PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​२२ दलको आन्दोलन सुरु



​२२ दलको आन्दोलन सुरु

काठमाडौँ :  प्रमुख प्रतिपक्षी एकीकृत नेकपा (माओवादी)सहित २२ दलको मोर्चाले नयाँ संविधानमा पहिचानसहितको सङ्घीयताका लागि दबाब दिन आन्दोलन सुरु गरेका छन्। आन्दोलनको पहिलो दिन ती दलले शुक्रबार माइतीघर मण्डलदेखि संविधानसभा भवन बाहिर बानेश्वरसम्म नाराजुलुस गरे।
 
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भने पार्टी कामका लागि सिरहा गएकाले कार्यक्रममा उपस्थित भएनन्।  फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, तराई –मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत सहभागी थिए।


यी हुन् आन्दोलनरत २२ दल

सङ्घीय गणतान्त्रिक मोर्चामा आवद्ध दलहरू : एनेकपा माओवादी, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनाधिकार फोरम नेपाल, सदभावना पार्टी, सङ्घीय समाजवादी पार्टी, नेपाल, तराई मधेस सदभावना पार्टी, 

पहिचानमा आधारित सङ्घीय गठवन्धनमा आवद्ध दलहरू : आदिवासी जनजाति पार्टी नेपाल, खम्बुवान राष्ट्रिय मोर्चा, थरुहट तराई पार्टी, नेपाल, नेपाः राष्ट्रिय पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, सङ्घीय लिम्बुवान पार्टी नेपाल

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय गठवन्धनमा आवद्ध दलहरू :  सङ्घीय गणतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, खस समावेशी राष्ट्रिय पार्टी, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सवादी), लोक दल, बहुजन समाज पार्टी, नेपाल, लोकतान्त्रिक जनता पार्टी, लोकतान्त्रिक पार्टी नेपाल

 
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाओवादीका महासचिव कृष्णबहादुर महराले  पहिचानविरोधी संविधान बनाउने प्रयत्न भइरहेको आरोप लगाउँदै त्यसविरुद्ध आफूहरूले सदन र सडक दुवैबाट प्रतिरोध गर्ने चेतावनी दिए।
 
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का महामन्त्री जितेन्द्र देवले नेपालमा भएका विभिन्न आन्दोलनको उद्देश्य प्रगतिशील र लोकतान्त्रिक समाज निर्माण गर्नु रहेको बताउँदै सत्तारुढ दल त्यसबाट भाग्न खोजेको आरोप लगाए।
 
 नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले संविधानसभा बाहिर रहेको दललाई पनि मान्य हुने गरी संविधान बनाउनुपर्ने जोड दिए। थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारुले पहिचानसहितको सङ्घीयताको लागि आज आन्दोलनको सुरुआत भएको बताउँदै यसले लक्ष्य प्राप्त गरी छाड्ने उद्घोष गरे।

२२ दलीय मोर्चाले असोज २७ गते १ बजे इटहरीमा जुलुस तथा सभा, २९ गते १ बजे  दाङमा जुलुस तथा सभा र  ३१ गते १ बजे काठमाडौंमा जनसभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। 













































@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell