PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

के सजाय होला पारसलाई?



के सजाय होला पारसलाई?

पहिलोपोस्ट-
काठमाडौँ :
लागू पदार्थको केसमा तेस्रो पटक थाइल्यान्डमा पक्राउ परेका पूर्व युवराज पारस शाहलाई धरौटीमा छाडिने सम्भावना निकै कम छ। थाइ ब्लगमा प्रकाशित फोटो र समाचारमा पारस गाँजा र लागू औषधी मेथाम्फेटामिनसहित पक्राउ परेको बताइएको छ।
 
थाइल्यान्ड लागू पदार्थविरुद्ध अत्यन्तै कडा कानुन भएको देशमध्ये एक हो। मुख्यत दुई कानुन नार्कोटिक्स एक्ट १९७९ र साइकोट्रोपिक सब्सटेन्स एक्ट १९७५ अनुसार यस्ता मुद्दाको छिनोफानो गरिन्छ।
 
हिरोइन, अफिम, कोकिन जस्ता कडा किसिमका लागू पदार्थ सम्बन्धित मुद्दा हो भने मृत्युदण्ड वा आजीवन कारावाससम्मको सजाय हुनसक्छ।
 
गाँजालाई भने त्यति कडा सजाय तोकिएको छैन। नार्कोटिक्स एक्टमा गाँजालाई पाँचौँ श्रेणीमा राखिएको छ जसमा अदालतबाट दोषी ठहरिए १५ लाख भाट जरिवाना र १५ वर्षसम्म जेल सजाय हुनसक्छ।
 
त्यस्तै अर्को कानुन साइकोट्रोपिक सब्सटेन्स एक्ट १९७५ मा गाँजालाई सेड्युल १ श्रेणीमा राख्दै किन्ने, बेच्ने, उत्पादन गर्ने वा प्रयोग गर्नेलाई बढीमा २० वर्षसम्म जेल वा ४ लाख भाटसम्म सजाय हुनसक्छ।
 
यद्यपि कम परिमाण (१० किलोभन्दा कम) गाँजासहित पक्राउ परेकालाई भने खासै कडा सजाय गरिँदैन। थाइ पर्यटकीय क्षेत्रमा गाँजासहित पर्यटकहरु बारम्बार पक्राउ परिरहेका हुन्छन्।
 
पहिलो पटक पारस पक्राउ पर्दा  फुकेटमा रहेको उनको निजी निवास छापा मारेको प्रहरीले ३ दशमलव ४ ग्राम गाँजामात्रै फेला पारेको थियो। त्यतिबेला एक रात हिरासतमा काटे पनि १० हजार भाट धरौटीमा त उनी छुटेका थिए। अदालतले उनलाई सुधार गृह पठाएको थियो।
 
अक्टोबर २०१२ मा उनी फेरि फुकेटमा गाँजासहित पक्राउ परेका थिए। त्यतिबेला पनि उनी धरौटीमा नै रिहा भएका थिए।
 
तेस्रो पटक लागू पदार्थसँग सम्बन्धित मुद्दामा पक्राउ पर्नु र गाँजासहित मेथाम्फेटामिन पनि बरामद हुनुले उनले धरौटी नपाउने अवस्था पनि हुनसक्छ।
 
अदालतमा प्रहरीले लगाएको अभियोग प्रमाणित भयो भने उनले एक वर्षसम्मको जेल सजाय र १० हजार भाटसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ।
 

मलाई फसाइयो : पारस

पूर्व युवराज पारसले चलाउने विश्वास गरिएको र उनका पछिल्ला फोटोहरु अपलोड हुने फेसबुक अकाउन्टमा ६ अक्टोबरमा मोबाइलमा एसएमएस हेर्दै गरिएको भिडियोसहित एउटा स्टायटस अपडेट भएको छ, जसमा थाइल्यान्डको अदालतले आफूलाई फुकेट मुद्दामा सफाइ दिएको उल्लेख गरिएको छ।
 
 
आफूलाई आरोप स्वीकार्न लगाएर फसाइएको स्पष्टीकरण पनि उनले दिएका छन्। 'मैले आरोप अस्वीकार गरेको भए प्रहरी मेरो विरुद्ध हुन्थ्यो र म यहाँ बस्दासम्म प्रहरीविरुद्ध हुन चाहन्न', उनले लेखेका छन्।
 
'आफूलाई फसाइएको प्रमाण आफूसँग भएको भन्दै उनले लेखेका छन्, फुकेटको मुद्दामा सफाइ पाउने बित्तिकै मलाई फेरि फसाइनु नै मानिसहरुलाई कुरा बुझ्न पर्याप्त छ,' नीलो रङ्गमा भगवान शिवको प्रोफाइल पिक्चर राखिएको पारस शाह लेखिएको फेसबुक पेजको स्टायटसमा लेखिएको छ।

​यो स्टायटस उनी आफैले लेखेका हुन् कि हैनन् भन्ने स्वतन्त्र पुष्टि भने हुन सकेको छैन। 
 
उनी पक्राउ परेको फोटोसहितको समाचार भने थाइ ब्लगमा ८ अक्टोबरमा प्रकाशित छ।
 

सँधै विवादको घेरामा

गणतन्त्र घोषणा भए लगत्तै सिंगापुर गएका पारस बीचमा नेपाल फर्किएका थिए। नेपालमा रहँदा चितवनको टाइगर टप्स रिसोर्टमा चार वर्षअघि कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरीबीच भएको विवादमा हवाइ फायर गरेको भन्दै उनलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो।
 
०६७ फागुन २८ गते पक्राउ परेर सार्वजनिक अपराध अभियोग लगाइएका उनलाई जिल्ला प्रशासन कार्यालयले 'आइन्दा यस्तो नगर्ने' सर्तमा रिहा गरेको थियो। त्यसपछि उनी बैंकक गएका थिए।
 
२०५७ साउन २२ मा गायक प्रवीण गुरुङको सवारी दुर्घटनामा मृत्यु भएपछि उनले दुर्घटना गराएको भन्दै उनलाई तत्कालीन शाहज्यादा पदबाट बर्खास्त गरिनु पर्ने भन्दै हस्ताक्षर अभियान भएको थियो।  पारसलाई जोगाउन त्यतिबेला नक्कली चालक खडा गरिएको थियो।
 
२०५८ मा नारायणहिटीमा भएको दरबार हत्याकाण्डपछि राजा भएका ज्ञानेन्द्रले यही अलोकप्रियताका कारण उनलाई तत्काल युवराज घोषणा गरेका थिएनन्। दशैँको मौका छोपेर उनलाई युवराज घोषणा गरिएको थियो।
 
युवराज भएपछि उनी एभरेस्ट होटलमा आफ्नी श्रीमती हिमानीलाई तर्साउन हवाइ फायर गरेको भन्दै फेरि विवादमा तानिए। हिमानीसँगको झगडाका कारण उनले गोली चलाएको भनिए पनि घटना गुपचुप नै राखिएको थियो।
 
२०६८ जेठमा पारसले बहिनीज्वाइँ राजबहादुर सिंहलाई कुटेको खबर सार्वजनिक भएको थियो। बहिनीलाई दुःख दिएको भन्दै उनले याक एन्ड यतीको रोयल क्यासिनोमा पुगेर सिंहलाई कुटेका थिए।
 
उनलाई भारतीय मिडियाहरुले नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न भएको आरोप पनि लगाएका थिए। पारसले त्यसको खण्डन गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell