदर्शन



नेपालमा बलि रोक्न बेलायतमा प्रदर्शन

काठमाडौँ : बेलायतमा गोर्खा सैनिकलाई समान अधिकार दिलाउन संघर्षरत अभिनेत्री जोआना लुम्लीको नाम फेरि एक पटक नेपालसित जोडिएको छ। यस पटक उनी बिल्कुल फरक भूमिकामा छिन्। अहिले उनको नारा छ- नेपाल नाइँ भन  (नेपाल से नो*)। हरेक पाँच वर्षमा बाराको गढिमाइमा हुने गरेको मेलाका क्रममा हुने बलि रोक्न थालिएको अभियानको उनले नेतृत्व गरेकी छिन्।

शनिबार लन्डनस्थित नेपाली दूतावासबाहिर गरिएको प्रदर्शनमा उनी लगायत उनका समर्थकहरुले गढिमाइ मेलामा दिइने बलि बन्द गर्नुपर्ने माग गरेका थिए। 

'यो अमानवीय कार्य मूल हिन्दु विश्वासको भाग होइन,'  बेलायतको डेली मेलसित उनले भनेकी छिन्, 'यो रक्तपिपासुपना हो।' 

आफूलाई नेपाल भूमि र त्यहाँका बासिन्दा मन पर्ने बताउँदै उनले यो परम्परा नेपालको विसंगति भएको बताइन्। 

बेलायतस्थित नेपाली हिन्दु मञ्चका अध्यक्ष सूर्य उपाध्यायले पनि कुनै पनि धर्मको नाममा निर्दोष जनावरलाई बर्बरतापूर्ण बलि दिन नहुने बताएका छन्।

यो विरोधको आयोजना कम्पायसन इन वर्ल्ड फार्मिङ नामको पशु अधिकारवादी बेलायती गैरसरकारी संस्थाले गरिरहेको छ। लुम्ली सोही संस्थाकी दूत हुन्। 

४० वर्षअघि एक बेलायती किसानले सुरु गरेको यो संस्थाले पशु अधिकारका लागि राजनीतिक लबिङ र क्याम्पेनिङ गर्ने गर्छ। यो संस्थालाई विरोधका लागि पूर्व राजा ज्ञानेन्द्र शाहकी भतिजी बुहारी (नीर शमशेर राणाकी नातिनी) प्रमदा शाह अध्यक्ष रहेको एनिमल वेलफेयर नेटवर्क नेपालले  क्याम्पेनिङ गरेको हो। 

विश्वको सबैभन्दा ठूलो पशुबलि मेलाको संज्ञा दिँदै शाहको पशु अधिकारवादी संस्था र बेलायती संस्थाले यसविरुद्ध अहिले इन्टरनेटमा हस्ताक्षर अभियान चलाइरहेको छ। 

त्यसैबाट संकलित करिब ८० हजार हस्ताक्षरसहित लुम्लीले विरोध पत्र नेपाली दूतावासलाई शनिबार बुझाएकी हुन्। 
 
छ वर्षअघि स्थापना गरिएको एनिमल वेलफेयर नेटवर्क नेपाल नामको यो पशु अधिकारवादी संस्थाले पाँच वर्षअघिको गढिमाई मेलाको बलि प्रथाविरुद्ध पनि भारत, फ्रान्स र बेलायतका संस्थाहरुसँग मिलेर अभियान चलाएको थियो। 

यस पटकको गढिमाइ मेलामा मंसिर १२ गते बलि दिने कार्यक्रम छ। नेपाल तथा भारतबाट आएका भक्तजनले सो दिन हजारौँ पशुपंक्षीको बलि दिने गर्छन्। । बलिको लागि त्यहाँ ४ बिघा जमिनमा एकै पटक २० हजार राँगा काट्न सक्ने व्यवस्था मिलाइएको हुन्छ।







गढिमाइ मेलाबारे नेपाल वातावरण पत्रकार समूहले तयार पारेको पुरानो वृत्तचित्र

(* सच्याइएको)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell