PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

संविधान जारी गर्ने मिति घोषणापछि भारतले दिन खोजेका ६ सन्देश



संविधान जारी गर्ने मिति घोषणापछि भारतले दिन खोजेका ६ सन्देश

  • पहिलोपोस्ट -
काठमाडौँ : संविधानसभाबाट संविधान जारी गर्ने मिति घोषणा भए लगत्तै सोमबार राति विदेश मन्त्रालयबाट विज्ञप्ति जारी गर्दै भारतले नेपालको राजनीतिक नेतृत्वले बुद्धिमत्ता र परिपक्वता प्रदर्शन गरेको भन्दै संविधानको अनुमोदनतर्फ संविधानसभाले हालै गरेको प्रगतिको स्वागत र प्रशंसा गरेको छ। तर योसँगै नेपाल मुद्दामा आफ्नो चासो रहेको भन्दै महत्तवपूर्ण सन्देश पनि प्रत्यक्ष र औपचारिक रुपमा नै दिएको छ।

१) जस्तोसुकै प्रतिकूल स्थितिमा भारतले सहयोग गर्छ

विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ- सकंट चाहे राजनीतिक होस् या प्राकृतिक, कुनै पनि प्रतिकूल स्थितिमा भारत सरकार नेपाललाई सहायता आफ्नो परम कर्तव्य मान्छ।

२) मधेस आन्दोलनप्रति चिन्ता र चासो छ

विदेश मन्त्रालयले तराई/मधेस क्षेत्रको नामै उल्लेख नगरी नेपालको कयौँ भागमा चलिरहेको विरोध आन्दोलनहरु तथा संघर्षले चिन्तित भएको उल्लेख गरेको छ। भारतमात्र होइन, संसारको कुनै पनि मानवतावादी देश यस्तो अवस्थामा चिन्तित हुने पनि त्यसमा भनिएको छ।

३) जसको रगत बगे पनि नेपालीको बगेको छ

केही अघि भारतीय गृहमन्त्रीले नेपालमा १ करोड भारतीय रहेको भनी दिएको भनिएको विवादास्पद अभिव्यक्तिको विपरीत अहिलेको विज्ञप्तिमा मर्नेहरु 'नेपाली नागरिक होस् या सरकारी कर्मचारी, सबै घटनामा जुन रगत बगेको छ त्यो नेपालकै रगत भएको' भनिएको छ।

४) लचिलो बन्नुस्, अधिकतम सम्झौता गर्नुस्

प्रमुख दलहरुले आन्दोलनलाई बेवास्ता गर्दै वार्तालाई थाती राखेर संविधान जारी गर्ने प्रक्रिया अघि बढाएको सन्दर्भमा आएको विज्ञप्तिमा भारतले भनेको छ- हामी सबै राजनीतिक पक्षसित लचिलो नीति अपनाउन अपील गर्छौँ। ताकि बाँकी मुद्दाको समाधान अधिकतम सम्झौताले तथा हिंसामुक्त परिवेशमा गर्न सकियोस्।

५) मधेसलाई स्वीकार्य संविधान बनाऊ

वक्तव्यमा नेपालको अलग अलग भागहरु तथा समाजका सबै वर्गहरुलाई पूर्ण रुपले स्वीकार्य तथा उनीहरुको आकांक्षाहरुलाई ध्यानमा राख्ने खालको संविधान शान्तिपूर्ण तथा सम्पन्न नेपालको सुदृढ आधारशिला राख्न सक्ने तथा नेपालको उज्ज्वल भविष्यको केन्द्रबिन्दु बन्ने उल्लेख छ।

६) स्थायी र मजबुत संविधान आवश्यक

भारतले वक्तव्यमा आधुनिक नेपाल निर्माणका लागि स्थायी तथा मजबुत संविधान आवश्यक भएको उल्लेख गर्दै नेपाली नेतृत्व यस्तो संविधान बनाउन कुनै कसर बाँकी नछाड्ने आशा व्यक्त गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell