PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

के भनेका थिए आज संविधानसभामा सिटौलाले ?



के भनेका थिए आज संविधानसभामा सिटौलाले ?

काठमाडौं : संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले आज संविधानसभामा राखेका धारणाका विषयमा सामाजिक सञ्जालमा धेरै चर्चा र बहस भए। केहीले उनको भनाईलाई सही भन्दै प्रशंसा गरे भने कतिपयले विरोध पनि जनाए।

प्रमुख दलका शीर्ष नेताले धारणा राखेपछि परिमार्जित विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै सिटौलाले आन्दोलनरत दल, सञ्चार माध्यम र राष्ट्रपतिको पनि आलोचना गरे। खास उनले के भने त ? उनले ब्यक्त गरेका विचारका सम्पादित अंश पढ्नुस्। 
 

हिं‌सा र बलबाट संविधानसभा झुक्दैन

सिटौलाले हिं‌सा र बलबाट संविधानसभा नझुक्ने भन्दै शान्तिपूर्ण बाटोबाट संविधान परिमार्जन गर्न सकिने बताएका छन्।

आइतबार संविधानसभामा संविधानको संशोधित विधेयकमाथि सभासद्ले उठाएका प्रश्नको जबाफ दिने क्रममा सिटौलाले जनताप्रति उत्तरदायी रहेको संविधानसभा जनताको अधिकारको रक्षा गर्न कटिबद्ध रहेको बताए।

'हामी संविधानसभामा जनताप्रति उत्तरदायी छौँ। हामीले उनीहरुको अधिकारको रक्षा पनि गर्दछौँ', सिटौलाले भने, 'जनताको जीउ धनको रक्षा गर्ने सन्दर्भमा सिङ्गो संविधानसभालाई सरकारको साथमा छ।'

शान्तिपूर्ण आन्दोलनका नाममा हिंसा भैरहेको भन्दै सिटौलाले आरोश पोखे। 'तपाईँले सोचेको होला शान्तिपूर्ण आन्दोलन छ। तर हिंसा भइराखेको छ', उनले मधेसकेन्द्रित दलहरुलाई संकेत गर्दै भने, 'त्यसलाई रोक्नुहोस्। यो यथार्थ कुरा हो।'

शर्त राखेर लोकतान्त्रिक विधि र शासन मान्दिन भनेर जनमतको अपमान गर्न नमिल्ने सिटौलाले बताए।

'मेरो कुरा मान नत्र लोकतान्त्रिक विधि र शासन मान्दिन भन्न मिल्छ?', सिटौलाले प्रश्न गरे, 'अझै पनि लोकतन्त्र मान्नेहरु यहाँ आउनुपर्छ। हामी कसैलाई पनि जनताको मतलाई अपमान गर्ने अधिकार छैन। हामी सार्वभौम होइन,  जनता सार्वभौम हो।'

उनले प्रक्रिया बहिस्कार गरेर आन्दोलनमा लागेका दलहरुलाई आफ्नो मत राख्ने अवसर नगुमाउन आग्रह गरे।

'अझैपनि आउनुस्। केही बिग्रेको छैन। अझै दुईचार दिन लाग्छ होला। आफ्नो मत राख्नुस्', सिटौलाले भने, 'यो अवसर नगुमाउनुस्। मेरो विशेष आग्रह छ।'

राष्ट्रपतिप्रति आक्रोश

केही दिन प्रक्रिया लम्ब्याउन राष्ट्रपति डा. रामवरण यादवले आग्रह गरेकोप्रति सिटौलाले आक्रोश व्यक्त गरे।

'राष्ट्रपतिले केही दिन प्रक्रिया लम्ब्याएर विचार गरोस् भन्नुभयो भन्ने सुनियो। यो संविधानसभा भन्दा माथि कोही पनि छैन', उनले भने, 'हामीले राष्ट्रपतिलाई यहीँबाट निर्वाचित गरेका हौँ। राष्ट्रपतिले मैले हस्ताक्षर गर्दिनँ भन्नुभयो भनेर म विश्वास गर्दिनँ।'  

सिटौलाले भारत, चीन, संयुक्त राष्ट्रसंघ सबै नेपालमा संविधान जारी होओस् भन्ने पक्षमा रहेको दाबी गरे

'पत्रिकाको कुरामा विस्वास नगर्नुस्'

सिटौलाले पत्रिकामा आएको कुरामा विश्वास नगर्न आग्रह गर्दै मिडियाप्रति पनि आक्रोश पोखे।

'सबै संविधान बनोस् भन्नेमा छन्, म विश्वासको साथ भन्न चाहान्छु। पत्रिकामा आएका अनेक कुरामा विश्वास नगर्नुस्', सिटौलाले भने, 'नेपालमा राजनीतिक स्थायीत्व होस्, नेपाल सार्वभौम स्वतन्त्र र स्वाधिन छ भनेर सबैले भनेका छन्।'

संविधान निर्माणमा सकारात्मक सहयोग गर्न उनले प्रेसजगतलाई आग्रह गरे। 'कुनै पत्रिकाको सम्पादकीय लेख्यो होला। सम्पादकको कुनै विचार होला', उनले भने, 'सञ्चार माध्यमका साथीहरुलाई म आग्रह गर्न चाहान्छु, हामी संविधासनभाबाट बलियो जग बनाउँदै छौँ। सकारात्मक सहयोग होओस्।'

थप चारवटा आयोग

संविधानको संशोधित विधेयकमा थप चारवटा आयोग थपिएको र समानुपातिक समावेशीको सिद्धान्त स्वीकार गरिएको उनले बताए।

यस्तै जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र कामय गर्ने सहमति बनेको उनले बताए। 'यो संविधान जारी रहँदा रहेका जिल्ला एक निर्वाचन क्षेत्र हुन्। बाँकी अन्य होस् भन्ने मान्यता छ।'

आन्दोलनकारी दलहरुलाई प्रधानन्त्रीले पटक पटक पत्र लेखेको स्मरण गर्दै सिटौलाले भने- 'संघीयताको हामी हकदार हो भन्ने माननीय सदस्यहरुलाई मेरो आग्रह छ- सातवटा प्रदेश आएको छ। संघीय संसद आएको छ। अब त आयो नि त संघीय संरचना।'

कुनै पनि मुलुकमा एकैचोटी सबै विषयले पूर्णता पाउन नसक्ने भन्दै सिटौलाले दुई तिहाइले संविधानका सबै धारा संशोधन गर्न सक्ने बताए। 'के एकैचोटी संघीयताले पूर्णता पाएको इतिहास छ?', सिटौलाले प्रश्न गरे, 'सामर्थ्य बढे भोलि छुट्टै प्रदेशहरु पनि बन्न सक्छन्, त्यो भोलिको कुरा हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell