PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

धर्म निरपेक्षताको धारा पारित, कमल थापाको मत विभाजन माग अस्वीकृत



धर्म निरपेक्षताको धारा पारित, कमल थापाको मत विभाजन माग अस्वीकृत

काठमाडौँ : संविधानसभाको आजको बैठकले नेपालको संविधानको परिमार्जित विधेयकको धर्म निरपेक्षता उल्लेख भएको धारा ४ संशोधनसहित पारित गरेको छ।

यो धारामा  २१ वटा संशोधन प्रस्ताव परेकोमा अरु संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। ५ वटा भने निर्णयार्थ पेश हुनुअघि नै अस्वीकृत भएको थियो।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले यस धारामा सनातन धर्मसापेक्ष हिन्दु अधिराज्य लेखिनुपर्ने संशोधन प्रस्ताव पनि ध्वनि मतले अस्वीकृत भएको घोषणा गरियो। यसलगत्तै थापाले उभिएर मत विभाजनको माग गरेका थिए। कमल थापाले धारा ४ मा  'नेपाल राज्य: नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, समावेशी, प्रजातान्त्रिक सनातन धर्मसापेक्ष हिन्दु अधिराज्य हो'  भन्ने वाक्यांश हुनुपर्ने भन्दै संशोधन प्रस्ताव राखेका थिए।  

थापाको मत विभाजनको मागपछि नेम्वाङले नियम ४१ (२) बमोजिम मत विभाजन माग गर्नेको संख्या देखाउन उभिन निर्देशन दिएका थिए। नियम अनुसार कूल सदस्य संख्याको ६१ जना उभिनुपर्नेमा २१ जना मात्र उभिएको देखिएको भन्दै मत विभाजनको माग अस्वीकृत भएको उनले घोषणा गरे।

त्यसैगरी हरिचरण साहले पनि पहिलो हरफमा धर्म निरपेक्षपछि जातीय लिङ्गीय र क्षेत्रीय जनसंख्याको आधारमा  राज्यको हरेक अंग ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा पूर्ण समानुपातिक प्रतिनिधित्व थप गर्नुपर्ने संशोधन प्रस्‍तावमा मत विभाजन मागेका थिए। 

साहको प्रस्तावको पक्षमा ६ जनाको समर्थन देखिएकाले संविधानसभा अध्यक्ष नेम्वाङले मत विभाजनका लागि आवश्यक संख्या नभएको भन्दै मतविभाजन दिएनन्।
 
कांग्रेस, एमाले र एमाओवादीले प्रस्तुत गरेको संयुक्त संशोधन प्रस्ताव भने बहुमतले स्वीकृत भएको छ। पास भएको संशोधनमा देहायको स्पष्टीकरण थपिने व्यवस्था छ


स्पष्टीकरण: यस धाराको प्रयोजनका लागि धर्म निरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ

स‌ंविधानका बाँकी धाराहरुमा पनि आज दिनभर मतदान हुँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell