PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जुम्ला उडेको निगमको जहाज दुर्घटनाबाट जोगियो



जुम्ला उडेको निगमको जहाज दुर्घटनाबाट जोगियो
फाइल तस्बिर : एयरप्लेन पिक्चर्स

पहिलोपोस्ट-
काठमाडौं : १५ यात्रु बोकेर नेपालगञ्जबाट जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगमको 'नाइन एन–एबियु' कलसाइन भएको ट्विनअटर जहाज जुम्ला विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाबाट जोगिएको छ। सोमबार मध्याह्न विमानस्थलमा अवतरण गर्ने क्रममा हाइड्रोलिक पम्पबाट तेल निस्केको थियो।

अवतरण गरेर पार्किङ एरियामा लैजाँदै गर्दा पम्पबाट तेल निस्केको सो जहाजमा यात्रा गरिरहेका जुम्लाका नेपाली कांग्रेसबाट निर्वाचित सभासद ललितजंग शाहीले पहिलोपोस्टलाई बताए। उनले भने, 'पार्किङ एरियामा जहाज जाँदै थियो। जहाज हल्लिएको जस्तो भयो। केही अघि बढेको अनि रोकिएको जस्तो भयो । क्याप्टेनलाई सोध्दा हाइड्रोलिक पम्पमा तेल आएको बताए।'

उनले भने, 'जहाजको टायर पञ्चर भएको हो। अब अहिले ग्राउन्डेड भएको छ । काठमाडौंबाट इन्जिनियरहरु आएर बनाएपछि मात्रै उड्छ ।'
उनले क्याप्टेनले जहाजलाई सुरक्षित अवतरण गराउन सकेकोले मानवीय क्षति हुन नपाएको बताए ।

तर निगम प्रवक्ता सरोज कसजुले भने अहिलेसम्म कुनै जानकारी नआएको बताए। उनले भने, 'बिदा छ, अहिलेसम्म केही जानकारी छैन । एयरपोर्टमा सोध्दा नै थाहा होला।'

नेपाल नागरिक उड्डयन कार्यालय जुम्लाका अनुसार टायर पञ्चर भएपछि भित्रको फलामै बाहिर देखिएको छ। जहाज अहिले विमानस्थलमै थन्किएको छ। 

सभासद शाहीका अनुसार जहाजमा चालकदलका सदस्य बाहेक करिब १५ यात्रु थिए।

३० वर्ष पुरानो डि हाभिल्यान्ड डिएचसि-६-३०० ट्विनअटर जहाज यसअघि गत फागुन २३ गते पनि दुर्घटनाबाट जोगिएको थियो। काठमाडौँबाट लामिडाँडाका लागि उडेको एक मिनेटमै दायाँ इन्जिनबाट आगोको मुस्लो निस्किएपछि जहाजलाई चालकले तुरुन्तै फर्काएर आकस्मिक अवतरण गराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell