PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​म पनि मधेसी हुँ, मेरो तीनचार पुस्ता उहीँ बसेको होः प्रधानमन्त्री



​म पनि मधेसी हुँ, मेरो तीनचार पुस्ता उहीँ बसेको होः प्रधानमन्त्री

  • सुशील कोइराला-
यो विरलै आउने दिन हो। 'ब्लु मुन' भन्छन्। यसको निम्ति हामीले यत्रो लामो अवधि कुर्नुपर्‍यो। ७० वर्ष लाग्यो। यो संवैधानिक प्रक्रियाबाट भयो। त्यसैले सम्पूर्ण प्रजातन्त्रमा आस्था राख्नेलाई म आह्वान गर्छु कि, यसलाई आद्वितीय रुपमा समर्थन जनाउनुपर्छ। किनभने यो लोकतन्त्रको संघर्षमा सुरुदेखि नै हामीहरु लाग्यौँ। कति मेरा साथीहरु सहिद भए। पाँचपाँच पुस्ता नेपालमा लोकतन्त्रको निम्ति लडेर यो उपलब्धि भएको हो। यसलाई अब हामीहरुले जोगाउनुपर्छ।

महान उपलब्धिहरु भएको छ। अब विरोध होइन, अब त बास्तवमा हामीले जति उपलब्धिहरु गरेका छौँ, गणतन्त्र, समावेशीता, र महिला, आदिवासी, जनजाति, दलित, पिछडिएका वर्ग, मुसलमान साराको हकअधिकार सुरक्षित भएको छ। अब पनि हामीहरु द्वन्द्वको कुरा गर्ने हो भने, अब पनि हामी संघर्षको कुरा गर्ने हो भने, हत्याहिंसातिर लाग्ने हो भने जे उपलब्धि भएको छ, त्यो पनि हाम्रो हातबाट गुम्छ। अब त नेपाललाई एउटा समृद्धशाली नेपाल, एउटा आधुनिक नेपालमा परिवर्तित गर्नु छ, र त्यो हुन्छ भन्ने मलाई विश्वास छ। कतिलाई संविधान आउँदैन भन्ने थियो। आयो नि।

अब हामीले सबै मधेस, पहाड, हिमाल, सबैको विकास, विकासमात्र होइन, सबैको पहिचान, भेषभुषाको कुरा, भाषाको कुरा, संस्कृतिको कुरालाई पुरा गर्नु छ। तर धैर्यता गर्नुपर्‍यो। अहिले नै हामीहरु आत्तियौँ, अहिले नै हामीले धैर्य राख्न सकेनौँ भने मुलुकले फेरि असाध्यै दुःख पाउँछ। त्यसकारण म यहाँहरुसँग, खासगरी मिडियाका साथीहरुसँग, म अनुरोध गर्दछु, यसलाई जोगाउनको निम्ति सकारात्मक समाचार जाओस्। अलिकता कसैले बिगार्न खोज्यो भने त्यसलाई राम्रोसँग प्रस्तुत गरिदिने गर्‍यो भने सबैतिर सकारात्मक सन्देश जान्छ। अब संविधानसभाबाट संविधान विधिवत रुपमा जारी हुन्छ।

विजयकुमार गच्छदारसँग पनि कुरा भैरहेको छ। शान्ति प्रक्रियाका लागि पनि कति सयम लाग्यो। लागेन? शान्तिप्रक्रिया जस्तो कठिन काम पनि सहज रुपमा गयो नि। लडाकूहरु र हतियारको व्यवस्थापन गर्ने कुरा मामुली कुरा थियो?

सबैले बुझेका छन्। अलिकता मधेसका साथीहरु, मधेसवादी मोर्चाको कुरा हो। हामी पनि मधेसी हौँ, म पनि मधेसी हुँ, तीनचार पुस्ता उहीँ बसेको हो। मलाई विश्वास छ। अहिले जुन संविधान आएको छ, एउटा सकारात्मक वातावरण बनाओस्, सकारात्मक वातावरण बनाउनमा हामी लागौँ।

(सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङले संविधान प्रमाणिकरण गरिसकेपछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री सुशील कोइराला)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell