PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतले नाकाबन्दीको कदम चाल्छ भन्ने म विश्वास गर्दिनँः ओली



भारतले नाकाबन्दीको कदम चाल्छ भन्ने म विश्वास गर्दिनँः ओली

  • मनोज सत्याल/पहिलोपोस्ट-
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा भारतले नाकाबन्दीको कदम नचाल्नेमा ढुक्क रहेको बताएका छन्। नेपालको संविधान जारी भएको खुसीयालीमा मंगलबार दशरथ रंगशालमा नेकपा एमालेले गरेको चियापान कार्यक्रममा अध्यक्ष ओलीले भारतले नाकाबन्दीको कदम नचाल्नेमा आफू ढुक्क रहेको जिकिर गरे।

'भारतले त्यस ढंगले कदम चाल्छ भन्ने म विश्वास गर्दिन। मालबाहक ढुवानीका साधन र सञ्चालकले त्यस्तो भने भन्ने कुरा छ। नाकाबन्दीको तहमा होइन', अध्यक्ष ओलीले भने, 'त्यस्तो असुरक्षा नेपालमा छँदा पनि छैन। स्थिति बिल्कुल सुरक्षित छ। त्यसप्रकारले रोक्नुपर्ने आवश्यकता पनि छैन।' 


नेपालमा जारी संविधानमा भारतको केही सरोकार भए पनि उसले संविधान नै अस्वीकार नगरेको दाबी गरे।

'मलाई भारतले अस्वीकार गरेको भन्ने लाग्दैन। केही केही कुरामा भारतको चासो र चिन्ता भएको जस्तो लाग्दछ', अोलीले भने, 'यो नाकाबन्दीको तहमा होइन। भारतले त्यस ढंगले कदम चाल्छ भन्ने म विश्वास गर्दिन। म ढुक्क छु।'

भारत सरकारसँग संविधानका विषयमा उत्पन्न असमझदारीबारे कुराकानी गर्ने समेत ओलीले बताए। 'अवश्य नै हामी भारत सरकारसँग कुरा गर्छौँ, कुनै पनि असमझदारी छ भने त्यो आवश्यक छैन भन्ने पनि हामी बताउन चाहान्छौँ', ओलीले भने।

हेर्नुस् भिडियो-
 

​भारतले नेपालमा नाकाबन्दी लगाउनेबारे सोधिएको प्रश्नमा ओलीले नेपाल जस्तो भुपरिबेष्ठित मुलुकका हकहरु हुने उल्लेख गरे। 'नाकाबन्दी हुँदै हुँदैन। नेपालजस्तो भुपरिबेष्ठित मुलुकका आफ्ना हकहरु हुन्छन्। भारतसँग हाम्रा सन्धिसम्झौताहरु छन्', ओलीले भने, 'त्यसकारण त्यसप्रकारको अवस्था हुँदैन भनेर म यहाँहरुलाई भन्न चाहान्छु।

ओलीले भारत नेपालको विरोधी नभएको बताए। 'भारत नेपालको छिमेकी मित्रराष्ट्र हो र तदअनुसार नै आफ्नो व्यवहार गर्छ भन्नेमा ढुक्क रहनुपर्छ', उनले भने।

'संविधानमा असहमति आवश्यक छैन'

संविधानले गणतन्त्र संस्थागत गरेको तथा सबै प्रकारको असमानता र विभेद अन्त्य गरेको उल्लेख गर्दै ओलीले पछाडि परेको समाजको हिस्सा र समुदायलाई अगाडि बढाउन विशेष नीति कार्यक्रमको तर्जुमा गर्ने व्यवस्था गरेको उल्लेख गरे।

'विभिन्न क्षेत्रका समुदायको आवाज र हित मुखरित गर्न महिला, दलित, मधेसी, थारु, जनजाति विभिन्न आयोगको व्यवस्था गरेको छ। नागरिकताको प्रश्नमा नेपाललाई फराकिलो, उदार, समावेशी र लोकतान्त्रिक दिशामा लगेको छ', उनले भने, 'मित्रराष्ट्र लगायत र अन्तरराष्ट्रिय समुदायसँग अत्यन्त उन्नत प्रकारको जिम्मेवार र स्तरीय वैदेशिक सम्बन्धको वकालत गर्दछ।' ओलीले संविधान पाएकोमा सबै नेपालीलाई बधाइ दिए। 
 
देशका कतिपय ठाउँमा संविधान आउँदासमेत असहमतिका स्वर सुनिएको उल्लेख गर्दै ओलीले भने, 'कुनै असहमति राख्नुपर्ने आवश्यकता छैन। संविधान एउटा परिवर्तनीय दस्ताबेज हो। संशोधनीय दस्तावेज हो। आवश्यकता अनुसार परिमार्जन हुन सक्दछ। जायज माग संविधान परिमार्जनद्वारा अगाडि बढाउन नसकिने भन्ने छैन।'

संविधानले नेपालका कुनै पनि मित्रको कुनै पनि हित अथवा चासोमा प्रतिकुल असर नपर्ने उनले बताए। 'म नेपालका कुनै पनि अन्तरराष्ट्रिय मित्रहरुलाई कुनै प्रकारको भ्रम नराख्न आग्रह गर्छु। संविधानले नेपाली जनताको निम्ति जुन सकरात्मक काम र भूमिका खेल्नेछ, त्यसमा विश्वस्त रहन आग्रह गर्दछु', उनले भने।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell