PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतीय भन्सारले छोड्यो नेपाली ट्याङ्कर



भारतीय भन्सारले छोड्यो नेपाली ट्याङ्कर

  • पहिलोपोस्ट
काठमाडौं :  भारतीय पक्षले भन्सारमा रोकिएको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करहरु छाडेको छ। ठूलो दबाबपछि भारतीय पक्षले वाणिज्य तथा आपुर्ति मन्त्रालयबाट थप कागजात मगाएर ट्याङ्करहरु छाडेको हो। 

सोमबार नेपाल भित्र्याउन लागिएका २३ वटा ट्यांकरलाई कागज पत्र नपुगेको भन्दै रक्सौलस्थित भारतीय कस्टममा रोकिएको थियो। मंगलबार दिउँसै भारतीय पक्षले मागेका कागज भन्सारमा पुर्‍याएपछि ती ट्यांकरहरु नेपाल भित्रिएका हुन्।

कस्टमका अधिकारीहरुले नेपाल भित्रिने ट्यांकर छाडिने जानकारी बाणिज्य मन्त्रालयका अधिकारीलाई दिएका थिए। मंगलबार दिउँसो भारतीय कस्टमका अधिकारीहरुले पेट्रोलियम ढुवानी गर्ने ट्यांकर छाडेको नेपाल आयल निगमका निर्देशक मुकुन्द घिमिरेले जानकारी दिए। 

पेट्रोलियम आयात रोकिएपछि मंगलबार बाणिज्य तथा आपुर्ति मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच अनौपचारिक बैठक थियो। बैठकबाटै भारतीय कस्टमका अधिकारीसँग कुरा भएको मन्त्रालयका अधिकारीले बताए। 

मधेशको समस्या संबोधन नगरी संविधान जारी भएपछि असन्तुष्ट रहेको भारतले पेट्रोलियम पदार्थ आपूर्ति रोकेपछि बिभिन्न टिप्पणी सुरु भएको थियो। नेपालले तेल किनिरहेको इन्डियन आयल कर्पोरेशनले लोड भएका ट्यांकरलाई सुरक्षाका कारण देखाउँदै रोकेको हो भने ग्यास बोकेको बुलेटलाई समेत मंगलबारदेखि रोक लगाएको छ।

 ग्यास लिन गएका व्यवसायीहरुलाई केन्द्र सरकारको आदेश भन्दै भारतीय भन्सारले भारतीय नम्बर प्लेटका गाडी ल्याउन रोकेको एक ब्यवसायीले जानकारी दिएका थिए। 

‘केन्द्र सरकारको अर्को आदेश नआएसम्म सुरक्षाका कारण भारतीय नम्बर प्लेटका गाडी रोक लगाउन आदेश आएको छ,’ भारतीय भन्सारका कर्मचारीले भनेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell