PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हर्षित हुँदै संविधानसभाबाट बाहिरिएका नेताहरुले के भने?



हर्षित हुँदै संविधानसभाबाट बाहिरिएका नेताहरुले के भने?

  • मनोज सत्याल/पहिलोपोस्ट-
काठमाडौँ : संविधान जारी भएपछि हर्षित हुँदै संविधानसभा भवन बाहिर निस्केका शीर्ष नेताहरुले आफ्ना प्रतिनिधिबाट संविधान लेख्ने सपना पूरा भएको भन्दै नेपाल र नेपाली जीत भएको बताए।


प्रधानमन्त्री सुशील कोइरालाले नेपालीहरुको ठूलो सफलताको दिन भएको भन्दै दीपावली गर्न सबैलाई आग्रह गरे। 'यो नेपालीहरुको ठूलो सफलताको दिन हो। हामीले दीपावली गर्नुपर्छ। जिल्ला जिल्लाहरुमा पार्टीहरुले उत्साहको दिनका रुपमा मनाउनुपर्छ। ७० वर्षपछि हामी सफल भएका छौँ। हामी सबै नेपालीहरुको सफलता हो', कोइरालाले भने।


नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान जारी भएकोमा गौरव महसुस भएको बताए। 'मेरो जीवनको सबैभन्दा खुसीको दिन हो यो, अनेकौँ खुसीका दिन आए तर सबैभन्दा ठूलो खुसी, ठूलो गौरवको दिन हो।' उनले अब मुलुक समृद्धि र विकासतर्फ अगाडि बढ्ने बताए।

 'नेपाली जनताले आफ्नो संविधान आफैँ जारी गर्न सकेको ऐतिहासिक दिन हो यो। यो संविधानले मार्गदर्शन गरेको छ। यो देशको रोडम्याप हो। आर्थिक क्रान्ति र विकासतर्फ अब मुलुक अगाडि बढ्छ', खनालले भने।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो संक्रमणकाल अन्त्य भएको उल्लेख गर्दै सभासद्सहित जनता खुसी भएको बताए। 'देशलाई लामो समयदेखि जनताले प्रतिक्षा गरेको आफ्ना जनप्रतिनिधिबाट बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान आज प्राप्त भयो। त्यो प्राप्त गर्न पाएकोमा सबै माननीय सदस्यहरु खुसी छन्, हामी खुसी छौँ, जनता खुसी छ', ओलीले भने।

ओलीले दोश्रो संविधानसभा पनि असफल होला भन्ने अन्यौल चिर्न सफल भएको उल्लेख गरे। 'एउटा संक्रमणकाल जुन लामो समयदेखि थियो। अब मूलत: टुङ्गिएको छ। संविधानसभा एउटा असफल भयो, अर्को के होला भन्ने मानिसहरुमा अन्यौल पनि थियो। त्यो सबै अन्यौललाई चिरेर संविधान पारित भएको छ', ओलीले भने।
 
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको मात्र नभई नेपाल राष्ट्र र नेपाली जनताको स्वाभिमानको विजय भएको बताए।

'जन प्रतिनिधिबाट संविधान बनाउन देखेको सपना आज पूरा भएको छ। आज नेपालको विजय, नेपालीको विजय भएको छ', प्रचण्डले भने। उनले अहिलेको परिघटना सामान्य नभएको तर्क गरे। 'संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा भएको छ', प्रचण्डले भने।

उनले संविधानसभा बाहिर रहेका र आन्दोलनमा रहेको दललाई प्रक्रियाको नेतृत्व पार्टीको नेताको नाताले प्रक्रियामा सामेल हुन आग्रह गरे। उनले अझै संविधान परिमार्जन गर्दै स्थिरता शान्ति र समृद्धिका लागि पहल गर्न आह्वान गरे।
 
'भोलि संविधान संशोधनको माध्यमबाट सम्बोधन गर्न सकिन्छ। यो धर्मशास्त्र बन्ने होइन, गतिशिल दस्तावेज संविधान बन्ने हो। कसैको हार र कसैको जितको रुपमा होइन सबै नेपालीको जित हो', प्रचण्डले भने।








 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell