PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ओलीले गरे महेश बस्नेतलाई भगवान कृष्णसँग तुलना



ओलीले गरे महेश बस्नेतलाई भगवान कृष्णसँग तुलना

पहिलोपोस्ट- 
काठमाडौँ : उद्योग मन्त्री महेश बस्नेतलाई भेटन नपाएको कार्यकर्ताले गुनासो गरेपछि एमाले अध्यक्ष केपी ओलीले भगवान कृष्णको कथा सुनाए। उनले राजकाजमा लागेपछि भगवान कृष्णलाई राधाले समेत भेटन समय नपाएको दृष्टान्त प्रस्तुत गर्दै मन्त्री बस्नेतको कृष्णसँग तुलना गरे।
 
ओलीले कार्यकर्तालाई सम्झाउँदै भने, ‘गोपीनीहरु भावविह्वल राधालाई सम्झाउँछन् र भन्छन्- कृष्ण हिजो जस्तो वृन्दावनमा बाँसुरी बजाएर हिँड्ने, गाई चराएर हिँड्ने होइनन्। अहिले ऊ फेरियो, ऊ महाराजाहरुसँग छ। ऊ त लडाइँका कुरा गर्छ, नीतिका कुरा गर्छ, राज्यका कुरा गर्छ, राज्य सञ्चालनका कुरा गर्छ। अनि बल्ल अलिकति सम्झिन्छिन् राधा।‘
 
कार्यकर्तालाई सम्झाउन ओलीले कृष्ण धराबासीको उपन्यास 'राधा'को प्रसंगबाट कृष्णको कथा निकालेका थिए। धराबासीको उपन्यासको वर्णन गर्दै ओलीले भने, ‘उपन्यासमा कृष्ण नायक भएर कुदेको हुन्छ। राधा कृष्णलाई सम्झेर तड्पिरहेकी हुन्छिन्। शोकाकुल हुन्छिन, विह्वल हुन्छिन्, कृष्णलाई भेट्न पाए हुन्थ्यो भनेर।‘
 
मन्त्री बस्नेतको बचाउ गर्न ओलीको कृष्ण प्रसंग यति मै सकिएन। देशमा बेरोजगारीको ठूलो समस्या रहेको बताउँदै उनले मन्त्रीसँग यो र त्यो काम नमाग्न पनि कार्यकर्तालाई सम्झाए।

‘राधा कृष्णकी प्रियसी थिइन्। विशेष प्रेमी हुन्। त्यस्ती राधा, जसको बाल्यकालदेखि जवानीसम्म कृष्णको साथसाथै बित्यो, उनले समेत भेट्न नपाएपछि राधालाई बडो चिन्ता पर्‍यो,’ ओलीले भने।
 
महेश बस्नेत पनि युवा संघबाट कृष्णको रुपमा निस्केको थप्दै ओलीले अब कार्यकर्ताले राधाले जस्तै भेट्न पाइनँ भनेर तड्पिनु नहुने बताए। ‘म भन्न चाहन्छु महेश बस्नेत पनि युवा संघबाट झण्डै झण्डै कृष्णको रुपमा उम्कियो। अब हामी सबै (कार्यकर्ताले) राधाले भेट्न पाउँ भनेर तड्पिएर हुदैँन,’ ओलीले बस्नेतको कामको चर्चा गर्दै भने, ‘ऊ त राजकाज चलाउने ठाउँमा छ। देशको उद्योग चलाउने ठाउँमा छ। रुग्ण उद्योग चलाउनु छ।  अध्ययन गर्नुछ। विज्ञहरुसँग विचार विमर्श गर्नुछ। अनि हाम्रो हालत राधाको जस्तो हुँदैन त?’ 
 
एमाले भ्रातृ संगठन युवा संघ नेपालले आयोजना गरेको दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले मन्त्री बस्नेतको बचाउमा लामो भाषण गरे। सुन्नुस् अडियो-


उनले कार्यकर्तालाई मन्त्रीसँग सहयोग लिनुभन्दा मन्त्रीलाई सहयोग गर्न अपिल गरे।
 
‘तपाइँहरु (कार्यकर्ताहरु) लाई बताऊँ, मन्त्रीले जागिर दिन सक्दैन। त्यसकारण मन्त्रीसँग चित्त दुखाउने होइन,’ ओलीले पुस्तान्तरणको कुरा जोड्दै भने, ‘अहिले युवा मन्त्री भएका छन्। हामीले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका कुरा गरेका छौँ। यो हस्तान्तरण पनि हो र पुस्तान्तरण पनि हो।‘
 
ओलीले बस्नेतको बचाउ मात्र गरेनन्, खुलेर उनको प्रशंसा पनि गरे। ‘युवा मन्त्रीको सफलता वा असफलताबाट विश्वास र अविश्वास पैदा हुन्छ,’ ओलीले भने, ‘त्यसकारण नयाँ पिँढीतर्फ विश्वास जगाउने, व्यवहारिक रुपमा विश्वास जगाउने अवसर प्राप्त बस्नेतले गर्नुभएको छ।‘
 
उनले युवाहरुले अहिले नै अवसर नपाए कहिले पनि नपाउने भन्ने नहुने पनि बताए। अहिलेको समय अवसर खोज्नेभन्दा पनि विश्वास जगाउने र मन्त्रीलाई सफल बनाउने आवश्यकता रहेको ओलीको टिप्पणी थियो। 

‘हामी हिजो सँगै काम गरेका साथीहरु किन नभेट्ने? ए ! मन्त्री भएपछि ठूलो हुने, मैले भेट्छु भन्दा पनि नभेट्ने, मन्त्री भएपछि पनि नभेट्ने भन्न थालिहाल्छौं,’ ओलीले भने, ‘ साथीहरु (युवा संघका कार्यकर्ताहरु) सबैले मलाई भेट्छु भन्नु भयो भने मात्रै भने पनि लामो समय लाग्छ।‘

उनले कार्यकर्तालाई अहिलेको परिस्थिति बुझ्न आग्रह पनि गरे। बस्नेत खास जिम्मेवारी लिएर बहन गरेर सरकारमा गएकाले हिजो सँगै म:म:, सिङ्गडा खाएको अध्यक्षलाई अहिले पनि सजिलै भेट्न पाउनु पर्छ भन्दा गाह्रो हुने उनले बताए।

‘देशको आधुनिकिकरण तर्फ ध्यान देऊ भनेर मन्त्री बनाइएको छ,’ बस्नेतको सफलताको चाहना राख्दै ओलीले भने, ‘तपाँइहरुलाई सुम्मुम्याएर महेश बस्नेत सफल हुँदैन, देशलाई अगाडि बढाएर, उद्योग धन्दालाई अगाडि बढाएर महेश सफल हुन्छ।‘
 
बस्नेतको बचाउदेखि तारिफसम्म गर्न भ्याइसकेका ओलीले अन्त्यमा कार्यकर्तालाई अर्ती दिन पनि भ्याए। उनले युवाहरुलाई सहकारी खोल्न र सहकारीबाटै लगानी गर्न कार्यकर्तालाई आग्रह गरे।
 
‘कृषि व्यापारमा सम्भावना छ। धेरै मान्छे कतार मलेसियाबाट जापान अमेरिकाबाट फर्किएर तरकारी खेति, टमाटर, च्याउ खेतिबाट लाभ लिएका छौँ भन्नेहरु छन्,’ ओलीले भने, ‘त्यसकारण युवाहरुमा इन्नोभेटिभ तरिका पनि हुन जरुरी छ। तपाइँहरु त्यसै ढंगले अगाडि बढ्नुहुनेछ भन्ने मलाई लागेको छ।‘

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell