PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

गच्छदारले शीर्ष नेतासँग भने – मुलुक अप्ठेरोमा पर्नुअघि नै सहमति गरौं



गच्छदारले शीर्ष नेतासँग भने – मुलुक अप्ठेरोमा पर्नुअघि नै सहमति गरौं

काठमाडौं : आन्दोलनरत संघीय लोकतान्त्रिक मोर्चाले संविधान संशोधनमार्फत आफुहरुको माग संबोधन गर्न प्रमुख तीन दललाई आग्रह गरेको छ।

आज फोरम लोकतान्त्रिकको कार्यालयमा भएको छलफलमा मोर्चाका नेताहरुले आफुहरुको मुख्य असहमति सीमांकन र प्रदेशहरुको श्रोत बाँडफाँडमा रहेको भन्दै संविधान संशोधन मार्फत पूरा गर्न आग्रह गरेका हुन्।

छलफलपछि मोर्चाको नेतृत्वकर्ता मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मुलुक जटिल र अप्ठेरोमा जानुअघि नै संशोधन मार्फत आफुहरुको माग पूरा गर्न आग्रह गरेको बताए। 'हामीले स्पष्‍ट कुरा राख्यौं, हाम्रो एकमात्र असहमति सीमांकनमा हो', बैठकपछि गच्छदारले भने 'सीमांकन र प्रदेशहरुको श्रोत बाँडफाँडको विषयलाई सबोधन गर्नुपर्छ।'

उनले संविधानलाई परिपक्व बनाउन संशोधनको विकल्प नभएको भन्दै चाँडै गर्न तीन दलका नेतालाई आग्रह गरेका थिए। गच्छदारले प्रधानमन्त्री सुशील कोइरालालाई संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानुअघि  आफुहरुको माग पूरा गर्न पनि आग्रह गरेका छन्। 'हाम्रा मागबारे केही न केही संबोधन गरेर जाँदा राम्रो हुन्छ'उनले भने 'नजाँदा पनि राम्रो हुन्छ।'

छलफलमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोर्चाको माग संविधान संशोधन मार्फत पूरा गर्न आफुहरु तयार रहेको बताएका थिए।

दुबै पक्षबीच फेरि वार्ता गरेर समस्या समाधानको बाटो पहिल्याउने समझदारी भएको छ। प्रधानमन्त्री सुशील कोइरालाले मोर्चाका नेताहरुसँगको वार्ता सकारात्मक भइरहेको प्रतिक्रिया दिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो कुराकानी राम्रो भएको प्रतिक्रिया दिए।

प्रमुख तीन दलसँगकै मोर्चाबन्दीमा रहेको फोरम लोकतान्त्रिक तीन दलले ७ प्रदेशको सीमांकनमा सहमति गरेपछि मधेशको माग संबोधन नभएको भन्दै संविधानसभाबाट बाहिरिएको थियो। फोरम लोकतान्त्रिकसँग शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी र फोरम गणतान्त्रिकले मोर्चाबन्दी गरेको छ।  आज  प्रधानमन्त्री सुशील कोइरालाले फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई फोन गरी पार्टी कार्यालयमा भेट्न आउने जानकारी गराएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell