PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​भारतबाट अघोषित नाकाबन्दी, तेल आउनै छोड्यो, भारत पुगेका ट्यांकर रित्तै



​भारतबाट अघोषित नाकाबन्दी, तेल आउनै छोड्यो, भारत पुगेका ट्यांकर रित्तै

  • विज्ञान अधिकारी-
काठमाडौं : संविधान निर्माणप्रति असन्तुष्टी जनाएको भारतले अघोषित नाकाबन्दी गर्दै पेट्रोलियम पदार्थ समेत रोक्न थालेको छ। नाकाबन्दी नलगाएको प्रष्टीकरण दिएका स्थानीय भारतीय अधिकारीहरुले तेल समेत दिन छाडेको वाणिज्य मन्त्रालय स्रोतले बतायो। 

मधेश आन्दोलनका कारण तेल आपूर्ति रोकिएपछि सहज बनाउन आयल निगमका प्रवन्धक विनितमणि उपाध्यायको नेतृत्वमा गएको टोलीलाई तेल दिन नसकिने जानकारी इन्डियन आयल कर्पोरेशन(आइओसी) का अधिकारीहरुले बताएका हुन्। 

स्रोतका अनुसार रक्सौंलमा रोकिएका ट्यांकर नहटेसम्म तेल लोड नदिने आइओसीले जानकारी दिएको हो। रक्सौंलमा रोकिएका सामान बोकेका ट्रक, कन्टेनरलाई भारतीय भन्सारका कर्मचारीले इन्टरनेट नभएको भन्दै जाँचपास गर्न रोकेका छन्। 

‘यो अघोषित रुपमा नाकाबन्दी हो, उनीहरुले विभिन्न बहाना बनाउँदै कुनैपनि सवारी साधनलाई नेपालतर्फ आउन दिएका छैनन्,’ वाणिज्यका एक अधिकारीले भने, ‘आइओसीले बाटो खुलेपछि मात्रै लोड दिन्छु भन्छ, यता भन्सारका अधिकारी इन्टरनेट छैन भनेर जाँचपास रोक्नु भनेको नाकाबन्दीनै हो।’

बुधवारदेखि कुनैपनि नाकाबाट तेल नेपाल भित्रिएका छैनन्। आयल निगम उच्च स्रोतका अनुसार रक्सौल, विराटनगर, सिलगुढी, गुन्डालगायतका कुनैपनि डिपोबाट तेल दिइएको छैन। 

स्रोतका अनुसार कतिपय डिपोमा मेशिन बिग्रिएको बहानामा भारत पुगेका गाडीलाईसमेत तेल दिइएको छैन। तेल आपूर्तिका बारेमा निगम र आइओसीका अधिकारीहरुवीच छलफल भएपनि सहज रुपमा तेल आउन सकेको छैन। 

विकल्प के ?

भारतले अघोषित रुपमा नाकाबन्दी लगाएपछि आयल निगमका अधिकारी पनि अन्यौलमा परेका छन्। तेल आपूर्तिनै रोकिएपछि विकल्पको बारेमा निगमले केही सोच्न सकेको छैन। 

यो राजनीतिक समस्या भएकोले हामीले पनि केही सोच्न सकेका छैनौ। हाम्रो तहबाट सबै प्रयास गरिसकेका छौ, एक अधिकारीले भने, अब यो समस्याको समाधान हाम्रो हातमा छैन। 

'अब हामीले केही गर्न सक्दैनौं'

आयल निमगले आफ्नो पहलमा मात्रै पेट्रोलियम पदार्थ ल्याउन अब नसकिने बताएको छ। अत्यावस्यक वस्तुलाई समेत राजनीति मुद्दा बनाइएको भन्दै निगमले अहिलेको अवस्था आफ्नो काबुभन्दा बाहिर रहेको बताएको हो।
 
'अब हाम्रो हातमा केही छैन, पेट्रोलियम पदार्थ ढुवानीको विषय त राजनीतिक मुद्दा बनिसकेको छ अब काम गर्ने भनेको राजनीतिक तेतृत्वले हो,' निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले भने, 'हाम्रो काबुमा अब केही रहेन । सक्नेजति त गरेका थियौं अब केही गर्न सक्दैनौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell